रामसहायलाई उपराष्ट्रपति बनाएर उपचुनावमार्फत संसद्‍मा छिर्ने उपेन्द्रको दाउ – Nepal Press

रामसहायलाई उपराष्ट्रपति बनाएर उपचुनावमार्फत संसद्‍मा छिर्ने उपेन्द्रको दाउ

चुनावअघि नै उपेन्द्रलाई एमालेले भनेको थियो– सप्तरी २ बाट जिताउन सक्दैनौँ, सप्तरी १ वा अरू क्षेत्र रोज्नुस्

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनमा आफ्नो पार्टीलाई उपराष्ट्रपति दाबी गरेका छन् । गठबन्धनको पहिलो घटक एमालेले राष्ट्रपति र दोस्रो घटक माओवादी केन्द्रले प्रधानमन्त्री पाएपछि जसपाले उपराष्ट्रपति दाबी गरेको हो ।

तेस्रो घटक रास्वपाले उपसभामुखमा दाबी गरेको छ । राजतन्त्रवादी पार्टी राप्रपाले उपराष्ट्रपति दाबी नगर्ने भएकाले उपेन्द्रले त्यसमा पदमा दाबी गर्नुको पछाडि उनको व्यक्तिगत स्वार्थ समेत लुकेको छ ।

प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि कमजोर बनेका यादव पुनः शक्तिमा आउन सांसद बन्न चाहन्छन् । त्यसका लागि उनले उपराष्ट्रपतिमा आफ्नो निकटस्थ पात्र राम सहाय यादवलाई पठाएर उपनिर्वाचनमा आफू उम्मेदवार बन्न चाहेका छन् ।

बारा २ बाट निर्वाचित यादवलाई उपेन्द्रले अशोक राई र राज किशोर यादवलाई पन्छाएर संसदीय दलको नेता बनाएका छन् । राम सहायलाई उपराष्ट्रपति बनाउन पाए सो क्षेत्रमा उपनिर्वाचनबाट आफू सांसद बन्न सकिने उनले देखेका छन् ।

हालै सम्पन्न निर्वाचनमा बारा २ बाट एमालेको समर्थनमा रामसहायले १३ हजार ८२२ मत पाएर जितेका थिए भने तत्कालीन गठबन्धनका माओवादी उम्मेदवार शिवचन्द्र कुशवाहले १३ हजार ४६८ मत पाएका थिए । स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ११ हजार ४३ मत पाएका थिए ।

उपेन्द्रले राम सहायलाई उपराष्ट्रपति बनाउने सन्दर्भमा संविधान समेत हेरिसकेको निकट नेताहरूले बताएका छन् । संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदाय जुन भए पनि हुने उल्लेख रहेकाले एमालेले पहाडे पुरुषलाई राष्ट्रपति उम्मेदवार बनाए पनि जसपाबाट मधेसी पुरुष उपराष्ट्रपति बन्न अवरोध हुने छैन ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निवाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने उल्लेख छ । सभामुख र उपसभामुख जस्तो फरक लिंगको प्रतिनिधित्व हुनुपर्ने बाध्यकारी व्यवस्था राष्ट्रपति र उपराष्ट्रपतिको हकमा छैन ।

त्यसो त एमालेले उपेन्द्रलाई सप्तरी २ बाट चुनाव नलड्न सुझाएका थियो । अध्यक्ष केपी शर्मा ओली,महासचिव शंकर पोखरेलगायतका नेताले सप्तरी २ मा एमालेको संगठन बलियो नभएकाले चुनाव जिताउने जिम्मा लिन नसकिने बताएका थिए ।

एमाले महासचिव पोखरेलले भने–हामीले उपेन्द्रजीलाई सप्तरी २ मा चुनाव जिताउन एमालेले जिम्मा लिन सक्दैन,हाम्रो संगठन कमजोर छ भनेका थियौँ । उहाँलाई सप्तरीमै लड्ने हो भने एमालेको बलियो जनाधार भएको क्षेत्र नम्बर १ मा लड्न वा नत्र सुनसरी वा मोरङ भनेका थियौँ । सप्तरी १ मा एमाले जसपा गठबन्धनले सहज जित निकाल्यो ।

एमाले सप्तरी २ मा कमजोर छ भन्ने कुरा समानुपातिकमा उसले पाएको मतबाट पनि पुष्टि हुन्छ । एमालेले सो क्षेत्रबाट समानुपातिकमा जम्मा १२ सय ४५ मत पाएको छ जुन देशभरकै सबैभन्दा कम हो । सो क्षेत्रमा उपेन्द्र यादव सिके राउतसँग दोब्बर बढी मतान्तरले पराजित भए ।

यादवलाई बारा २ बाट चुनाव लड्न सिफारिस पनि गरिएको थियो । अब उनी उपराष्ट्रपतिमा राम सहायलाई पठाएर उपचुनावमार्फत संसद्मा छिर्न खोजेको चर्चा जसपामा चलेको छ । उनले केही नेताहरूसँग यसबारेमा परामर्श पनि गरेका छन् ।

बारा २ मा समानुपातिक मतमा जसपा १३ हजार मतसहित पहिलो छ भने एमालेको पनि ९ हजारभन्दा बढी मत छ । सो क्षेत्रमा एमालेपछि जनमत पार्टीको मत छ ।


प्रतिक्रिया

One thought on “रामसहायलाई उपराष्ट्रपति बनाएर उपचुनावमार्फत संसद्‍मा छिर्ने उपेन्द्रको दाउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर