लुम्बिनी विकास कोषद्वारा बौद्ध सर्किटको अवलोकन – Nepal Press

लुम्बिनी विकास कोषद्वारा बौद्ध सर्किटको अवलोकन

रुपन्देही । लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरूको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्यसचिव सानु राजा शाक्य, योजना प्रमुख सरोज भट्टराईसहितको टोलीले प्राचीन तिलौराकोट दरबार, सगरहवा र सिसहनियाको स्थलगत अवलोकन गरेको हो ।

उक्त अवसरमा विश्व सम्पदा सूचीकृतको तयारीमा रहेको तिलौराकोटको व्यवस्थापन, सिसहनियाको संरक्षण एवम् सगरहवालाई बौद्धकालीन पार्कका रूपमा विकास गर्न प्रस्तर राष्ट्रिय कार्यशालामा जुट्न पदाधिकारीहरूले निर्देशन दिएका छन् ।

कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बौद्धकालीन सभ्यताका प्रशस्त अवशेषहरू कपिलवस्तुमा रहेकाले उत्खनन, संरक्षण र विकासका लागि कोषले क्रमशः काम गर्दै अघि बढ्ने बताए । उनले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारीका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भएको बताएका छन् ।

अवलोकनका क्रममा कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जगदीशपुर ताल नजिकै रहेको शाक्यहरूको बध भएको स्थल सगरहवामा प्रस्तर राष्ट्रिय कार्यशाला गर्ने तयारी स्वरूप स्थलगत अवलोकन गरिएको जानकारी दिए । सगरहवा ताललाई स्थानीय तह, स्थानीय बासिन्दाको समेत अपनत्व हुने गरी बौद्धकालीन सभ्यतालाई प्रस्तरमा उतारेर पर्यटकीय गन्तव्य बनाउने योजना अनुसार कार्यशाला गर्ने परिषद्ले निर्णय गरिसकेको उनको भनाइ छ ।

अवलोकनपछि तिलौराकोट, सगरहवा र सिसहनिया क्षेत्रको संरक्षणका लागि पहिलो चरणमा तत्काल पर्खाल निर्माण गर्नुपर्ने आवश्यकता देखिएकाले तत्काल सुरु गर्ने सदस्यसचिव सानुराजा शाक्यले बताए ।

अनुगमनमा योजना प्रमुख सरोज भट्टराई, कोषका बोर्ड सदस्य विश्वराज पौडेल, अर्का बोर्ड सदस्य रामनरेश कोहार, परिषद सदस्य गोपी कृष्ण शर्मा, कोषका पुरातत्त्व विभागका प्रमुख हिमाल उप्रेतीसहित सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर