सुस्मिता हत्याकाण्डमा सासुससुरा र नन्दसहित ५ जना जेल चलान, माइती पक्षले भने- न्याय पाइयो – Nepal Press

सुस्मिता हत्याकाण्डमा सासुससुरा र नन्दसहित ५ जना जेल चलान, माइती पक्षले भने- न्याय पाइयो

रुपन्देही । ०७७ साल असार १ गते आफ्नै घरमा रहस्मय तरिकाले मारिएकी कपिलवस्तु बाणगंगा माइत भएकी सुस्मिता खड्काको हत्यामा सासुससुरा, नन्दसहित संलग्न ५ जना जेल चलान भएपछि उनको न्यायका लागि लडेकाहरु खुसी भएका छन् ।

दुर्घटनामा श्रीमान गुमाएकी सुस्मिताको हेटौंडास्थित घरमा रहस्यमय तरिकाले मारिएकी थिइन् । घटनामा संलग्न मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीय सासू तुलसा, नन्दहरू २७ वर्षीय दुर्गा, दुर्गाका श्रीमान अरुण कार्की र २३ वर्षीय नन्द सीता थापालाई दोषी ठहर भएका छन् । पुर्पक्षका लागि थुनामा रहेका उनीहरुलाई बिहीबार मकवानपुर अदालतले दोषी ठहर गरेको हो ।

हत्यामा संलग्नमध्ये ससुरा प्रकाश र कान्छी नन्द सीतालाई सरकारी वकिलको कार्यालयले जीवन रहेसम्म कैद सजायको माग गर्दै आरोप पत्र दायर गरेको थियो ।

सुस्मिता हत्या सम्बन्धि मुद्दामा जिल्ला अदालत मकवानपुरले ५ जनालाई दोषी ठहर गर्दै जेल चलानको आदेश दिएपछि माइती पक्षलाई न्यायको अनुभूति भएको पीडितका ठूलो बुवा हेमबहादुर खड्काले जानकारी दिए । खड्काले भने,‘हामीले मात्र यो न्याय पाएको नभएर राष्ट्रले पाएको न्याय हो । हामीले करिब तीन वर्षदेखि गरेको अनवरत लडाई सफल भयो । आगामी दिनमा सुस्मिताजस्तो यो देशमा कुनै चेलीले ज्यान गुमाउन नपरोस् ।’

कपिलवस्तुबाट विवाह गरी हेटौँडा गएकी सुस्मितालाई हेटौंडा उपमहानगरपालिका–४ मा २०७७ असार १ गते परिवार मिलेर हत्या गरिएको आशंका गरिएको थियो । कपिलवस्तु बाणगंगा नगरपालिका–८ बस्ने सुस्मिताको माइती २ वर्षदेखि न्यायको याचना गर्दै मकवानपुर अदालत धाउदै न्यायको लडाईमा थिए ।

पीडितलाई न्याय दिलाउन माइती परिवारका सदस्यहरुका साथमा सामाजिक अभियन्ता मन्जु खाँण, मेची महाकाली बुहारी अभियानकी उपाध्यक्ष दिना सुबेदी , स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेल लगायतको टोली मकवानपुर पुगेको अध्यक्ष पौडेलेले बताए ।

पटक पटक पेशी तोकिने र सर्ने गरेबाट पीडित पक्ष असन्तुष्ट बनिरहेका बखत तीन वर्षपछि पीडित परिवारले बल्ल न्याय पाएका हुन् । लगातार ४ दिनको बहसपश्चात इजलास नं। ३ का न्यायशीश श्रीप्रसाद सञ्जेलको फैसलाबाट घटनामा आरोपी ५ जनानै जेल चलान भएका हुन् ।

सुस्मिताका ठूलो बुवा खड्काले आफूहरुको लडाईबाट पीडकहरुले सजाय पाएको बताए । सुस्मिताको हत्या परिवारको संलग्नतामा भएको विषय माइती पक्षले सुरुवातदेखि उठाउँदै आएको थियो । मकवानपुरको सूर्यचोकमा हत्या गरिएकी २४ वर्षीया सुस्मिताको हत्या अभियोगमा उनकै सासु, ससुरा, नन्दसहितको परिवारका सदस्य पक्राउ परी पुर्पक्षका लागि थुनामा रहँदै आएका थिए ।

सुस्मिताका पति रुपेन्द्र थापाको सवारी दुर्घटनामा मृत्यु भइसकेको थियो । पतिको मृत्युपछि एकल महिला सुस्मितामाथि परिवारले दुव्यर्वहार गर्न थालेका थिए । २३ असोज २०७६ मा ससुरालीबाट फर्कने क्रममा सवारी दुर्घटनामा परी सुस्मिताका पति रुपेन्द्र थापाको मृत्यु भएको थियो । रुपेन्द्रको मृत्युको कारण सुस्मिता हो भनी घरपरिवारले मानसिक यातना दिने गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *