बार्गेनिङ्ग पत्रकारिताविरुद्ध कडा कदम चालिन्छ : बालकृष्ण बस्नेत – Nepal Press

बार्गेनिङ्ग पत्रकारिताविरुद्ध कडा कदम चालिन्छ : बालकृष्ण बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा बार्गेनिङ्ग गर्ने र स्वार्थ पूरा नभए समाचार लेख्ने प्रवृत्ति बढेको गुनासो बढेको भन्दै त्यसलाई रोक्न कडा कदम चालिने बताएका छन् ।

काउन्सिलमा नयाँ अनलाइनहरुका लागि शुक्रबार आयोजित एक कार्यक्रममा नीहित स्वार्थ पूरा नभए समाचार बनाउने प्रवृत्तिले पत्रकारितालाई कमजोर पार्ने भएकाले यस्ता समस्या रोक्न सबैको समन्वय हुनु जरुरी भएको बताए ।

‘कतिपय सञ्चार माध्यमलाई काउन्सिलले विशेष निगरानीमा राखेको छ । पर्याप्त प्रमाण पुर्याएर त्यस्ता सञ्चारमाध्यमलाई आचारसंहिताको कारवाही हुनेछ,’ अध्यक्ष बस्नेतले भने ।

अनलाइन र युट्युव च्यानलहरुमा पत्रकारिताको रोगकै रुपमा यो समस्या भित्रिएकाले काउन्सिलले अभियानै चलाएर यसविरुद्ध कदम चालिरहेको उनको भनाई थियो ।

प्रेस काउन्सिल नेपालले नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालन गर्दै आएको अभिमुखीकरणको शुक्रकार १८ औँ श्रृङ्खला सम्पन्न गरेको छ । कार्यक्रममा विषयगत विज्ञका रुपमा राजधानी दैनिकका सम्पादक सागर पण्डितले अनलाइन पत्रकारिताले चुनौती बढाएको भन्दै पत्रकारिताका निश्चित मूुल्य मान्यताको पालना गरेमा धेरै समस्याको समाधान हुने बताएका छन् ।

पण्डितले पत्रकारलाई जिम्मेवार र उत्तरदायी बनाउन काउन्सिल जस्ता नियामक निकाय सक्रिय बन्नुपर्ने सुझाव राखे ।

‘काउन्सिलले ल्याएका नयाँ मापदण्ड, अभिमुखीकरण कक्षा जस्ता कदमले पत्रकारलाई उत्तरदायी बनाउन ठूलो मद्दत पुर्याएको छ । अझै नियमन जरुरी छ’, उनले भने ।

‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ मा विषय विज्ञको रूपमा उनले काउन्सिलले जारी गरेको महिला उत्तरदायी सञ्चार निर्देशिका-२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका-२०७३, बालमैत्री सञ्चार निर्देशिका-२०७३ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका-२०७८ मा व्यवस्था भएका प्रावधानहरूबारे जानकारी दिए ।

काउन्सिलका अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) अन्तर्गत रहेका पत्रकारले गर्न नहुने १४ वटा बुँदाबारे प्रष्ट पारे । अनलाइन पत्रकारितामा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै उहाँले सत्यताको परीक्षण नगरिकन दिने समाचारजन्य सामग्रीले समाज र देशलाई नै आघात पुग्ने बताए ।

कार्यक्रमको सहजीकरण गर्दै काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले पत्रकार आचारसंहितासम्बन्धी कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर