सांसदहरुलाई ओलीको निर्देशन–जनताले मन नपराउने आनीबानी छ भने आजैदेखि त्याग्नू – Nepal Press

सांसदहरुलाई ओलीको निर्देशन–जनताले मन नपराउने आनीबानी छ भने आजैदेखि त्याग्नू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका नवनिर्वाचित सांसदहरुलाई जनताले मन पराउने काम र व्यवहारमात्र गर्न निर्देशन दिएका छन् ।

सांसदहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दलका नेता ओलीले संसदमा प्रस्तुत हुँदा उद्दण्ड र रिसाहा भएर होइन तर्क तथा तथ्यसहित बोल्न निर्देशन दिए ।

ओलीले भने–म सांसद भएँ भन्दैमा के के न भयो भन्ने नठान्नू । जनताले मन नपराउने आनीबानी छ भने आजैबाट छाड्नुस । सफल हुने तरिका त्यो हो । जनताले मन पराउँने काम गर्नुस् र नराम्रो बानी व्यवहार छाड्नुस् ।

सांसदहरुलाई विषयगत अध्ययन गर्न सुझाव दिँदै जसलाई जुन विषयमा रुची र अध्ययन छ सोही अनुसार संसदीय समितिमा राखिने ओलीले बताए । उनले एमालेका सांसदहरुले अंग्रेजीमा पनि राम्रो दख्खल राख्नुपर्ने बताए ।

संसदमा गालीगलौज र उद्दण्डता देखाउन नहुने भन्दै विगतमा कांग्रेसका एकजना सांसदले आफू प्रधानमत्री भएको बेला गोली हानेर मार्ने मान्छे कोही नभेटिए आफैं नाथुराम गाड्से बन्छु भनेको स्मरण गराए ।

कांग्रेसका वागमती प्रदेश सांसद नरोत्तम वैद्यले संसद बैठकमा केपी ओलीलाई मार्न आफू गोड्से बन्न तयार रहेको बताएका थिए । गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए । ओलीले कांग्रेसको लोकतन्त्र नै गोड्सेबाट गाइडेट रहेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर