सुदूरपश्चिममा एमालेलाई नागरिक उन्मुक्तिको पनि साथ, रावल मुख्यमन्त्री बन्ने निश्चित – Nepal Press

सुदूरपश्चिममा एमालेलाई नागरिक उन्मुक्तिको पनि साथ, रावल मुख्यमन्त्री बन्ने निश्चित

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयमा अन्योलमा रहेको नागरिक उन्मुक्ति पार्टीले आफ्नो धारणा कोर टीममा सार्वजनिक गरेको छ । कोर टीममा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले सुदूरपश्चिममा एमाले नेतृत्वको गठबन्धनलाई साथ दिने जनाएका छन् ।

आज टीकापुरमा भएको छलफलमा प्रदेश सरकार गठनमा सत्ता गठबन्धनलाई साथ दिने सहमति भएको एक नेताले बताए । भोलि यस विषयमा संसदीय दलले निर्णय गर्ने जनाइएको छ । नागरिक उन्मुक्तिको समर्थनसँगै सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बन्ने छन् ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ । यहाँ गठबन्धन भित्र माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् ।

सरकार गठनका लागि २७ सांसद आवश्यक पर्ने गठबन्धनका दलहरूबीच सहमति जुट्ने अवस्थामा २९ सांसद पुग्छन् । आज बिहानसम्म कुन गठबन्धनमा रहने भन्नेबारे अनिश्चित रहेको नागरिक उन्मुक्तिको टीकापुरको छलफलले मार्ग प्रशस्त गरेको छ ।

सुदूरपश्चिम प्रदेशका नागरिक उन्मुक्तिका ७ सांसद छन् । टीकापुरको छलफलमा संसदीय दलका नेता रामेश्वर चौधरी र घनश्याम चौधरी बाहेक अन्य पाँचजना उपस्थित रहेका थिए । दुई सांसद उपस्थित नहुँदा प्रदेश सरकारको बिषयमा आधिकारिक धारणा आउन नसकेको हो ।

भोलि बिहान सुखडमा सरकारका विषयमा ठोस निर्णय गर्ने नागरिक उन्मुक्ति पार्टीको टीकापुरको छलफलको निष्कर्ष थियो । तर, मंगलबार बिहान लक्ष्मण किशोर चौधरी काठमाडौँ जानुपर्ने हुँदा बैठक हुन नसक्ने एक नेताले बताए । ‘भोलि साँझसम्म बसेर हामी सरकारलाई समर्थन गर्छौ’, ती नेताले भने, ‘सरकारलाई समर्थन गरे पनि तत्कालै सरकारमा जाने कुरा भने भएको छैन ।’

प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिम प्रदेशमा बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी गर्न दिएको समय बुधबार सकिँदै छ । नागरिक उन्मुक्ति निर्णायक रहेको अवस्थामा मौन बस्दा सरकार गठनमा समस्या हुने देखिएको थियो । तर, नागरिक उन्मुक्तिले संघीय गठबन्धनलाई प्रदेशमा पनि निरन्तरता दिने जनाएपछि एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

आइतबार सत्ता गठबन्धनमा भएको सहमति अनुसार पहिलो चरण एमालेका रावल मुख्यमन्त्री बन्ने छन् । रावल आजै काठमाडौँबाट सुदूरपश्चिम फर्किएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर