भोट नहाल्ने नेकपा एसका १२० भन्दा बढी केन्द्रीय सदस्य छानबिनमा, मुकुन्द र झाँक्रीमाथि कारबाही माग – Nepal Press

भोट नहाल्ने नेकपा एसका १२० भन्दा बढी केन्द्रीय सदस्य छानबिनमा, मुकुन्द र झाँक्रीमाथि कारबाही माग

काठमाडौं । थ्रेसहोल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एकीकृत समाजवादीका १२० जनाभन्दा बढी केन्द्रीय सदस्यहरू नै भोट हाल्न नगएको विषय उठेपछि पोलिटब्युरो बैठकमा खैलाबैला भएको छ ।

साेमबारदेखि सुरू भएको पोलिटब्युरो बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू नै भोट हाल्न नगएको विषय उठेको हो । निर्वाचन क्षेत्रमा नखट्ने र भोट नहाल्ने केन्द्रीय सदस्यहरूको संख्या १२० भन्दा माथि हुनसक्ने भनिएको छ ।

पार्टी १७ हजार मत नपुगेर राष्ट्रिय पार्टी बन्न नसक्दा केन्द्रीय सदस्यहरू नै भोट हाल्न नगएको विषय छानबिनको दायरामा आएको पोलिटब्युरो सदस्य दीलु पन्तले नेपाल प्रेसलाई बताइन् । उनका अनुसार बैठकमा यो विषय उठेपछि छानबिन हुने भएको छ ।

यदि १७ हजार मत बढी आएको भए नेकपा एसले थप कम्तीमा ४ सांसद पाउने थियो । बैठकमा नेकपा एसको समानुपातिक सूचीमा रहेकाहरूले समेत भोट नमागेको विषय पनि उठेको छ । दोस्रो नम्बरभन्दा तल रहेकाहरूले आफू नपर्ने निश्चित भएपछि भोट नै नमागेको कुरा उठेको छ ।

पार्टीका प्रभावशाली नेता मानिएका गोविन्द कोइराला, गौरा प्रसाईँ, दामोदर अर्याललगायतको नामै किटेर भोट हाल्नै नगएको आरोप लागेको छ । ३७० हाराहारीको केन्द्रीय कमिटीका १२० भन्दा बढी सदस्यको लिस्ट बनाएर छानबिन सुरू भएको नेकपा एसले जनाएको छ ।

मुकुन्द र झाँक्रीमाथि कारबाहीको माग

यसैबीच नेकपा एसको जारी बैठकमा स्थायी कमिटीका वरिष्ठ नेता मुकुन्द न्यौपाने र पार्टी सचिव रामकुमारी झाँक्रीमाथि कारबाहीको मागसमेत भएको छ । उनीहरूमाथि एमाले र माओवादीको पैरवी गरेको र आफ्नै पार्टी अध्यक्षको बद्ख्वाइँ गरेको आरोप पोलिटब्युरो सदस्यहरूले लगाएका छन् ।

झाँक्रीले हालै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर दिएको टिभी अन्तर्वार्ताको प्रसंगसमेत निस्किएको बैठकका सहभागीले बताए । मुकुन्दले सार्वजनिकरूपमै पार्टी नेतृत्वविरुद्ध बोलेको आरोप छ ।

उनले बारा १ मा गएर एमालेका अच्युत मैनालीलाई मत मागेको आरोप पुष्टि हुने प्रमाण नै बैठकमा पेश भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर