जो ईश्वरको सत्य वचन सुनेर घर पुग्न पाएनन् – Nepal Press

जो ईश्वरको सत्य वचन सुनेर घर पुग्न पाएनन्

रुपन्देही । पाल्पाको रैनादेवी छहरा गाउँपालिका- ८ जंगलमा बिहीबार राति दुर्घटना हुँदा सोही वडाको खुसार्नेका ६ जना महिलाको मृत्यु भयो । मृत्यु हुने सबैले बिहीबार दिनभर ईश्वरको महिमा गाउँदै सत्य वचन सुनेका थिए ।

सच्चाइ केन्द्र नेपालको बुटवल शाखाले आयोजना गरेको प्रार्थना तथा सत्य वचन सुन्न उनीहरु खुर्सानेबाट बिहीबार बिहान बुटवल पुगेका थिए । त्यहाँ उनीहरुले दिनभर ईश्वरीय महिमा गाएका थिए । तर, उनीहरु घर फर्किन पाएनन् । बीच बाटोमै सडक दुर्घटना परेकामध्ये ६ जनाले घटनास्थलमै ज्यान गुमाए ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया वीमा पाण्डे छन् ।

रुपन्देहीको सालझण्डीबाट खुसार्ने जाँदै गरेको बस रैनादेवी छहरा गाउँपालिका- ८ स्थित जंगलमा दुर्घटना भएको थियो । ग १ ख ४९७७ नम्बरको बस सडकबाट करिब ६० मिटर तल भीरमा खसेको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटनामा परी अरु १८ जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । तीनजनाको अवस्था गम्भीर छ ।

सिंगो गाउँ नै शोकमा

बिहीबार बिहान रैनादेवी छहरा गाउँपालिका-८ खुर्सानेका अधिकांश महिला एक ठाउँ भेला भए । बिहान ७ बजेको बस चढेर बुटवल लागेका उनीहरू बजार घुम्न र किनमेल गर्न नभई सच्चाइ केन्द्र नेपालको बुटवलले आयोजना गरेको प्रार्थना तथा सत्य वचन सुन्ने कार्यक्रममा सहभागी हुन आएका थिए ।

सच्चाइ केन्द्रले ईसाई धर्मावलम्बीको प्रार्थना गराउने कार्यक्रम गर्छ । सो वडाका वडा सदस्य ताराकुमारी सार्कीले महिलाहरु जुटेर सच्चाइ केन्द्रमा प्रवचनका लागि गएको सुनेको बताइन् ।

सिंगो गाउँका दिदीबहिनी मिलेर सच्चाइ केन्द्र नेपालको सत्य वचन सुन्न बुटवल गोलपार्कमा गएको घाइते २८ वर्षीया लिमकली पाण्डेले बताइन् । आफू भने पहिलोपटक यस्तो कार्यक्रममा सहभागी भएको उनले सुनाइन् । तीनमहिने बच्चाकी आमा लिमकलाको अहिले बुटवलस्थित एडमनसिटी हस्पिटलमा उपचार भइरहेको छ ।

घटना ज्यान गुमाउने ३६ वर्षीया निर्मला र ११ वर्षीया सरुमाया आमाछोरी हुन् । सरुमाया कक्षा ६ मा अध्ययनरत थिइन् ।

एउटै टोलका ६ जनाको मृत्यु १८ जना घाइते भएको खबरले सिंगो खुर्साने टोल यतिवेला शोकमा छ । गाउँमा रुवाबासी छ । रैनादेवी छहरा गाउँपालिका- ८ की वडा सदस्य कविता खनालले घटनाले सिंगो गाउँ स्तब्ध बनेको बताइन् ।

‘अहिले सिंगो गाउँका मानिस विक्षिप्त अवस्थामा छन, गाउँमा र बुटवल बजारमा समेत रुवाबासी चलेको छ’, उनले भनिन्, ‘आफू पनि बोल्नसक्ने अवस्थामा छैन । कसैको घरमा चुलो बल्ने अवस्था छैन । के विपत आइलाग्यो ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर