स्वदेशी उत्पादनको निकासी प्रवर्द्धनले मुलुकको व्यापार घाटालाई सन्तुलन गर्न सक्छ : राष्ट्रपति भण्डारी (भिडिओ) – Nepal Press

स्वदेशी उत्पादनको निकासी प्रवर्द्धनले मुलुकको व्यापार घाटालाई सन्तुलन गर्न सक्छ : राष्ट्रपति भण्डारी (भिडिओ)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्न सके मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताएकी छन् ।

बिहीबार जुत्ता उत्पादक संघले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको १६ औँ अन्तरराष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवद्र्धन गर्न सके मात्र व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने र यसका लागि फुटवेयर उद्योगले पनि महत्वपूर्ण भूमिका खेल्नसक्ने बताएकी हुन् ।

 

सरकार र उद्यमीहरुबीचमा पर्याप्त साझेदारी निर्माण भई नेपाली उत्पादनको बजार विस्तार एवम् निर्यात अभिवृद्धिमा ठोस उपलब्धि हासिल गर्नका लागि प्रदर्शनी उपयोगी माध्यम हुने उनले विश्वास व्यक्त गरिन् । उनले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक रहेकोमा जोड दिइन् ।

स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि सरकारले ध्यान पुराउनुपर्ने र यसका लागि कृषि उत्पादन बढाउने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने, जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरु अबलम्वन गर्नुपर्ने उनले बताइन् ।

राष्ट्रपति भण्डारीले निजी क्षेत्र र सरकारले आपसमा उच्चस्तरको समझदारी विकास गरी मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउनका लागि सहकार्य गर्नु अत्यावश्यक धारणा राखिन् । प्रदर्शनी २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रदर्शनीमा विदेशी कच्चपदार्थ, मेशिनरी र प्रविधिसहितको ४० भन्दाबढी कम्पनीका प्रदर्शनी कक्ष र नेपाली फुटवेयरका ९० कम्पनी सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर