सुदूरपश्चिम प्रदेशसभा : आफ्नै नियम थाहा नपाउँदा एकै दिनमा फेरियो सभामुख निर्वाचन तालिका – Nepal Press

सुदूरपश्चिम प्रदेशसभा : आफ्नै नियम थाहा नपाउँदा एकै दिनमा फेरियो सभामुख निर्वाचन तालिका

कैलाली । आइतबार प्रदेश सभामा सर्वदलीय बैठक आह्वान गरिएको थियो । सोमबार दोस्रो कार्यकालको पहिलो बैठक सुरु हुनु भन्दा अघिल्लो दिन ज्येष्ठ सदस्य मानबहादुर रावलले सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा सभा व्यवस्थित बनाउने र सभामुखको निर्वाचनको मिति तय गर्ने भन्ने विषयमा छलफल भयो । करिब २ घण्टा चलेको बैठकले सुदूरपश्चिममा माघ २ गते सभामुखको निर्वाचन गर्ने निर्णय गर्यो ।

सर्वदलीय बैठक सम्पन्न भएलगत्तै सञ्चारकर्मीहरूलाई प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले माघ २ गते सभामुखको निर्वाचन गर्नेबारे दलहरू सहमत भएको जानकारी दिए । प्रदेश सभा सचिवालयका सचिव बोगटीको उक्त जानकारीको आधारमा सुदूरपश्चिम प्रदेशमा माघ २ गते सभामुख चयन हुने भन्दै समाचारहरू प्रकाशन र प्रसारण भए ।

अघिल्लो दिन माघ २ गते सभामुखको निर्वाचन गर्ने सहमति भएपनि अर्काे दिन पहिलो प्रदेश सभामा ज्येष्ठ सदस्य मानबहादुर रावलले यहि पुस २८ गते सभामुखको निर्वाचनको तयारी गर्न निर्देशन दिए । सर्वदलीय बैठक पनि ज्येष्ठ सदस्य रावलको अध्यक्षतामा बसेको थियो । उनी पनि माघ २ गते सभामुखको निर्वाचन गराउने विषयमा सहमत थिए । त्यसको अर्काे दिन किन सभामुख निर्वाचनको समय तालिका फेरियो त ?

नियमावलीबारे अनविज्ञता

संविधानको धारा १८२ मा प्रदेश सभाको सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था छ । उपधारमा १ मा भनिएको छ , ‘प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेश सभाका सदस्यहरूले आफू मध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने छन् ।’

संविधानको यहि दफा टेकेर माघ २ गते सभामुखको निर्वाचन गर्ने निर्णय सर्वदलीय बैठकले आइतबार गरेको थियो । १८ गते पहिलो बैठक बस्दै गरेको सुदूरपश्चिममा २ गते १५ दिन पुरा हुन्छ । संविधानले तोकेको अन्तिम दिन सभामुख चयन गर्ने भन्दै सर्वदलीय बैठकले निर्णय गर्दा उपसभामुखबारे भने निर्णय भएन ।

योभन्दा पनि महत्त्वपूर्ण कुरा त आइतबारको सर्वदलीय बैठकमा संविधानको धारा १८२ अनुसार सभामुखको निर्वाचन गर्न मिति तोकिदा प्रदेश सभा नियमावली ७ र ९ बारे जानकारी नै भएन ।

प्रदेश सभा नियमावली ७ मा सभामुखको निर्वाचन र ९ मा उपसभामुखको निर्वाचनबारे व्यवस्था छ । ७ मा सभामुखबारे आइतबारको सर्वदलीय बैठकको निर्णयले कुनै असर नपरे पनि ९ को उपसभामुखको निर्वाचनबारे आइतबारको सर्वदलीय बैठकले आफ्नै नियमावली कुल्चिने अवस्था सृजना हुँदा एकै दिनमा सभामुखको निर्वाचन मिति माघ २ गतेबाट पुस २८ गतेमा ल्याइएको हो ।

नियमावलीको धारा ९ को उपधारमा १ मा ‘उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने छ’ भन्ने उल्लेख छ । १५ दिन भित्र सभामुख चयन गरिसक्नु पर्ने र १५ दिन भित्रै सभामुखले उपसभामुखको लागि पनि निर्वाचन मिति र समय तोक्नु पर्ने हुँदा माघ २ गतेको ठाउँमा सुदूरपश्चिममा पुस २८ गते सभामुखको निर्वाचन हुन लागेको हो ।

प्रदेश सभा सचिवालयका सचिव पनि सभामुखको निर्वाचन कार्यपालिका अन्तिम अवस्थामा मात्रै हेरफेर गरिएको बताउँछन् । उनी भन्छन्, ‘हिजो माघ २ गते गर्ने कुरा भएको थियो तर, नियमावलीमा सभामुखको निर्वाचन पछि माघ २ भित्रै उपसभामुखको निर्वाचन पनि गरिसक्नु पर्ने व्यवस्था भएको हुँदा सभामुखको निर्वाचन पुस २८ गते तोकिएको छ ।’

अहिले सुदूरपश्चिममा पुस २८ गते सभामुखको निर्वाचन गरेर माघ २ गते उपसभामुखको निर्वाचन गर्ने तयारी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर