स्ववियु चुनावको मिति घोषणापछि के भन्छन् विद्यार्थी नेताहरु ? – Nepal Press

स्ववियु चुनावको मिति घोषणापछि के भन्छन् विद्यार्थी नेताहरु ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले विद्यार्थी संगठनको सल्लाहअनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्न सिफारिस गरेको छ ।

विद्यार्थी संगठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी त्रिवि कार्यकारी परिषद्लाई स्ववियु निर्वाचन चैत ५ गते गर्न सिफारिस गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए ।

भोलि त्रिवि कार्यकारी परिषद्को बैठकले विद्यार्थी कल्याण परिषद्ले तय गरेको मितिलाई अनुमोदन गर्ने उनले जानकारी दिए ।

त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति बनाउनेछ । त्रिविले यसअघि त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग पनि स्ववियु निर्वाचनका सम्बन्धमा छलफल गरेको छ ।

त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ । पछिल्लो पटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलोपटक २०७३ सालमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

१४ वर्षदेखि नियमित नभएको स्ववियु निर्वाचनको मिति सिफारिसपछि विद्यार्थी संगठनहरु निर्वाचन तयारीमा जुट्न थालेका छन् । विद्यार्थी नेताहरु अब भने चुनाव हुनेमा ढुक्क देखिएका छन् ।

के भन्छन् विद्यार्थी नेताहरु ?

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले निर्वाचनका लागि सिफारिस गरेको मितिलाई स्वागत गर्दै चुनाव अगाडि दुई वटा माग कार्यान्वयन गर्न त्रिविलाई सुझाव दिएको बताए ।

विद्यार्थी संगठनहरुले अहिले चुनाव गर्ने भन्ने र पछि चुनावबाट भाग्ने परिपाटीले कार्यतालिका निकाल्नुभन्दा अघि नै त्रिविले प्रमुख विद्यार्थी संघसंगठनसँग औपचारिक बैठक राखेर माइन्युटमा हस्ताक्षर गराउन सुझाव दिएको अध्यक्ष शेर्पाले बताए ।

उनले भने, ‘हामीले त्रिविलाई तपाईंहरुले साँच्चिकै चुनाव गराउने हो भने विद्यार्थी संगठनलाई बोलाएर औपचारिक बैठक राखेर माइन्युट गराइहाल्नुस् भनेका छौं । आज सबैजनाले चुनाव गर्ने भन्छन् । भोलि सबै जना चुनावबाट भाग्न खोज्छन् । माइन्युटमा हस्ताक्षर गरेपछि त भोलि कुनै पनि विद्यार्थी संगठन चुनावबाट भाग्न पाउँदैन ।’

सरकार जसको बने पनि विद्यार्थी संगठन सधैं प्रतिपक्षमा बस्नुपर्ने उनी बताउँछन् । नेविसंघ र कांग्रेसको संस्कार चुनावमा आफू हार्दा पनि चुनावमा जाने भएकाले अन्य संगठनले अंकगणित खोज्दा दुप्ख पाइने उनको भनाइ छ ।

‘अरु साथीहरुले कहिलेकाहीं अंकगणित हेर्दा हामीले दुःख पाउँछौं । त्यही भएर सबैजनाले माइन्युट गरेर गयौं भने भोलि कोही पनि यो चुनावबाट भाग्न पाउँदैन र चुनावप्रति अपनत्व ग्रहण हुन्छ’, अध्यक्ष शेर्पाले भने, ‘विश्वविद्यालय पनि जिम्मेवार हुन्छ । त्यो अपनत्व विश्वविद्यालयले गराउनुपर्छ ।’

उनले चुनावमा जानुअघि स्नातक तहको नतिजा सार्वजनिक गर्न पनि त्रिविसँग माग गरेको जानकारी दिए । त्रिविले निर्वाचन कार्यतालिका ल्याउनुभन्दा अगाडि स्नातक तहको नतिजा निकालिदियो भने चुनावको लागि राम्रो सन्देश जाने उनको भनाइ छ ।

समयमै नजिता सार्वजनिक नहुँदा विद्यार्थीहरुनिर्वाचनमा भोट हाल्न आएनन् भने समस्या हुने उनी बताउँछन् ।

विद्यार्थीहरु स्ववियु चुनाव नभएकोमा भन्दा पनि स्नातक तहको परीक्षाफल नआएको कारण तनावमा छन् । उनी भन्छन्, ‘लामो समयपछि स्ववियु चुनाव हुँदैछ । स्नातकोत्तरको भर्ना खुलिसक्दा पनि स्नातकका नतिजाहरु आएका छैनन् । कम्तीमा स्नातकको नजिता दिइयो भने सकारात्मक सन्देश जान्छ ।’

समयमै परीक्षाफल निकाल्न नसकेको विश्वविद्यालयले १४ वर्षदेखि हुन नसकेको चुनाव गराउँछु भन्दा कसैले विश्वास नगर्ने उनी बताउँछन् । तर नेविसंघ स्ववियु चुनावमा खुशीका साथ सहभागी हुने उनले बताए ।

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले स्ववियु चुनावको मिति सिफारिस हुनुन सुखद भए पनि विद्यार्थी संगठनको माग सम्बोधन गरेरमात्रै चुनावमा जानुपर्ने बताएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले स्ववियु चुनाव हुने वातावरण अनुकूल बन्दै गएको बताए ।

‘स्वविय चुनाव गराउने मिति सिफारिस गर्नु सुखद समाचार हो । तर, त्रिविले विद्यार्थी संगठनका जायज मागहरु सम्बोधन गरेर जानुपर्छ’, उनले भने, ‘हामी अझै छलफल गर्छौं । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नेछौं ।’

विद्यार्थी संगठनको खास मुद्दा अहिलेसम्म सम्बोधन नभएकाले निर्वाचनबारे पर्ख र हेरको अवस्थामा रहेको बताउँदै अध्यक्ष पराजुलीलेविश्वविद्यालयले निर्णय नगरेसम्म चुनाव हुन्छ भन्ने ग्यारेन्टी नभएको औंल्याए ।

पराजुली भन्छन्, ‘विश्वविद्यालयका पदाधिकारीहरुले आंगिक क्याम्पसहरुमा मात्र चुनाव गराउन खोजेको हो कि सम्बन्धन पाएका क्याम्पसहरुमा गराउन खोजेको त्यो बुझन बाँकी नै छ । सबै विश्वविद्यालयहरुमा स्ववियु चुनाव गराउनुपर्छ । यो चुनावको प्रणाली परिवर्तन गर्ने कि नगर्ने भन्ने बहस अझै बाँकी छ ।’

एमाले निकट अनेरास्ववियुका महासचिव समिक बडालले स्ववियु चुनावको मिति सिफारिस गरेकाले चुनाव हुन्छ कि भन्ने आशा पलाएको बताए ।

उनले भने, ‘लामो समयदेखि नभएको चुनाव गराउन विश्वविद्यालयले आँट गरेको देखिन्छ । विद्यार्थी संगठनहरु सबै चुनावमा जानुको विकल्प छैन । हामीले आन्तरिक तयारी गरिराखेकै छौं ।’

त्यस्तै, अनेरास्ववियु क्रान्तिकारीले पनि स्ववियु निर्वाचनको स्वागत गरेको छ । क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नेपाल प्रेससँग कुरा गर्दै संगठनको पदाधिकारी बैठक बसिरहेकै बेला स्ववियु निर्वाचनको मिति घोषणा भएकाले संगठनले औपचारिक रुपमा नै यस निर्णयको स्वागत गरेको बताइन् ।

उनले भनिन्, ‘हाम्रो संगठनसँग परामर्श गरेर नै स्ववियु निर्वाचनको मिति घोषणा भएकाले यसमा हामी एकदमै खुशी छौ । हाम्रो संगठनको पदाधिकारी बैठक बसिरहेकाले बैठकबाटै हामीले औपचारिक रुपमा यस निर्णयको स्वागत गरेका छौं । हामीमात्र नभएर सबै क्रियाशील विद्यार्थी संगठनसँग छलफल गरेर नै मिति घोषण भएको हो । हामी मात्र नभएर सबै विद्यार्थी संगठनले यसलाई स्वागत गरेका छन् ।’ अनेरास्ववियु क्रान्त्रिकारी अब स्ववियु निर्वाचनमा होमिने पनि अध्यक्ष सिंहले बताइन् ।

स्ववियु निर्वाचनका लागि प्रधानमन्त्रीकाे निर्देशन

यसैबीच प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई स्ववियु निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

बिहीबार अखिलको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो निर्देशन गरेको क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनाव चैत ५ गते गर्न प्रस्ताव गरेसँगै प्रचण्डले तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

चुनावकाे मिति त्रिवि कार्यकारी परिषदबाट अनुमोदन भने हुन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर