अहुवालीया भन्छन्- नेपालमा ‘थ्रेट’ भएर भारत आएको हुँ, अदालतको फैसलाअघि क्यानलाई पैसा दिइन्न – Nepal Press
नेपाल टी–२० विवाद

अहुवालीया भन्छन्- नेपालमा ‘थ्रेट’ भएर भारत आएको हुँ, अदालतको फैसलाअघि क्यानलाई पैसा दिइन्न

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–२० क्रिकेट प्रतियोगिता मध्यविन्दूमा आइपुग्दा अन्योलको भुमरीमा परेको छ । प्रतियोगितामा सहभागी खेलाडीहरूले अहिलेसम्म पारिश्रमिक नपाएको तथा टिम मालिकहरू सम्पर्कमा नरहेको विषय आज बाहिर आएपछि प्रतियोगिता अगाडि बढ्नेमै शंका उत्पन्न भएको थियो ।

प्रतियोगिताको आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले टिम मालिक र खेलाडीसँग संवाद गरेर तत्कालका लागि सहमति त जुटायो तर, समस्या समाधान भइसकेको छैन । क्यानले खेलाडीहरूलाई बुधवारसम्ममा पारिश्रमिक दिलाउने आश्वासन दिएको छ । यदि सो आश्वासन पूरा नभएको खण्डमा के हुन्छ भन्ने अन्योल बढेको छ ।

यता प्रतियोगितामा रणनीतिक तथा व्यावसायिक साझेदारका रूपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सका अधिकारीहरू क्यानलाई जानकारी नदिईकन भारत फर्किएका छन् । उनीहरू ‘प्रतियोगिता छोडेर भागेको’ चर्चा समेत चलिरहेको छ । तर, नेपाल प्रेसको सम्पर्कमा आएका सेभन थ्री स्पोट्र्सका प्रमुख जतिन अहुवालीयाले आफूहरू भागेर नआएको बताए । नेपालमा अपरिचित व्यक्तिहरूबाट ‘थ्रेट’ आएपछि असुरक्षित महसुस गरेर भारत आएको उनको दाबी छ ।

सेभन थ्री स्पोर्ट्सले क्यानसँग ८ वर्षको सम्झौता गरेको छ । सम्झौता अनुसार कम्पनीले क्यानलाई पैसा दिएको छैन । अहलुवालीया भने सबै पैसा दिनका लागि आवश्यक शर्तहरु पूरा नभएको बताउँछन् । आफूहरूले लाइसेन्सका लागि एक करोड २० लाख रुपैयाँ क्यानलाई बुझाएको तथा ग्राउन्डका कामहरूमा २५ लाख रुपैयाँ खर्च गरेको उनले बताए ।

आजैबाट उत्पन्न भएको म्याच फिक्सिङ सम्बन्धी विवादमा पनि जतिनले प्रतिक्रिया दिए । आफूलाई यो विषयमा केही दिनअघि नै सूचना आएको र क्यानलाई जानकारी गराएको पनि उनको दाबी छ ।

‘मैले तीन दिन अगाडि अहिले यो प्रतियोगिता स्थगित गरौँ भनेको थिएँ, तर क्यान तयार भएन,’ उनले भने ।

अहुवालीयासँग ह्वाट्सएपमा गरिएको कुराकानी:

तपाईँहरू नेपाल टी–२० लिग छोडेर भाग्नुभएको चर्चा नेपालमा चलिरहेको छ । एकाएक किन भारत जानुभएको हो ?

हामी भागेको विल्कुल होइन । अहिले पनि हामी पूर्णरुपमा उपलब्ध नै छौँ । सबैलाई जवाफ दिइरहेका छौँ । क्यानसँग पनि संवाद भइरहेको छ ।

तर, प्रतियोगिता चलिरहँदा एक्कासि नेपाल छोडेर जानुपर्ने परिस्थिति कसरी आइपर्‍यो त ?

खासमा यो लिग सुरु गरेदेखि हामीले धेरै चुनौतीहरूको सामना गरिरहेका थियौँ । पछिल्ला दिनहरूमा हामीलाई सुरक्षाको पनि चुनौती थपियो । हामी आफ्नो परिवारसहित नेपालमा थियौँ । हिजो हामीले ‘थ्रेट’को सामना गर्नुपर्‍यो । त्यसैले हामीले असुरक्षित महसुस गर्‍यौँ । दूतावासमा रिपोर्ट पनि गरेका छौँ । सुरक्षित हुनका लागि भारत आएका हौँ ।

कसले कुन माध्यमबाट थ्रेट दिए र ?

हामीले मान्छे चिनेको त छैन । तर, फेस टु फेस नै हामीलाई धम्की दिए । हामीलाई लाग्यो कि कोही हामीमाथि नजर राखिरहेको छ । असहज महसुस भयो । यही असहज अवस्थाका कारण आफ्नो घर आयौँ । यहाँबाट अपरेट गरिरहेका छौँ । तर, हामी सम्पर्कविहीन भएका होइनौँ ।

के भनेका थिए उनीहरूले ?

हामीलाई अपशब्द बोले । हामीलाई थाहा छ तिमीहरू के गर्न आएका हौँ, यहाँबाट भाग नत्र काटिदिन्छौँ भनिरहेका थिए ।

धम्की आएका विषयमा क्यान र नेपाल प्रहरीलाई सूचित गर्नुभएन ?

सूचित गरिएन, किनकि हामी फर्किहाल्यौँ । सायद हामीले नेपाल प्रहरीलाई खबर गर्नुपर्ने थियो । तर, हामी चाँडोभन्दा चाँडो सुरक्षित वातावरणमा फर्किन चाहन्थ्यौँ ।

भारत फर्किन लागेको भनेर क्यानलाई जानकारी गराउनुभएको थियो ?

हामी यहाँ आउँदा पनि क्यानलाई इन्फर्म गर्दैनौँ, जाँदा पनि गर्दैनौँ । हामी आफ्नो सेड्यूलमा हिँड्छौँ । हामी लुकेर होइन, आरामसँग फ्लाइटमा आएका हौँ ।

तपाईँहरू फर्किएपछि नेपाल टी–२० लिग नै अन्योलमा परिरहेको छ । समस्याको चुरो चाहिँ के हो ?

कुरा स्पष्ट छ । यो लिगमा हामी आयोजक होइनौँ । हाम्रो रोल भनेको कमर्सियल पार्टनर हो । यो लिगलाई हामीले व्यवसायीक रुपमा सम्भव बनाएका छौँ । हामीले धेरै मिहिनेत र लगानी गरेर यो स्थितिमा ल्याइपुर्‍याएका हौँ । यति राम्रो क्रिकेट ब्रोडकास्ट नेपालमा आजसम्म भएकै थिएन । मानिसहरूले घरघरमा बसेर टेलिभिजनमा घरेलु क्रिकेटको मजा लिइरहेका छन् । विश्वभरबाट ठूलाठूला खेलाडीहरू आएका छन् । कमर्सियल पार्टनरको भूमिका हामीले राम्ररी निभाएका छौँ ।

तर, तपाईँहरूले नेपाल क्रिकेट संघलाई पैसा नदिनुभएको कुरा छ नि ?

जब हामीले सम्झौता गर्‍यौँ, हामीले लाइसेन्स फी भनेर १.२ करोड नेपाली रुपैयाँ क्यानलाई दिएका छौँ । योभन्दा अघि नेपालमा कुनै पनि फ्रेन्चाइज लिग आयोजकले क्यानलाई लाइसेन्स फी तिरेका छैनन् ।

यसका अतिरिक्त हामीले २५ लाख रुपैयाँ मैदानको अवस्था सुधार र खेलाडीको सुविधामा खर्च गर्‍यौँ । नयाँ ट्वाइलेटहरू बनायौँ । अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार बनाउने कोसिस गर्‍यौँ । ग्राउन्डमा गएर हेर्न सक्नुहुन्छ ।

तपाईंहरु अहिले आफ्नो सम्पर्कमै नभएको भनेर क्यानका अधिकारीहरूले बताइरहेका छन् नि ?

हामी बिलकुल सम्पर्कमा छौँ । आज पनि उहाँहरूसँग पटक–पटक कुरा भएको छ । हामीले नै कोअर्डिनेसन गरेर आज मैदानमा उत्पन्न भएको विवाद सुल्झाउन मद्दत गरेका हौँ ।

प्रतियोगितामा सहभागी खेलाडीहरूले पारिश्रमिक नपाएको बताएका छन् । यसमा को जिम्मेवार हुन्छ ?

त्यो पनि स्पष्ट छ । पारिश्रमिकमा हामी जिम्मेवार होइनौँ । सम्झौता अनुसार अम्पायर र ग्राउन्ड स्टाफको पारिश्रमिक क्यानले र खेलाडीको पारिश्रमिक टिम मालिकहरूले उपलब्ध गराउनुपर्ने हुन्छ । खेलाडीहरू हायर गर्ने भनेको फ्रेन्चाइजीले हो । ६ वटा टिमका मालिकहरू फरक फरक छन् । त्यसमा न क्यानको भूमिका छ, न हाम्रो । खेलाडी हायर गर्ने भनेको फ्रेन्चाइजीले हो । खेलाडीलाई पारिश्रमिक दिलाउनका लागि हामी आफ्नो तर्फबाट सबै कुरा गर्छौँ । ग्राउन्ड स्टाफ र अम्पायरको फी त क्यानलाई हामीले तिरेको लाइसेन्स फीबाटै पुग्छ ।

तर, टिम मालिकहरू नै टिमको सम्पर्कमा नरहेको खेलाडीहरूले बताइरहेका छन् नि ?

टिम मालिकहरू कोही नेपाली छन् कोही विदेशी । विदेशी भए पनि काठमाडौंमा नै छन् । म्याच चल्दै गर्दा उनीहरूले खेलाडीसँग धेरै घुलमिल हुन पाउँदैनन् । खेलाडी सँगसँगै हिँड्न सक्दैनन् । खेलाडी र मालिकको सीमित संवाद हुन्छ यस्तो फर्म्याटमा । केही टिम मालिक अलि धेरै देखिएका होलान्, केही अलि कम । तर, उनीहरूका प्रतिनिधि र सपोर्टिङ स्टाफ चाहिँ मैदानमा नै उपलब्ध हुन्छन् ।

दुई वटा बाहेक अरू टिम सेभन थ्री स्टार्सले नै डमी मालिकहरू खडा गरेर चलाइरहेको चर्चा पनि सुनिन्छ नि ?

बिलकुल गलत हो । हामी डमी बनाउँदैनौँ । सबै ६ कम्पनीका सूचना क्यानसित छ । क्यान र आइसीसीले नै उनीहरूलाई एप्रुभ गरेका हुन् । यदि हामीलाई टिम चलाउनु थियो भने कमर्सियल पार्टनर होइन टिम वनर नै बन्ने थियौँ ।

तपाईँहरूले आठ वर्षका लागि क्यानसँग सम्झौता गर्नुभएको छ । त्यसबमोजिम यो सिजनमा कति पैसा तिर्नुपर्ने हुन्छ ?

यो सिजनमा हामीले तिर्नुपर्ने ३.९ करोड रुपैयाँ हो । त्यसमध्ये १.२० करोड रुपैयाँ लाइसेन्स फिका रूपमा दिइसकेका छौँ ।

बाँकी पैसा दिन किन ढिला गर्नुभएको हो ?

यसमा महत्त्वपूर्ण पहलु के छ भने यो सम्झौता कार्यान्वयनमा आउनका लागि सबैभन्दा पहिलो शर्त भनेको नेपाल खेलकुद परिषद्को स्वीकृति चाहिन्छ । नत्र यो सम्झौताले मान्यता नै पाउँदैनन् । यो विषय अहिले अदालतमा पनि छ । त्यसैले हामी क्यानलाई पैसा दिन सकिरहेका छैनौँ ।

तर, प्रतियोगिता नै गराइसकेपछि अहिले यस्तो शर्त देखाउन मिल्छ ?

कुनै पनि सम्झौताको व्यावसायिक दायित्व तब सुरु हुन्छ जब त्यो सम्झौता कार्यान्वयनमा आउँछ । त्यसका बाजदुत पनि हामीले लाइसेन्स फी तिर्यौं । तर, विषय अदालतमा पुगिसकेपछि फैसलाको प्रतीक्षा गर्नुपर्छ ।

सरकारको स्वीकृतिबिना र अदालतमा मुद्दा विचाराधीन छँदै किन प्रतियोगिता गराउनुभयो त ?

हामीलाई भनियो कि सबै कुरा ठिकठाक छ । परिषद्को स्वीकृति आइसकेको भनेर क्यानले भनेको थियो । तर, हामीलाई स्वीकृतिको पत्र उपलब्ध गराइएन । हामीले यो सबै डकुमेन्ट मागेका थियौँ, तर दिइएन । सबै स्वीकृति आइसकेको छ भनिएपछि त्यही स्पिरिटमा काम गरिरहेका थियौँ ।

सम्झौताका दायित्वहरू पूरा गर्न पेपरहरू चाहिन्छ । खासगर अर्को देशबाट भुक्तानी गर्दा थुप्रै डकुमेन्टको आवश्यक हुन्छ । बाहिरबाट रकम पठाउने कारण जस्टिफाइ गर्नुपर्छ । त्यो सबै पूरा नहुँदा यो समस्या उत्पन्न भएको हो ।

यसको मतलब क्यानलाई अहिले पैसा दिनुहुन्न ?

तीन चिजमा भर पर्छ । सम्झौतामा भएको सबै शर्तहरु पुरा हुनुपर्‍यो पहिलो । दोस्रो, हामीले अदालतको निर्णय प्रतीक्षा गर्नुपर्छ । तेस्रो, खेलकुद परिषद्ले स्वीकृति दिएको पत्र चाहिन्छ । अहिले हामी भुक्तानी गर्न चाहेर पनि सक्ने अवस्थामा छैनौँ ।

त्यसो भए तपाईँहरूले यो प्रतियोगिताबाट हात झिक्ने सम्भावना कति छ ?

त्यस्तो सोचेका छैनौँ । त्यसैले त अहिले तपाईँसँग कुरा गरिरहेका हौँ ।

हामी नेपालमा क्रिकेट ट्यालेन्टको एक पाइपलाइन बनाउन चाहन्छौँ । हामीले यो सोचेर आएका हौँ कि आइसीसी टी–२० विश्वकपमा नेपाल पुगोस् । ओडीआइ स्टाटस सुरक्षित रहोस् । राम्रा–राम्रा कोचहरू नेपालमा आउन् । नेपाली खेलाडीले ‘लिप फ्रग’ लगाएर दुनियाँमा नाम जमाउन् । राम्रो प्रोफेसनल कम्पनीहरूलाई काम गर्ने मौका मिलोस् ।

एक वर्षदेखि हामीलाई यति धेरै आरोप लगाइएको छ । हामी बेटिङ कम्पनी हौँ, क्यासिनो चलाउँछौँ । जुवा खेलाउँछौँ । यस्ता कुराहरू फैलाइए । हामीले पुलिसमा कम्प्लेन गर्नेदेखि मिडियामा दुई पटक खण्डन छपायौँ । सबै डकुमेन्ट देखायौँ । तर, पनि हामीलाई आरोप लगाउन छोडिएको छैन ।

तपाईँहरूले एउटा बेटिङ कम्पनीलाई प्रतियोगिताको मुख्य प्रायोजक बनाउनुभएको त सत्य हो नि ? जबकि नेपालमा बेटिङ गैरकानूनी छ ।

यो पनि गलत हो । हाम्रो मुख्य प्रायोजक वान एक्स बेट (BET) ओइन, वान एक्स ब्याट (BAT) । र, वान एक्स ब्याट भनेको बेटिङ कम्पनी होइन । हामीले जसलाई स्पोन्सर्ससिप स्लट दियौँ त्यो संसारभर आइसीसीले अप्रुभल दिएको कम्पनी हो । अनलाइन सर्च गरेर हेर्नुस्, यो बेटिङ कम्पनी नै होइन ।

अहिले नेपाल टी–२० मा म्याच फिक्सिङ र स्पट फिक्सिङको विवाद पनि उत्पन्न भएको छ । यस विषयमा तपाईँलाई कति सूचना छ ?

यो प्वाइन्ट मैले पनि उठाएको थिएँ । यही प्वाइन्ट उठाएको कारण नै मलाई थ्रेट आएको हुन सक्छ । सायद यही कारण ती मानिस मेरो विरुद्ध छन् । मलाई लाग्छ त्यहाँ माफियाको नेक्ससले खेललाई बिगारिरहेको छ ।

मैले तीन दिनअघि क्यानसँग माग गरेको थिएँ, लिगलाई १५ दिनका लागि स्थगित गरौँ भनेर । मेरो टिमको आचरण एकदम सफा छ । हामीले सबै अनुशासनको पालना गर्‍यौँ । सबै निर्देशन अनुसरण गर्‍यौँ । तर कहीँ न कहीँ यति धेरै सफाइ र अनुशासनको मूल्य चुकाउनु परिरहेको छ ।

भन्नाले तपाईँलाई थाहा थियो म्याच फिक्सिङको कुरा ?

हो मैले तीन दिन पहिले मात्रै भनेको थिएँ । जब मलाइ लाग्यो कि यस्तो केही भइरहेको छ । मैले नै क्यानलाई प्रतियोगिता रोकौं भनेको थिएँ ।

क्यानले के भन्यो ?

उनीहरूले अस्वीकार गरे । यो कुरालाई ध्यानमा राख्नेछौँ भने । तर लिग रोक्न मानेनन् । मेरो अडान भने क्लियर थियो । हामी नेपालबाट फर्किनुको अर्को कारण यो पनि हो । हामी यहाँ रहेर नै काम गरिरहेका छौँ ।

अब नेपाल कहिले फर्किनुहुन्छ ?

जब मलाई सुरक्षित महसुस हुन्छ । अनि फर्किन्छु ।

प्रतियोगिता अब रोकिँदैन ?

प्रतियोगिता अगाडी बढ्छ । अगाडी बढाउनका लागि हामी सबै गरिरहेका छौँ । हाम्रो टिम अहिले पनि अन ग्राउन्ड छ ।


प्रतिक्रिया

One thought on “अहुवालीया भन्छन्- नेपालमा ‘थ्रेट’ भएर भारत आएको हुँ, अदालतको फैसलाअघि क्यानलाई पैसा दिइन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर