जहाज आउँदा जनता खुशी : रेसुंगामा नियमित उडानका लागि नेताहरूले गरे प्रतिबद्धता – Nepal Press

जहाज आउँदा जनता खुशी : रेसुंगामा नियमित उडानका लागि नेताहरूले गरे प्रतिबद्धता

रुपन्देही । गुल्मीको रेसुंगा विमानस्थलमा आज पहिलो पटक जहाज पुगेको छ । २०६२ सालमा निर्माण प्रक्रिया अघि बढेको विमानस्थलमा निर्माण सुरू भएको १५ वर्षपछि उडानका लागि आइतबार परीक्षण उडान गरिएको हो ।

काठमाडौं विमानस्थलबाट तारा एयरको ट्वीनअटर ९ एन एलओ जहाज १२ बजे रेसुंगा विमानस्थलमा पुगेको हो । पहिलो उडानमार्फत प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, पूर्वपर्यटन तथा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पूर्वमन्त्री रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्र कार्की, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, कांग्रेस प्रदेश समितिका उपसभापति भुवनप्रसाद श्रेष्ठ, माओवादी नेता बुद्धि जिसी र कांग्रेस नेता योगराज कँडेल रेसुंगा आएका छन् ।

काठमाबाट ४६ मिनेटमा सो विमान गुल्मी पुगेको हो । गुल्मीको प्रतिनिधिसभाबाट निर्वाचित गोकर्णराज विष्ट भने अस्वस्थताका कारण गएनन् । विमानस्थलमा हजारौं स्थानीय स्वागतका लागि पुगेका थिए । स्थानीयलाई सहभागिता गराउन रेसुंगा नगरपालिकाले आज पालिकामा बिदा घोषणा गरेको छ । २०६२ सालमा गुल्मीमा रेसुंगा विमानस्थल निर्माणका लागि प्रक्रिया अघि बढेपनि त्यसको काम २०६४ सालमा सुरू भएको थियो । बीचमा रोकिएको काम पुनः २०७४ मा प्रदीप ज्ञवालीले सुरू गराएका थिए । निरन्तर दबाबपछि १७ वर्षमा झण्डै २५ करोड खर्चेर विमानस्थल तयार भएको हो । विमानस्थलमा तारा एयरले नै २०७५ जेठ २५ गते परीक्षण उडान गरेको थियो ।

डेमो उडानका लागि तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी पनि रेसुंगा पुगेका छन् । पहिलो जहाज रेसुंगा विमानस्थलमा झन्डै १ घण्टा बिताएर पुनः काठमाण्डौं फर्किएको छ । डेमो उडानपछि नै तालिका बनाएर एकसातापछि नै नियमित उडान सुरु गर्ने गरी रेसुंगा नगरपालिकाले विमानस्थल सञ्चालनका लागि तयारी गरिरहेको छ ।

विमानस्थल सञ्चालनपछि गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, बाग्लुङका सर्वसाधरण प्रत्यक्ष लाभान्वित हुनेछन् । विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले ७८ रोपनी १० आना क्षेत्रफलमा विमानस्थल तयार गरेको हो । सरकारले सर्वसाधारणको २२ रोपनी जग्गा अधिग्रहण गरेर काम सुरू गरेको थियो । ४६ घर धुरीले मुआब्जा लिएका थिए । विमानस्थलको ५ सय ७० मिटरको धावनमार्ग छ । डेमो उडान गरिएपनि यहाँ टावर जडानको सबै काम नसकिएकाले नियमित उडानका लागि केही समय लाग्ने छ ।

स्थानीयले लामो समयदेखि गुल्मेली जनताको प्रतिक्षामा रहेको विमानस्थलको सपना पूरा भएको र यसलाई अब नियमित गराउनुपर्ने आवाज उठाइरहेका छन् ।

विमानस्थलमा भएको कार्यक्रममा नेताहरुले लामो समयदेखि स्थानीयले गरेको अपेक्षा पूरा भएको जनाएका छन् । प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले गुल्मेलीको उडेर जिल्ला आउने सपना पूरा भएको र अब छिटै यसलाई नियमित बनाउने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वपर्यटनमन्त्री प्रदीप ज्ञवालीले विमानस्थलको विषय उठाउँदा गिज्याउनेहरूलाई आजको दिनले गतिलो जवाफ दिएको र अब यसलाई निरन्तरता दिएर दीघएकालीन रूपमा सञ्चालनको योजना बनाउने बनाए । पूर्वमन्त्री रामकुमारी झाँक्रीले सबैको समन्वयमा विमानस्थलले पूर्णता पाएको र अबपनि सबैको साथ जरुरी हुने बताइन् । कार्यक्रमपछि विमानमा पुगेका यात्रु तथा पाइलटलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *