दुई लाखसहित समातिएकी वन अधिकृत निर्दोष ठहर भएपछि अख्तियार सर्वोच्चमा – Nepal Press

दुई लाखसहित समातिएकी वन अधिकृत निर्दोष ठहर भएपछि अख्तियार सर्वोच्चमा

प्रमाणलाई बेवास्ता गरिएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग घुसको रकम भएको आरोपमा पक्राउ गरिएकी डिभिजन बन अधिकृतलाई विशेष अदालतले सफाई दिएपछि सर्वोच्च अदालत पुगेको छ । आयोगले विषेश अदालतको फैसला बदर हुनुपर्ने मागसहित पुनरावेदन गरेको छ ।

अख्तियारको टोलीले तत्कालीन दोलखा डिभिजन बन अधिकृत सन्तमाया श्रेष्ठलाई २०७६ फागुन २९ गते भक्तपुरको मध्यपुर ठिमीबाट नियन्त्रणमा लिएको थियो । बा १ झ ७६८५ नम्बरको कारमा दोलखाबाट आइरहेको अवस्थामा श्रेष्ठ पक्राउ परेकी थिइन् ।

गाडीबाट २ लाख ३ हजार ५०० रुपैयाँ नगद बरामद भएको थियो । दोलखाका काठ व्यापारीसँग २ लाखदेखि ३ लाख रुपैयाँसम्म रकम उठाएर काठमाडौं हिँडेको सूचनाका आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिएर खानतलासी गरिएको अख्तियारको दाबी छ । श्रेष्ठले बरामद भएको रकमको खुलाउन नसकेपनि विशेष अदालतले सफाई दिनु त्रुटिपूर्ण रहेको अख्तियारको जिकिर छ ।

श्रेष्ठले बरामद भएको रकममध्ये ५० हजार रुपैयाँ बन रक्षक नारायण शाहसँग लिएको र बाँकी रकम तलबबापत माघको दोस्रो साता बैंकबाट निकालेको ६ लाख ७७ हजार रुपैयाँमध्ये बाँकी रहेको रकम दाबी गरेकी थिइन् ।

तर बयानका क्रममा नारायणले श्रेष्ठलाई कुनै रकम नदिएको र श्रेष्ठले बैंकबाट निकालेको भनेको रकम उनी पक्राउ परेपछिको भएको पनि अख्तियारको दाबी छ । विशेष अदालतले श्रेष्ठले को कोसँग घुस लिएको प्रमाण खुलाउन नसकेको र बैंकबाट तलब निकालेको देखिएको आधारमा उनलाई सफाई दिएको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *