अख्तियारका पदाधिकारीसँग प्रधानमन्त्रीले गरे छलफल – Nepal Press

अख्तियारका पदाधिकारीसँग प्रधानमन्त्रीले गरे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग छलफल गरेका छन् । उक्त छलफलमा प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिमा जोड दिएको सचिवालयले जनाएको छ ।

आइतबार बिहान सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धिमा आफू केन्द्रित रहने बताएका छन् ।

‘सामाजिक न्याय, सुशासन र समृद्धि नै सरकारको प्रमुख प्राथमिकतामा छ । सचिवहरूसँगको छलफलमा पनि मैले त्यही कुरा प्राथमिकताका साथ राखेको छु । जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन् । अब केही हुन्छ, नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिवद्धतासहित हामीले काम गर्नुछ । त्यसका लागि यहाँहरूको सहयोग चाहिन्छ ’, प्रधानमन्त्री दाहालले भने ।

न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीले जानकारी गराएका छन् । आयोगलाई लागि चाहिने सबै सहयोग गर्न तयार रहेको भन्दै ऐन संशोधन, क्षमता अभिवृद्धि, संरचनागत सुधारलगायतका काममा सरकारले प्रभावकारी भूमिका खेल्ने पनि उनले आश्वस्त पारे ।

अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले वर्तमान सरकार गठनपछि सुशासनका पक्षमा गरिएको प्रारम्भिक प्रयासले आफूहरू उत्साहित भएको बताए । उनका अनुसार संसदमा विचाराधीन ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउन, आयोगको क्षमता अभिवृद्धि र कार्यक्षेत्र विस्तारका निम्ति अभिभावकीय भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *