बीओकेसँगको मर्जरपछि ग्लोबल आईएमई बैंकको एकीकृत कारोबार सुरू (भिडिओ) – Nepal Press

बीओकेसँगको मर्जरपछि ग्लोबल आईएमई बैंकको एकीकृत कारोबार सुरू (भिडिओ)

दुई ठूला बैंकको मर्जरले बैंकिङ क्षेत्र बलियो र गतिशील हुने प्रधानमन्त्रीको विश्वास

काठमाडौं । बैंक अफ काठमाण्डू र ग्लोबल आईएमईको मर्जरसँगै आजदेखि ग्लोबल आईएमई बैंकको नामबाट संयुक्त कारोबार सुरू भएको छ ।

मर्जरपश्चात एकीकृत ग्लोबल आईएमई बैंकको चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब, कुल पूँजी ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल ऋण ३ खर्ब ७७ अर्ब पुगेको छ । दुवै बैंक एक बराबर एक अनुपातमा मर्ज भएका हुन् ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना छन् । त्यसैगरी प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य छन् ।

एकीकृत कारोबार उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्न जरुरी रहेको बताए ।

पहिलो मन्त्रिपरिषदको बैठकबाटै अर्थतन्त्रलाई गतिशील बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्नेलगायतका निर्णय गरिएको उल्लेख गरे ।

‘अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रसँगको सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने छौं । अर्थतन्त्र सुधारका लागि संरचनात्मक सुधार पनि आवश्यक रहेकाले यसतर्फ पनि सरकारको ध्यान गएको छ । निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधारमा सरकार प्रतिबद्ध छ’, प्रधानमन्त्रीले भने ।

आम जनताको वित्तीय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिङ क्षेत्रले योगदान गर्नु जरुरी रहेको प्रधानमन्त्री दाहालले बताए । दुई ठूला बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार शुभारम्भ हुनु राष्ट्रको लागि महत्वपूर्ण कदम रहेको भन्दै उनले यसबाट देशले अझ बलियो, र बैंकिङ क्षेत्र थप गतिशील हुने विश्वास व्यक्त गरे ।

गभर्नर महाप्रसाद अधिकारीले अब बैंकहरूले राष्ट्रिय उत्पादन वृद्धि गर्ने क्षेत्रमा लगानी गर्न आवश्यक देखिएको बताए । वित्तीय संस्था धेरै हुँदा वित्तीय खर्च बढेको र अस्वस्थ प्रतिस्पर्धासमेत बढेकाले मर्जरमा जोड दिएको गभर्नर अधिकारीको भनाइ थियो ।

त्यस्तै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरको सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरको लागि प्रोत्साहन गरेको बताए । राज्य र जनताको अपेक्षाका आधारमा व्यवसायको प्राथमिकता निर्धारण गरेको बताउँदै ढकालले पर्यटन पूर्वाधार र सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी केन्द्रित गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर