गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० करोडको उपकरण अलपत्र, भारतले सहमति नदिँदा उडान प्रभावित – Nepal Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० करोडको उपकरण अलपत्र, भारतले सहमति नदिँदा उडान प्रभावित

रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिविलिटी (आँखाले देख्नसक्ने दूरी) कम हुँदा जहाज उडान तथा अवतरण प्रभावित भएको छ । इन्स्ट्रमेट ल्याण्डिङ सिस्टम-आईएलएस (थोरै भिजिविलिटी हुँदा पनि जहाज उडान-अवतरण गर्न सकिने उपकरण) सञ्चालनमा नआउँदा उडान तथा अवतरण प्रभावित भएको हो ।

विमानस्थलका अनुसार करिब १० करोड रुपैयाँ खर्चेर क्याटागेरी–१ को आईएलएस उपकरण जडान भएको छ । यो अत्याधुनिकमात्रै छैन, क्याटागोरी-२ का उपकरणसमेत प्रयोग गरिएको छ । केही उपकरण थप गर्ने हो भने क्याटगेरी-२ अनुसारकै आईएलएस सञ्चालन गर्न सकिन्छ ।

क्याटगेरी-२ को आईएलएस जडानले ३५० मिटरकै भिजिविलिटीमा जहाज उडान तथा अवतरण गर्न सकिने विमानस्थल स्रोत बताउँछ । तर, नेपाल नागरिक उड्डयन प्राधिकरण र सरकारको समन्वय अभावले भएको उपकरणसमेत सञ्चालनमा आउन सकेको छैन ।

गौतमबुद्ध विमानस्थल भारतसँगको सीमा नजिक पर्ने र आईएलएस उपकरणको प्रयोगबाट जहाज उडान-अवतरण गर्दा भारतको केही आकाश प्रयोग हुन्छ । त्यसैले यो सञ्चालन गर्न भारत सहमत नभएको बुझिएको छ । तर, सरकारले भारतसँग स्वीकृति लिन समन्वय नगरेको बताइएको छ ।

कम भिजिविलिटीले आन्तरिक उडानसमेत प्रभावित हुँदै आएको छ । जसले गर्दा बिहान ६ बजे विमानस्थल पुगेका यात्रु दिउँसो ३ बजेसम्म जहाज उड्ने प्रतीक्षामा बस्न बाध्य छन् ।

जहाज उडाउन सामान्यतया १ हजार ५ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । अहिले भैरहवामा साँझ-बिहानको भिजिविलिटी ५-६ सय मिटरमात्रै पुग्छ । जसले गर्दा जहाजको उडान तथा अवतरण प्रभावित हुँदै आएको छ ।

विमानस्थलमा जडान गरिएको क्याटगेरी-१ को आईएलएस सिस्टममा ५५० मिटरसम्म भिजिविलिटी हुँदा पनि सहजै विमान उडान-अवतरण गर्न सकिन्छ । तर, उक्त उपकरण सञ्चालन नहुँदा भैरहवामा सातामा तीन दिन उडान भर्दै आएको कुवेतको जजिरा एयरलाइन्स र चार्टर्ड उडान गर्दै आएको हिमालय एयरले आफ्नो उडान कटौती गरेका छन् ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले अहिलेको मौसमका कारण आन्तरिक उडान पनि तोकिएको समयमा हुन नसकेको जानकारी दिए । दैनिकजसो लाग्ने हुस्सु र कुहिरोले जहाज उडान-अवतरण प्रभावित भएको उनको भनाइ छ ।

‘भिजिविलिटी कम हुँदा पनि जहाज सहजै उडान-अवतरण गर्न सकियोस् भनेर विमानस्थलमा आईएलएस उपकरण जडान गरिएको हो । तर, यसको सञ्चालनमा भारतले सहमति नदिँदा समस्या भएको छ’ महाप्रवन्धक दाहालले भने ।

उनका अनुसार सरकारले भारतसँग कुराकानी अगाडि बढाएको छ । तर, भारतबाट कुनै जवाफ आएको छैन ।

यता पर्यटन व्यवसायी तथा स्थानीयले फुलफेजमा विमानस्थल चल्नुपर्ने माग गर्दै गराएका छन् । नेपाल ट्राभल्स एण्ड टुर्स एजेन्ट संघ (नाट्टा) लुम्बिनी प्रदेशकी अध्यक्ष रचना पन्तले सरकारले समयमै समन्वय गरेर यसको समाधान गर्नुपर्ने बताइन् । विमानस्थललाई लक्षित गरेर पर्यटन क्षेत्रमा अर्बौं लगानी भएको तर नियमित उडान नहुँदा व्यवसाय डुब्ने खतरा बढेको उनले गुनासो गरिन् ।

‘व्यवसायी निकै निराश छन्, सरकारले विमानस्थलमा देखिएका हरेक समस्या तत्काल समाधान गर्नुपर्छ’, पन्तले भनिन्, ‘कतिले हवाई टिकट बुकिङ गरेका थिए । तर, आईएलएसका कारण उडान अवरुद्ध हुँदा सबै टिकट रद्द गर्नुपरेको छ । यसबाट हामी व्यवसायी र यात्रु दुबै मर्कामा छौं । सरकारले भारतसँग कुरा गरेर यो समस्या तत्काल समाधान गर्नुपर्छ ।’

जेठ २ गतेबाट विमानस्थल सञ्चालनमा आउँदा यस क्षेत्रका व्यवसायी उत्साहित भएका थिए । तर, पछिल्लो पटक अन्तर्राष्ट्रिय उडान नै रोकिएपछि व्यवसायी निराश देखिएका छन् ।

निर्माण लागत, मुआब्जा गरेर ४३ अर्ब खर्चमा विमानस्थल तयार गरिएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले यति धेरै रकम खर्चेर निर्माण गरिएको विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन नसक्दा राम्रो सन्देश नगएको बताए । सामान्य समस्यालाई पनि समयमै सम्बोधन गर्न नसक्नु सरकारको गैरजिम्मेवारीपन भएको उनको भनाइ छ ।

पर्यटन व्यवसायी सागर अधिकारीले कुनै पनि बहानामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न नहुने बताए ।

पर्यटन व्यवसायी एवं सिद्धार्थ उद्योग वाणिज्य संघका पुूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले यो विमानस्थल देखेर सय अर्बभन्दा बढी लगानीमा भैरहवा आसपासमा होटलहरु निर्माण भइरहेको बताए । यस्तो वेला उडानमा कटौती गरिए त्यसको दबाब थेग्न सरकारलाई धौ धौ पर्ने उनले चेतावनी दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ महिनाको अवधिमा ३१ हजार ६१८ यात्रुले सेवा लिएका छन् । गत जेठ २ देखि पुस ३ गतेसम्ममा १५४ वटा उडान र अवतरण भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर