नेपाल-यूएई खेल हुँदा ३१ जना भारतीयले कीर्तिपुर मैदानबाटै गरेका थिए बेटिङ – Nepal Press

नेपाल-यूएई खेल हुँदा ३१ जना भारतीयले कीर्तिपुर मैदानबाटै गरेका थिए बेटिङ

काठमाडौं । मंसिर २ गते कीर्तिपुर क्रिकेट मैदानमा नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल भएको थियो । खेलकै बीच नेपाल प्रहरीको केन्द्रीय अनु्सन्धान ब्युरो-सीआईबीले ठूलो संख्यामा दर्शकहरुलाई नियन्त्रणमा लिएको थियो ।

सादा पोसाकको प्रहरी टोलीले केही समयको निगरानीपछि उनीहरुलाई ‘उठाएको’ थियो । प्रहरीले नियन्त्रणमा लिएका ४४ जना सबै भारतीय थिए । तर, उनीहरुबाहेक अरुले पनि त्यहाँ बेटिङ गरिरहेको हुन सक्ने प्रहरीको भनाइ थियो ।

‘त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको खेल भइरहेकोमा क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रशारणबाट सट्टेबाजी गर्दा कम्तिमा ३ सेकेन्ड ढिला हुने र प्रभावकारी सट्टेबाजीमा असर पर्ने हुँदा निजहरु शशरीर उपस्थित भई उनीहरुले त्यसको फाइदा लिन मैदानमा नै बसेर बल टु बल एपको माध्यमबाट सट्टेबाजी गरेको हुन सक्ने भन्ने विशेष सूचनाका आधारमा अप्रेसन गरिएको’ भन्ने अनुसन्धान प्रतिवेदन काठमाडौं प्रहरी परिसरले जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

अनुसन्धानका क्रममा ३१ जना विभिन्न एपको प्रयोग गरेर बेटिङ गरिरहेको पाइएको भन्दै प्रहरीले मुलुकी फौजदारी संहिता २०७४ को दफा १२५ अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा सजाय माग दाबी गर्न सरकारी वकिल कार्यालयलाई राय दिइएको थियो । प्रहरी हिरासतमा बसेको २८ दिनपछि काठमाडौं जिल्ला अदालतले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको थियो । उनीहरुमध्ये अधिकांशलाई कम्तिमा एक लाख रुपैयाँ धरौटी मागिएको थियो ।

मुलुकी फौजदारी संहिता २०७४ अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । अघिल्लो कानूनमा सट्टेबाजीसम्बन्धी प्रावधान थिएन । बढ्दो बेटिङ र म्याच फिक्सिङलाई ध्यान दिएर मुलुकी फौजदारी संहितामा यसबारे पनि उल्लेख गर्दै सजायको व्यवस्था गरिएको थियो । कानूनमा ३ वर्षभन्दा बढी कैद हुने कसुरमा मात्र गाम्भीर्यता हेरेर पुर्पक्षका लागि थुनामा पठाउने व्यवस्था छ ।

यो घटनामा पक्राउ परेका अधिकांश भारतीय बढीमा दुई साताअघि मात्रै काठमाडौं आएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर