गठबन्धनको अचानोमा सयौं कांग्रेसको राजनीतिक बलिदान, धोका खाएपछि होला त क्षमादान ? – Nepal Press

गठबन्धनको अचानोमा सयौं कांग्रेसको राजनीतिक बलिदान, धोका खाएपछि होला त क्षमादान ?

८५ वर्षीय जेष्ठ कांग्रेसदेखि २० वर्ष समूहका नवयुवाहरु कम्युनिष्ट जिताउन कांग्रेसबाट निकालिए

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाललाई दोस्रोपटक जिताउन नेपाली कांग्रेसले ८५ वर्षीय जेष्ठ कांग्रेस कृष्णलाल सापकोटाको ७० वर्ष पूरानो पार्टी सदस्यता खोस्यो ।

कांग्रेसका अधिकांश शीर्ष नेताहरुको उमेर बराबर पार्टीको राजनीतिमा बिताएका पूर्व जिल्ला सभापति सापकोटाले जीवनको उत्तरार्धमा कांग्रेसबाट निष्कासित हुनु परेपनि माओवादीबाट हुनसक्ने धोकाधडी सम्झाउँदै आफ्नो अभियान छाडेनन् ।

मेयरमा स्वतन्त्र उम्मेदवार बनेका पूर्वसांसद जगन्नाथ पाैडेललाई समर्थन गर्दा ८५ वर्षका सापकोटामात्र होइन २० वर्ष उमेर समूहका धेरै कार्यकर्ता विधान बमोजिम स्वतः निष्कासनमा परे । महासमिति सदस्य मीना खरेललगायत ओहदाधारी धेरै जिल्लास्तरीय नेताहरुको सदस्य स्थानीयदेखि संघीय चुनावसम्म आउँदा खोसिइसकेको थियो ।

चितवनको अन्तिम विद्रोह दिनेश कोइरालाको थियो । कांग्रेसको एक वर्षअघि सम्पन्न महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यले गठबन्धनको नाममा कांग्रेसको कत्लेआम देख्न नसक्ने भन्दै माओवादी उम्मेदवार डा. भोजराज अधिकारीको विपक्षमा बागी दिए ।

उनलाई कांग्रेसले साधारण सदस्यबाट समेत निष्कासित गर्दै अभिलेखबाट हटाइसकेको छ । गठबन्धनविरुद्ध राजनीतिक बलिादनको शुरुवात कांग्रेसमा चितवनबाट भएपनि देशब्यापी रुपमा सयौं नेता कार्यकर्ताको सदस्यता यसबीचमा खारेज भएको छ ।

पार्टीका उम्मेदवारविरुद्ध खडा भएर होइन, कम्युनिष्ट र मधेसवादीविरुद्ध उठ्दा सदस्यता गुमाउने नेता कार्यकर्ताको पंक्ति ठूलो छ । कांग्रेसको विधानअनुसार बागी उम्मेदवारी दिने र उसको प्रस्तावक समर्थक बस्नेको सदस्यता निष्कासन हुनु स्वभाविक होला तर गठबन्धनका अन्य दलका उम्मेदवारको पक्षमा प्रचार नगरेबापत पनि धेरैको सदस्यता खोसियो ।

नेपाली कांग्रेसले पछिल्लोपटक साधारण सदस्यबाट समेत निष्कासन गरेका नेताहरुमा पूर्वमन्त्रीहरु केशववहादुर चन्द, महादेव गुरुङ, राजेन्द्रवहादुर शाह छन् । उनीहरु कांग्रेसविरुद्ध होइन माओवादी र नेकपा एसका उम्मेदवारविरुद्ध खडा भएका कारण सदस्यता खोसिनेमा पर्छन् ।

त्यस्तै, पूर्वसांसद तथा पूर्वकेन्द्रीय सदस्य हेमराज तातेड पनि सप्तरीमा माओवादीका उम्मेदवारविरुद्ध खडा भएका कारण निष्कासनमा परे । केशवहादुर चचन्द बैतडीमा माओवादीविरुद्ध खडा भएका थिए भने राजेन्द्र शाह सल्यानमा र महादेव गुरुङ कास्की २ मा नेकपा एसका उम्मेदवारको विपक्षमा खडा स्वतन्त्र भएका थिए ।

त्यस्तै, पर्साका पूर्व सांसद तथा पूर्व जिल्ला सभापति अजयकुमार द्धिबेदी गठबन्धनमा लोसपाका उम्मेदवारविरुद्ध खडा भएबापत कारवाहीमा परे । त्यहाँ उनी झिनो मतले पराजित हुँदा कांग्रेस समर्थित लोसपा उम्मेदवार लक्ष्मणलाल कर्णको जमानत जफत भयो ।

त्यस्तै, ताप्लेजुङकी महासमिति सदस्य मिना गुरुङ, खोटाङका उपसभापति धर्म पोखरेल र उदयपुर २ का क्षेत्रीय सभापति रामकुमार राई नेकपा एसका उम्मेदवारको विपक्षमा खडा भएबापत निष्कासनमा परे भने हुम्लाका मंगल शाही माओवादीका उम्मेदवारविरुद्ध खडा हुँदा कारबाहीमा परे ।

रियलाइज गराएर पार्टी काममा फर्काउनुपर्छ : महर

यी केही नमूना पात्रमात्र हुन् । कांग्रेसको विधान बमोजिम स्थानीय तहदेखि संघ र प्रदेशको चुनावसम्म आउँदा गठबन्धनका नाममा विपक्षी पार्टीका उम्मेदवार जिताउन आफ्ना नेता कार्यकर्ताको राजनीतिक जीवन समाप्त पारिएको बहस अहिले पार्टीभित्र खुलेआम चलेको छ ।

कांग्रेसका उम्मेदवारको विपक्षमा खडा हुनेमाथिको कारबाही स्वभाविक भए पनि अब गठबन्धनका नाममा अरु दल जिताउन कारबाही गरिएकाहरुलाई प्रक्रिया मिलाएर काममा फर्काइनुपर्ने केन्द्रीय सदस्य नैनसिंह महर बताउँछन् ।

महर भन्छन्- गठबन्धनको हाम्रो प्रयोग नै असफल भइसक्यो । हामीलाई धोका दिएर हिँडिसकेपछि अब उनीहरुलाई जिताउनका लागि पार्टीका साथीहरुमाथि गरिएको कारबाही पनि औचित्यहीन भइसक्यो । तत्कालीन अवस्थामा पार्टी निर्णय नमानेबापत आत्मालोलिचत गराउँदै सबैलाई काममा फर्काउनुपर्छ । तर पार्टीका उम्मेदवारविरुद्ध लाग्नेको हकमा विधानबमोजिम नै हुन्छ ।

गठबन्धनका उम्मेदवारको विपक्षमा लागेबापत कति सदस्य निष्कासनमा परे भन्ने यकिन विवरण कांग्रेस केन्द्रीय कार्यालयमा छैन । कतिपय विवरण जिल्ला र क्षेत्रबाट प्रक्रियासंगत ढंगले आउन बाँकी रहेकाले पनि अभिलेखमा नरहेको केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टीमा छलफल हुन्छ : प्रवक्ता महत

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीकै उम्मेदवारको विपक्षमा सक्रिय भएकाको हकमा कारबाही लागू हुने बताए ।
तर गठबन्धन नै नभएको अवस्थामा अरुलाई के गर्ने भन्ने सन्दर्भमा आउने बैठकमा छलफल हुने महतले बताए ।

वुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने- पार्टीकै उम्मेदवारको विपक्षमा सक्रिय भएकाको हकमा कारबाही लागू हुन्छ । उनीहरु अनुशासनको दायरमा भित्र आउछन् । तर गठबन्धन नभएको अवस्थामा अरु साथीहरुलाई के गर्ने त भन्ने प्रश्न छ । जोसँग गठबन्धन गरेको हो उसले नै उ गरिसकेको हुनाले के गर्ने भन्नेबारे पार्टीमा छलफल हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर