अध्यक्ष लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जाने, अरू मन्त्री को-को हुँदैछन् ? – Nepal Press

अध्यक्ष लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जाने, अरू मन्त्री को-को हुँदैछन् ?

काठमाडौं । सत्ता गठबन्धनको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी कम्तीमा ३ मन्त्रालयसहित सरकारमा जाने निश्चित भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जाने निधो भएको हो ।

लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा जानेछन् । रवि लामिछानेजस्तै लिङ्देन पनि पहिलो पटकमै उपप्रधानमन्त्री बन्दैछन् । तेस्रो ठूलो दल रास्वपाले ३ मन्त्रालय पाउने भएकाले राप्रपालाई २ मन्त्रालय दिने प्रस्ताव छ । तर उसले ३ वटा मन्त्रालय दाबी गरेको छ ।

वागमतीको मुख्यमन्त्री समेत दाबी गरेको राप्रपाले संघ सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्रालय पाएमा मुख्यमन्त्री छाड्ने बुझिएको छ । वागमती र गण्डकीमा राप्रपाको मत निर्णायक छ ।

लिङ्देनसँगै महामन्त्री डा. धवल शम्सेर जबरा, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान मन्त्रीका मुख्य दाबेदार देखिएका छन् । अर्का दाबेदार विक्रम पाण्डेको भने भ्रष्टाचार मुद्दामा अख्तियार सर्वोच्च अदालत जान लागेकाले उनी यसपटक मन्त्री बन्ने सम्भावना नरहेको राप्रपा स्रोतले जनाएको छ ।

जुम्लाबाट निर्वाचित भएका युवा नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि मन्त्रीका प्रबल दाबेदार हुन् । प्रत्यक्ष निर्वाचित राप्रपाका ७ जना सांसदमध्ये दीपक बोहोरा र विक्रम पाण्डेबाहेक अरूबाट मन्त्री बन्ने सम्भावना छ । समानुपातिकबाट बुद्धिमान तामाङको सम्भावना छ ।

प्रत्यक्ष निर्वाचितमध्येलाई दुई पटक गरेर मौका दिइनेबारे पार्टीमा नेताहरुबीच छलफल भएको छ । मकवानपुरबाट निर्वाचित दीपकबहादुर सिंह यसपटक प्रमुख सचेतक बन्ने र दोस्रो चरणमा मन्त्री बन्ने सम्भावना छ । प्रतिनिधिसभा राप्रपाको १४ सीट छ । राप्रपाले उपसभामुख पाए रोशन कार्कीलाई पठाउने भएको छ । उपसभामुखमा रास्वपाको पनि दाबी रहेको छ ।

पशुपति शम्सेरले समेत आफू अन्तिम पटक कुनै राजकीय जिम्मेवारीमा जान खोजेको राप्रपा नेताहरू बताउँछन् । राणा उपराष्ट्रपति बन्न पनि तयार छन् । मन्त्री बन्न भने लिङ्देनकै नेतृत्वमा सरकारमा जाने भएपछि उनको सम्भावना टरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर