लुम्बिनीमा सभामुख र उपसभामुख चयन प्रक्रिया माघ ३ मा सुरु हुने – Nepal Press

लुम्बिनीमा सभामुख र उपसभामुख चयन प्रक्रिया माघ ३ मा सुरु हुने

रुपन्देही । लुम्बिनीमा प्रदेश सभामुख र उपसभामुख चयन प्रक्रिया माघ ३ गते सुरु हुने भएको छ ।

सोमबार प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालको अध्यक्षतामा अधिवेशनको पहिलो र दोस्रो बैठक बसेको थियो । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेशसभाका सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

ज्येष्ठ सदस्य भुसालले प्रदेशसभाको अबको बैठक माघ ३ गते बस्ने बताए । उनले भने, ‘त्यही दिन सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।’

सोमबार प्रदेशसभामा दोस्रो कार्यकालको पहिलो अधिवेशनको दुई बैठक भएका छन् । पहिलो बैठकमा प्रदेशसभाको बैठक आह्वानसम्बन्धी प्रदेश प्रमुख अमिक शेरचनले पठाएको पत्रको जानकारी गराइएको थियो । सो बैठकमा बोल्दै प्रदेश प्रमुख शेरचनले प्रदेशको नामकरण, स्थायी राजधानी तोकेर व्यवस्थापन गर्नेदेखि हालसम्म बनाएका ७२ कानून मुख्य उपलब्धि रहेको बताए ।

प्रदेश प्रमुखको धारणासहित पहिलो बैठक सकिएको थियो । सोमबार नै बसेको प्रदेशसभाको दोस्रो बैठकले ‘लुम्बिनी प्रदेशसभा नियमावली २०७९’ पारित गरेको छ ।

बैठकमा प्रदेशसभामा निर्वाचित भएका दलका नेताहरुले शुभकामना व्यक्त गर्दै आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए । अधिकांश वक्ताले प्रदेशप्रतिको वितृष्णा अन्त्य गर्नेमा ध्यान पुग्नुपर्ने र कानून निर्माणमा जोड दिनुपर्ने बताएका थिए ।

बैठकमा एमाले संसदीय दलका नेता लीला गिरीले प्रदेशसभाको पहिलो कार्यकालका उपलब्धिलाई संस्थागत गर्दै थप योजनाका साथ काम गर्ने बताए ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पहिलो कार्यकाल व्यवस्थापन र कानून निर्माणमै सकिएको भन्दै दोस्रो कार्यकाल चुनौतीपूर्ण रहेको बताए ।

माओवादी संसदीय दलका नेता जोखबहादुर महराले दोस्रो कार्यकालको प्रदेशसभा उच्च राजनीतिक संस्कारका साथ जनताका आशा, अपेक्षा पूरा गर्न सफल हुने विश्वास व्यक्त गरे ।

प्रदेशसभा बैठकमा राप्रपाका आशिषकुमार चौधरी, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाका सन्तोषकुमार पाण्डेय, जनमतका चन्द्रकेश गुप्ता, जसपाका भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीकी भगवती अधिकारी र राष्ट्रिय जनमोर्चाकी तारा थापाले बोलेका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा १० दलको उपस्थिति रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर