कांग्रेस वागमती दलका नेता बहादुर लामा भन्छन्- मुख्यमन्त्रीको दाबी हल्ला मात्र हो – Nepal Press

कांग्रेस वागमती दलका नेता बहादुर लामा भन्छन्- मुख्यमन्त्रीको दाबी हल्ला मात्र हो

हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् वागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले वागमती प्रदेशको सरकारको नेतृत्व लिनेगरी नेपाली कांग्रेसले अहिलेसम्म कुनैपनि दलसँग कुराकानी नगरेको बताएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २४ गते अपरान्ह ४ बजेसम्म सरकार गठनको लागि बहुमत सदस्यसहित प्रदेश कार्यालयमा उपस्थित हुन वागमतीका सातैवटा राजनीतिक दललाई सूचित गरेसँगै नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै लामाले कांग्रेसको नेतृत्वको सरकार निर्माणको लागि आफूहरुले औपचारिक रुपमा पहल नगरेको बताए ।

लामाले भने ‘बजारतिर नेपाली कांग्रेसले राप्रपा र एकीकृत समाजवादीसँग मिलेर सरकार गठन गर्ने भन्ने हल्ला आएको रहेछ, तर त्यो सत्य हैन, हामीले अहिलेसम्म कुनैपनि दलसँग औपचारिक रुपमा कुरा गरेका छैनौँ, हामी व्यक्तिवादी भन्दा पनि दलको बैठकले जे निर्णय गर्छ त्यो मान्ने पक्षमा रहेकाले भोली या पर्सिभित्र बस्ने दलको बैठकले सरकार निर्माणको विषयमा जे निर्णय गर्छ त्यहि तर्फ कांग्रेस अघि बढ्छ ।’

वागमती प्रदेशमा सबैभन्दा ठूलो दलको नाताले सबैको नजर कांग्रेसप्रति हुनु स्वभाविक भएको भन्दै लामाले दलको बैठकले सरकार निर्माण, सहभागिता या प्रतिपक्षको भूमिकामा बसेर रचनात्मक क्रियाकलाप गर्ने भन्ने विषयमा ठोस निर्णय गर्ने उनको भनाई छ । कांग्रेस सत्ता प्राप्तिको खेलमा मात्र नरहेको भन्दै उनले आवश्यक्ता र अवसरको आधारमा कांग्रेसले निर्णय लिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर