‘नयाँ सरकारको पहिलो निर्णय नै पूँजी बजारमैत्री भयो, अब अर्थतन्त्रले गति लिन्छ’ – Nepal Press
नेपाल टक

‘नयाँ सरकारको पहिलो निर्णय नै पूँजी बजारमैत्री भयो, अब अर्थतन्त्रले गति लिन्छ’

भरत रानाभाट भन्छन्- विष्णु पौडेल आउनासाथ बजार चलायमान भयो, अब ४-१२ को प्रावधान हटाइदिए पुग्छ

काठमाडौं । अघिल्लो सरकार हुँदा १ अर्बभन्दा तल झरिसकेको शेयर मार्केट नयाँ सरकार बनेलगत्तै दैनिक ३ अर्बभन्दा माथि कारोबारमा पुगिसकेको छ । कुनै वेला लगानीकर्ताहरुले ‘विष्णु पौडेल आऊ, शेयर मार्केट बचाऊ’ भनेर नारा लगाएको कुरा अहिले व्यवहारमा सिद्ध हुन लागेको हो ?

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल आउनासाथ बजार कसरी बढ्यो ? अब सरकारले के गर्दा अर्थतन्त्र चलायमान हुन्छ ? देशभरका ६० लाख जति नागरिक आबद्ध शेयर मार्केटमा केन्द्रित रहेर नेपाल स्टक ब्रोकर एसोसियसनका अध्यक्ष तथा कोहिनुर सेक्युरिटिजका सञ्चालक भरत रानाभाटसँग गरिएको कुराकानी प्रस्तुत छ, नेपाल टकमाः

– एकाएक शेयर मार्केट बुम भएको छ । सामान्य मान्छेले पनि अहिले मन्त्रीको प्रशंसा गरेको तथा अन्य पार्टीमा आस्था राख्ने मानिसहरुले पनि शेयर मार्केटमा देखिएको सकारात्मक परिवर्तनका कारण पार्टी नै फेरेकोलगायतका अभिव्यक्ति दिएको देखिन्छ । यो कसरी सम्भव भयो ?

सेकेन्डरी मार्केट वा शेयर मार्केट जुन छ, त्यसमा मानिसहरुको लगानी भएको हुन्छ । लगानी गरेको पैसा फिर्ता हुँदा मानिस खुशी हुन थाल्छ । तपाईंले अघि भूमिकामा पनि जुन सन्दर्भ जोड्नुभयो । वर्तवान प्रधानमन्त्री प्रचण्डले शेयर बजारको बारेमा जुन नकारात्मक टिप्पणी गर्नुभयो र लगानीकर्ताले पनि नकारात्मक तरिकाले नै रियाक्ट गर्‍यो । लगानी जोडिएको क्षेत्रमा कसैको अभिव्यक्तिले नकारात्मक असर गर्छ भने सो व्यक्तिले त्यसको अपजस पनि लिनैपर्ने हुन्छ । त्यो वेला पनि भएको त्यही थियो र अहिले एकाएक उहाँ नै प्रधानमन्त्री हुँदा लगभग हप्ता १० दिनको समयमा लगभग २०० को अंकले बजार बढेको छ । यसको कारण, जब नयाँ सरकार बन्यो, नयाँ सरकारले पहिलो क्याबिनेट बैठकमै नेपालको इतिहासमै पहिलो पटक शेयर बजारमा आएको गिरावटको नीतिगत हिसाबले समाधान गर्छौं भन्यो । यसैको सकारात्मक रियाक्सन बजारमा देखिएको हो ।

भोलुम वाइज हेर्ने हो भने पनि एक अर्बभन्दा तल कारोबार भइरहेको अवस्थामा अहिले सरदर दिनमा ३ अर्बको कारोबार भएको देखिएको छ । नयाँ सरकारबाट बजार र समग्र अर्थतन्त्रलाई चलायमान बनाउने र पूँजी बजारलाई व्यवस्थित बनाउने कुरा आएकै कारण यो अवस्था देखापरेको हो ।

भोलुम वाइज हेर्ने हो भने पनि एक अर्बभन्दा तल कारोबार भइरहेको अवस्थामा अहिले सरदर दिनमा ३ अर्बको कारोबार भएको देखिएको छ । नयाँ सरकारबाट बजार र समग्र अर्थतन्त्रलाई चलायमान बनाउने र पूँजी बजारलाई व्यवस्थित बनाउने कुरा आएकै कारण यो अवस्था देखापरेको हो ।

– यस क्षेत्रमा कति जति मान्छे जोडिएका छन् ?

डाटाअनुसार भन्ने हो भने लगभग ६० लाख मानिसले अहिले डिम्याट खाता खोलेका छन् । यसको अर्थ यति मानिसले म शेयर बजारमा लगानी गर्छु भनेको हो । जसरी बैंकमा खाता खोल्दा म यस खातामार्फत बैंकिङ कारोबार गर्छु भन्ने हुन्छ, त्यसरी नै म शेयर कारोबार गर्छु भन्ने मानिसहरु ६० लाख पुगिसके । त्यो ६० लाखमध्ये अफलाइन छोडेर अनलाइन लिनेमात्रै पनि १८-१९ लाख पुगिसके । यो अनलाइन लिने भनेको आफूसँग भएको शेयर बेच्न वा पैसा लगानी गर्न हो भन्न सकिन्छ ।

– यो पपुलिस्ट निर्णयमात्र पो हो कि ?

त्योभन्दा पनि यसलाई यसरी बुझ्नुपर्छ, जबसम्म अर्थतन्त्र चलायमान हुँदैन तबसम्म अन्य सबै क्षेत्र चलायमान हुन सक्दैनन् । सरकारले अहिले आएर त्यो निर्णय गर्नपर्ने आवश्यकता नै थिएन । जसरी तपाईंले अहिले यो निर्णय पपुलिस्ट निर्णय हो कि भन्नुभयो । चुनावमा जाँदै गर्दा यस्तो निर्णय भएको भए त्यसो भन्न सकिन्थ्यो । अहिले त चुनाव भएर नयाँ सरकार आइसकेको हो नि ! चुनावपछि आएको सरकारले आर्थिक समृद्धि हासिल गर्ने हो भने सबैभन्दा पहिला अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ । त्यसका लागि सबैभन्दा पहिला पूँजी बजारमा हिट गर्नुपर्छ । किनभने पूँजी बजार भनेको पैसा देखिने क्षेत्र हो । आजै पनि ३ अर्बभन्दा बढीको कारोबार भयो ।

– १ अर्बभन्दा तल आइसकेको कारोबार एकाएक नयाँ सरकार बनेको २ हप्ता पनि नबित्दै ३ अर्ब पुग्नुको ठोस कारण चाहिँ के हो ? हाम्रो बजार हाम्रो अर्थतन्त्र त त्यही नै हो नि ?

तपाईंले भनेजस्तै लगानीकर्ता यिनै हुन् । तर, के हुन्छ भने तपाईंसँग आज भएको पैसा भोलि फिर्ता पाउँछु भन्ने भयो भने न तपाईंले लगानी गर्नुहुन्छ । लगानी अनिश्चित छ, लगानी गर्दा बढ्नेभन्दा घट्ने सम्भावना छ भने त कसैले लगानी गर्दैन । अहिले एकाएक के भयो भने सरकारले पहिलो निर्णय नै ‘अब हामी पूँजी बजार व्यवस्थित गर्र्छाैं’ भन्ने आइसकेपछि लगानीकर्तामा सरकारले नै बजारलाई सकारात्मक तरिकाले लियो, अब जे कारणले गर्दा जुन पोलिसीले गर्दा बजार तल आएको थियो, त्यो समस्या समाधान हुन्छ भन्ने लाग्यो । अर्काे कुरा, बजार घटेर एउटा तहमा आइसकेपछि अब त बजार बढ्ने हो भन्ने हुन्छ । बजारको नेचर नै त्यही हो ।

अहिले बजारको बढ्ने माहोल देखिएको छ । सरकार सकारात्मक देखिएको छ । अर्थतन्त्र चलायमान हुँदै गएको छ । राष्ट्र बैंकको ब्याजदर बढ्दै गएको अवस्थामा अब माघबाट भने बैंकहरुले पनि ब्याजदर घटाउने सम्भावना छ । यी यावत कुराले गर्दा बजार बढेको हो ।

– शेयर बजार भनेको न उत्पादन गर्ने न त रोजगार दिने अनुत्पादक क्षेत्र हो पनि भन्ने गरिन्छ । बजार बढ्नाले लगानीकर्तालाई मात्र फाइदा हुन्छ कि समग्र अर्थतन्त्रलाई नै फाइदा पुर्‍याउँछ ?

यसलाई हामीले अलि गहिराइमा बुझ्नुपर्ने हुन्छ । कम्पनी स्थापना गर्न पैसा आवश्यक हुन्छ । पहिलो त राष्ट्र बैंकले ३० प्रतिशत लगानी जनतालाई दिन पाउने प्रावधान राखेको छ । यसले गर्दा ३० प्रतिशत लगानी त जनताबाट उठ्न सम्भव भयो । कुनै कम्पनीमा कम्तिमा ३० प्रतिशत जनताको लगानी गर्नु भनेको त रोजगारीको अवसर पनि हो । यसकारणले पनि यो क्षेत्रलाई अनुत्पादक क्षेत्र भन्न मिल्दैन ।

अर्काे कुरा, भोलुम बढ्दै गर्दा सबैलाई फाइदा हुन्छ । जसले लगानी गरेको छ, उसलाई फाइदा हुन्छ । लगानीकर्ताको आय बढेपछि उसले सरकारलाई कर तिर्छ, सरकारलाई पनि फाइदा भयो । भोलुम थप बढ्दै जाँदा केही इनकम ब्रोकरले गर्छ, ब्रोकरलाई फाइदा भयो । केही इनकम नेप्सेले गर्छ, नेप्सेलाई फाइदा भयो । नेप्सेलाई फाइदा हुनु भनेको सरकारलाई नै फाइदा हुनु हो । नेप्से त सरकारी निकाय हो नि ! बजार बढेपछि लगानीकर्ताले खर्च गर्ने पनि सम्भावना बढ्छ । जसले गर्दा अन्य क्षेत्रमा पनि फाइदा हुन्छ । अर्थतन्त्र चलायमान हुने नै यसरी हो ।

चुनावपछि आएको सरकारले आर्थिक समृद्धि हासिल गर्ने हो भने सबैभन्दा पहिला अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ । त्यसका लागि सबैभन्दा पहिला पूँजी बजारमा हिट गर्नुपर्छ । किनभने पूँजी बजार भनेको पैसा देखिने क्षेत्र हो ।

– कुनै समय ‘विष्णु पौडेल आऊ, शेयर बजार बचाउँ’ भन्ने गरेको पनि सुनियो । एउटा व्यक्तिले फरक पार्न सक्ने यो कस्तो बजार हो ?

हो, एकदमै । एउटा व्यक्तिले देश नै त फरक पार्नसक्छ । मलेसिया कसले बनायो ? सिङ्गापुर कसले बनायो ? एउटा व्यक्तिले बनायो । अब विष्णु पौडेललाई शेयर बजार र लगानीकर्ताले किन खोजे भने योभन्दा अगाडि उहाँ २ पटक अर्थमन्त्री हुँदा २ पटक नै रेकर्ड ब्रेक गरेको थियो । २०७२ सालमा नेप्से परिसूचक १८७२ पुग्दा पनि अर्थमन्त्री विष्णु पौडेल हुनुहुन्थ्यो र संयोगवश ३१९८ पुग्दा पनि उहाँ नै अर्थमन्त्री हुनुहुन्थ्यो ।

अहिले के भइदियो भने मान्छेलाई अप्ठ्यारो पर्दा साथीभाइ, इष्टमित्र खोजिन्छ । त्यसरी नै पूँजी बजार घट्दा ओ हो यो मान्छे मन्त्री भएर आए हुन्थ्यो भन्ने भयो । यो किसिमको सरकार बन्नु बजारको लागि बरदान साबित भयो । बजार बढेको हिसाबले मानिसले विष्णु पौडेललाई खोजेका होलान् ।

– अघिल्लो अर्थमन्त्री हुँदा के गरिदिनुभयो । जसले गर्दा यो बजार चलायमान हुन सकेन र अहिलेको अर्थमन्त्रीले के गरिदिनुभयो । जसले गर्दा बजार चलायमान भयो ? नीतिगत हिसाबमा त कुनै परिवर्तन भएको छैन ।

योभन्दा पहिलाका अर्थमन्त्रीले सुरुमा आउनेबित्तिकै एउटा अन्तर्वार्तामा बलुन जस्तो फुलेको शेयर बजार अलिकति साइजमा आउनपर्छ भन्ने किसिमको अभिव्यक्ति दिनुभएको थियो । जसलाई लगानीकर्ताले अलि नकारात्मक हिसाबले लिए । त्यसपछि बजारमा लिस्टेड ६०-७० प्रतिशत कम्पनीहरु जस्तैः बैंक, फाइनान्स, इन्स्योरेन्स कम्पनीहरुलाई सरकारले ल्याउने वा अर्थ मन्त्रालयले ल्याउने बजेटभन्दा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले असर गर्छ र मौद्रिक नीति ल्याउने गभर्नरलाई उहाँले निलम्बन गर्नुभयो । जसले गर्दा उहाँहरुबीचको टसल स्पष्ट रुपमा बाहिर आयो । उहाँहरुको खटपटले गर्दा भिक्टिमाइज चाहिँ बजार भइदियो । यसले गर्दा पोलिसी परिवर्तन नहुने देखियो । सकारात्मक नीति हरु नआउने देखियो । गभर्नर र अर्थमन्त्रीको सम्बन्धको कारण बजारले कन्फिडेन्स महसुस गर्न सकेन ।

यो बजार कन्फिडेन्सले चल्ने हो । अहिले चाहिँ नयाँ अर्थमन्त्री आएसँगै पार्टीगत हिसाबले उहाँहरु एउटै पार्टीको भएको कारण उहाँहरु बीच ट्युनिङ मिल्ने भयो र नीतिगत हिसाबमा परिवर्तन आउन सक्ने देखियो । अर्को, अहिले अर्थमन्त्रीज्यु कसैले केही कुरा लिएर गएको अवस्था उहाँले सकारात्मक हिसाबले लिइदिनुहुन्छ । त्यो हिसाबले बजारमा यो किसिमको परिवर्तन देखिएको हो । योभन्दा अघि युवराज खतिवडा आउँदा पनि उहाँले यस क्षेत्रलाई अनुत्पादक क्षेत्र भनिदिनुभयो । उहाँ अर्थतन्त्रको विज्ञ हुँदा पनि बजारले उहाँलाई सकारात्मक हिसाबले लिनै सकेन । उहाँ हुँदा त्यो छायाँ नै पर्‍यो ।

योभन्दा पहिलाका अर्थमन्त्रीले सुरुमा आउनेबित्तिकै एउटा अन्तर्वार्तामा बलुन जस्तो फुलेको शेयर बजार अलिकति साइजमा आउनपर्छ भन्ने किसिमको अभिव्यक्ति दिनुभएको थियो । जसलाई लगानीकर्ताले अलि नकारात्मक हिसाबले लिए ।

– भनेपछि व्यक्तिले पनि असर पार्नसक्ने क्षेत्रकै रुपमा यसलाई लिन पर्‍यो ?

व्यक्तिले भन्दा पनि ड्राइभ गर्ने वा लिड गर्ने कसले भन्ने हेर्नुप¥यो । समग्र अर्थतन्त्रलाई लिड गर्ने कसले भन्दा अर्थ मन्त्रालयले र अर्थ मन्त्रालयलाई लिड गर्ने कसले अर्थमन्त्रीले हो । तसर्थ उसले लिने नीतिनियमले त समग्रमा सबैलाई असर गर्छ ।

– यो क्षेत्रमा आधारभूत आवश्यकताका मानिसहरुदेखि ठूल्ठूला टाइकुनसम्मलाई यहा देख्न पाइने रहेछ नि है ?

पहिला पहिला नेपाली कल्चर नै कस्तो थियो भने अलिअलि पैसा कमाएपछि जग्गा जोड्ने र घर जोड्ने भन्ने हुन्थ्यो । अहिले मानिसहरु गाउँबाट शहर केन्द्रित हुन थाले । शहरमा अलिअलि पैसाले जग्गा किन्नै नसकिने अवस्था छ । जसको विकल्पमा मानिसहरुले शेयर बजारलाई लिन थाले । सबैको लागि यो इजी एक्सेस पनि भयो । कसैले चाहेर तलमाथि नहुने बजारले मात्र तलमाथि गर्न सक्ने सेक्युर पनि भयो । आफ्नो आवश्यकताअनुसार किनबेच पनि गर्न सकिने भएको कारण अहिले यो क्षेत्रमा आकर्षण बढेको हो ।

– केही सीमित व्यक्ति वा भनौं ठूला लगानीकर्ताले बजारलाई तलमाथि गराउन सक्छन् भन्ने सुनिन्छ नि, यो सम्भव छ ?

पहिला पहिला त्यो किसिमको भनाइ थियो । अहिले बजार धेरै ठूलो भइसक्यो । त्यो सम्भव छैन । पहिला त अनलाइन सिस्टम नै थिएन । सबैले ब्रोकरलाई अर्डर दिन्थे । अर्डर आएपछि ब्रोकरले केही मान्छेलाई भन्थ्यो होला, लगानीकर्तालाई भन्थ्यो होला । अहिले १८-२० लाख इन्भेस्टरहरु त्यसमा पनि १-२ लाखले दिनमा सक्रिय रुपमा कारोबार गर्छन् । इन्भेस्टरले ट्रेड गरेपछि मात्र के किन्यो र के बेच्यो भन्ने थाहा हुन्छ । त्यसो हुनाले पहिला जुन हिसाबमा आरोप लाग्ने गथ्र्यो, यो बजार २-४ जनाले चलाउछन् भन्ने । त्यो अहिले सम्भव छैन ।

– तपाईंहरु चाहिँ त्यसमा माध्यममात्र हो ? जस्तै कोहिनुर सेक्युरेटिजले के गर्ने ?

हामी विशेष गरेर सेटलमेण्टको काम गर्छौं । जस्तैः त्यहाँ जति पनि ट्रेड हुन्छ । सेल भएको शेयरहरुलाई सिस्टमबाट आएको शेयरलाई सेटल गरिदिने र पैसा उठाउने काम गर्छाैं । जस्तैः आज ५ करोडको शेयर खरिद भयो भने ५ करोड पैसा उठाउने काम ब्रोकरको हो । क्लाइन्टले त्यो पैसा दिएन भने पनि त्यो पैसा लगेर नेप्सेको खातामा हाल्ने काम ब्रोकरको हो, हाम्रो हो ।

सबैभन्दा चलायमान हुन सक्ने बजार नै यही हो र यो बजार चलायमान हुनाले सबैजना आशावादी भएको देखिन्छ । पोलिसी एड्रेस हुन्छ भन्नेबित्तिकै यस किसिमको अवस्था आएको छ । वास्तवमै पोलिसी आयो, पोलिसी कागजमा मात्र सीमित भएन भने बजारको भविष्यसँगै समग्र अर्थतन्त्र नै चलायमान हुने देखिन्छ ।

– त्यसो गर्दा राज्यलाई राजस्व कति प्रतिशत तिर्नुपर्छ ?

एकदमै नोमिनल हो । जुन सरकारले नै तोकेको हुन्छ । हाम्रो ०.२७ देखि ०.४० भोलुमअनुसार तिर्नुपर्ने हुन्छ । त्यसमा पनि २० प्रतिशत नेप्सेलाई जान्छ, १५ प्रतिशत टीडीएस काट्छ । बाँकी रहेकोबाट जति पैसा बच्छ, त्यसमा सबै खर्च कटाएर ३० प्रतिशत कर तिर्छौं । बाँकी हामी कमाउँछौं ।

– अहिले तपाईंहरुमार्फत कारोबार गरिरहेका लगानीकर्ताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

अब हाम्रो समग्र अर्थतन्त्र नै चलायमान हुन्छ कि जस्तो देखेको छु मैले । बजारले सकारात्मक तरिकाले रियाक्ट गरेको छ । बजारमा आवद्ध हुने लगानीकर्ता पनि त्यही हिसाबले सकारात्मक रहेको देखेको छु । सबैभन्दा चलायमान हुन सक्ने बजार नै यही हो र यो बजार चलायमान हुनाले सबैजना आशावादी भएको देखिन्छ । पोलिसी एड्रेस हुन्छ भन्नेबित्तिकै यस किसिमको अवस्था आएको छ । वास्तवमै पोलिसी आयो, पोलिसी कागजमा मात्र सीमित भएन भने बजारको भविष्यसँगै समग्र अर्थतन्त्र नै चलायमान हुने देखिन्छ ।

– चुनावमा समेत पैसा धेरै आउन सकेन भन्ने गरिन्छ । भन्नुको अर्थ अब बजार चलायमान भयो भने लुकेर रहेको पैसा पनि बाहिर आउन सक्ने सम्भावना हुन्छ ? बैंकमा पनि पैसा छैन भनिन्छ, बैंकमा नभएको पैसा कही त होला नि होइन ?

बैंकमा त पैसा नभएको हैन । बैंकमा पैसा छ । किनभने सरकारको ढुकुटीमा भएको पैसा, जुन विकास खर्च भनिन्छ त्यो पैसा एकातिर गएर थुप्रिने पैसा खर्च नै नहुने भएकाले चलायमान नभएको हो । हामीले भारततिर सुन्ने गर्छौं नि, घरघरमा यति पैसा भन्ने । नेपालमा पनि केही पैसा त होला । तर, त्यति ठूलो पैसा हामीले सुने जस्तो घरमै राख्ने चाहिँ नेपालमा हुँदैन । केही पैसा सहकारीतिर थियो होला । सहकारीहरु डुब्ने कुराहरु आएपछि त्यो धेरै पैसा पनि बैंकिङ च्यानलमै आइसकेको छ । त्यो हिसाबले चुनावको समयमा पनि बैंकमा त्यति ठूलो पैसा नदेखिएको हो । तर पनि अहिले हेर्दा बैंकहरु पनि कमम्फर्ट जोनमा आइसके । सीडी रेसियो पनि ९० बाट झरेर ८६ तिर आइसक्यो । बैंकहरु कम्फर्ट जोनमा आइसकेकाले अब अर्थतन्त्र चलायमान हुने देखिन्छ ।

मार्केटको आवश्यकता हो र यो मार्केटलाई ठूलो बनाउँदै जान सक्छौं भने नयाँ ब्रोकर ल्याउन पर्छ । तर, अहिलेको आवश्यकता त्यो थियो वा प्रविधिलाई विकास गर्दै लाने थियो ? अहिले कसैलाई चाहियो भनेर नयाँ ब्रोकर ल्याउँदा भोलि त्यसले दुर्घटना निम्त्याउन सक्छ । तसर्थ यस विषयमा अध्ययन गरौं ।

– एउटा क्याबिनेट निर्णयबाट यो अवस्था आयो भने पछि सरकारले थप के निर्णय ग¥यो भने यो बजार स्थिर रुपमा जान सक्ला ? वर्तवान सरकारबाट केही अपेक्षा छ ?

अवश्य पनि छ । यसका लागि बजार कहाँबाट घट्न सुरु भयो भन्ने हेर्नुपर्छ । ३१९८ बाट बजार घट्न सुरु हुँदा राष्ट्र बैंकले एउटा मौद्रिक नीति ल्यायो । उक्त पोलिसीमा हामीले ४-१२ भनेर सुन्दै आएको कुरा छ । ४-१२ भनेको के थियो भने ४ करोड एउटा बैंकबाट र १२ करोडभन्दा बढी लिन नपाउने । यो बजारमा दिनमा ३ अर्बको कारोबार हुन्छ । त्यो वेला त दिनमा २०-२१ अर्बको कारोबार हुन्थ्यो । ३ अर्बको कारोबार हुने बजारमा कोही मान्छेले १२ करोडमात्र ऋण लिएर कारोबार गर्न पाउँछ भने ठूलो व्यापारी त यो बजारमा नआउने भयो ।

अहिलेको समयमा १०-१२ करोड भनेको ठूलो पैसा नै हैन । तसर्थ अब त्यहीबाट करेक्सन गर्नुपर्छ । राष्ट्र बैंकले जुन ४-१२ को नीति ल्यायो अब त्यो लगानीकर्ताको क्षमता ५० करोड ऋण लिन सक्ने छ र बैंकले पत्यायो भने, बैंकलाई लगानीकर्ताले ब्याज तिर्नसक्छ भने किन नदिने ? कसैलाई ५ लाख ठूलो होला, कसैलाई ५ करोड ठूलो होला । कसैलाई ५०औं करोड पनि ठूलो नहुन सक्ला । यति ठूल्ठूला योजना बनेका छन्, त्यो पैसामा म लगानी गर्न सक्छु भन्ने व्यापारी पनि यो बजारमा आउनपर्छ, आउन सक्छन् । त्यसका लागि राष्ट्र बैंकले जुन ४-१२ को नीति ल्याएको थियो, त्यो संशोधन हुनुपर्छ । अरु भनेको त उहाँहरुको निर्णयमै आइसकेको कुरा हो । अर्थतन्त्रलाई चलायमान बनाउने कुरा । अर्थतन्त्र चलायामान हुनेबित्तिकै बजार स्वतः चलायमान भई नै हाल्छ ।

अघिल्लो सरकारले स्टक ब्रोकरको लाइसेन्स थप्ने भन्दा कतिपय प्रश्न उठेका छन् । नयाँ आउन लागेका ब्रोकरमार्फत ठूलो भोलुममा पैसाको चलखेल भयो भन्ने पनि कुरा छ, मुद्दा मामिला पनि चलेको छ । कतिपयले भइराखेका ब्रोकरहरुले सिन्डिकेट कायम गर्न खोजे भन्ने तर्क पनि छ । यो विवाद कसरी उत्पन्न भयो? तपाईंहरुले सिन्डिकेट लाउन खोजेको हो कि अरु केही चलखेल भएको हो ?

एक समय राष्ट्र बैंकले हामी जस्तै रिलेटेड लाइसेन्स बैंकहरुलाई दियो, बीमा समितिहरुलाई दियो । मार्केटको आवश्यकता कति हो ? मार्केटलाई कति बैंक चाहिने हो, कति इन्स्योरेन्स चाहिने हो, त्यो हेर्दै नहेरिकन फोर्सफुल्ली मर्ज गर्दिने परिपाटी आयो । त्यो अवस्था नआओस् भनेर आवश्यकताको पहिचान गरौं, हाम्रो बजारलाई ५० वटा ब्रोकर धेरै भएको भए घटाउनतर्फ लागौं, थप्नेतर्फ नलागौं भन्दै आएका छौं । हाम्रो जत्तिकै कारोबार हुने स्टक एक्स्चेन्जमा कतिवटा ब्रोकर छन् ? श्रीलंकामा हाम्रोभन्दा ठूलो बजार छ । तर, ब्रोकर हामीकहाँ भन्दा कम छन् ।

तपाईंले भने जस्तै नयाँ ब्रोकर नआउँदा हामी ब्रोकरहरुलाई फाइदा होला । तर, हाम्रो भनाइ त्यो हैन । मार्केटको आवश्यकता हो र यो मार्केटलाई ठूलो बनाउँदै जान सक्छौं भने नयाँ ब्रोकर ल्याउन पर्छ । तर, अहिलेको आवश्यकता त्यो थियो वा प्रविधिलाई विकास गर्दै लाने थियो ? अहिले कसैलाई चाहियो भनेर नयाँ ब्रोकर ल्याउँदा भोलि त्यसले दुर्घटना निम्त्याउन सक्छ । तसर्थ यस विषयमा अध्ययन गरौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर