लुम्बिनीको संसद् अधिवेशन आजबाट सुरु, सरकार निर्माण प्रक्रियाको थालनी – Nepal Press

लुम्बिनीको संसद् अधिवेशन आजबाट सुरु, सरकार निर्माण प्रक्रियाको थालनी

सरकार बनाउने दल भन्दा विपक्षी दलमा नेता छान्न रस्साकस्सी

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा नवनिर्मित प्रदेश सभामा सांसदहरू आइतबार शपथ ग्रहण गरेसँगै आजदेखि अधिवेशन सुरु भएको छ । आज दिउसो १ बजेदेखि सदन बस्ने छ ।

सबै सांसदहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाएका छन् भने अब सभामुख र उपसभामुख छनौट नहुँदासम्म ज्येष्ठ सदस्यका हिसाबले एमालेका सांसद डिल्लीराज भुसालले अध्यक्षता गर्नेछन् । यसका लागि आइतबार नै प्रदेश प्रमुखले उनलाई जिम्मेवारी दिएका छन् ।

२०७७ असोज २० मा प्रदेशसभाले स्थायी राजधानी देउखुरी हुने निर्णय गरेको थियो । त्यसको २ वर्ष ३ महिनामा प्रदेश सरकारले प्रदेश सभा तयार गरेको हो । प्रदेश सरकारले यसअघि बुटवल मुकाममा रहेको मुख्यमन्त्रीसहितका अन्य केही मन्त्रालयसमेत यहाँ ल्याएर काम सुरु गरेसँगै देउखुरी राजनीतिक र प्रशासनिक केन्द्रमा परिणत भएको छ ।

प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले प्रदेश सभाका सबै कामसहित प्रदेश राजधानीका शासकीय काम सबै देउखुरीबाटै सुरु हुने बताए । प्रदेश सभामा १० दलको प्रतिनिधित्व भए पनि ८ दललाई संसदीय दलको कार्यालय उपलब्ध गराउनु पर्नेछ ।

प्रदेश सभामा १० दलबाट ८७ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । तीमध्ये आइतबार प्रदेश प्रमुख अमिक शेरचनबाट ८६ जनाले शपथ लिएका छन् । राप्रपाबाट समानुपातिकमा निर्वाचित बाँकेकी मिनाकुमारी श्रेष्ठ शपथग्रहण कार्यक्रममा अनुपस्थित भएकी छन् ।

आइतबार ९ जना सांसदले मातृभाषामा शपथ लिएका छन् । जनमत पार्टीका सुमन शर्मा रायमाझी, चन्द्रकेष गुप्ताले अवधि भाषामा शपथ लिए । जनता समाजवादीका भण्डारीलाल अहिर र आदेशकुमार अग्रवालले पनि अवधि भाषामा शपथ लिए ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैयालाल बनियाले पनि अवधि भाषामै शपथ लिए । यस्तै, नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी, धर्मबहादुर चौधरी, निर्मलादेवी थारु चौधरीले थारु भाषामा शपथ लिए । त्यसैगरी माओवादी केन्द्रकी कृष्णा कुश्मा थारुले पनि थारु भाषामा शपथ लिइन् ।

अहिले ६ वटा मन्त्रालयले देउखुरीमै काम सुरु गरिसकेका छन् भने अन्य मन्त्रालय र निर्देशनालयको संरचना निर्माण एवं मर्मत तीव्र रूपमा भइरहेको छ । राप्ती प्राविधिक शिक्षालयको १८ बिगाह जग्गा तथा यहाँ रहेका ४२ वटा भवन रहेको क्षेत्र प्रदेश सरकारले पाएपछि राजधानीलाई यहाँ व्यवस्थापन गरिएको हो । यहाँ रहेका भवन रंगरोगन तथा मर्मत गरी मन्त्रालय व्यवस्थापन भइरहेको छ ।

अहिले ६ वटा मन्त्रालयले देउखुरीमै काम सुरु गरिसकेका छन् भने अन्य मन्त्रालय र निर्देशनालयको संरचना निर्माण एवं मर्मत तीव्र रूपमा भइरहेको छ । राप्ती प्राविधिक शिक्षालयको १८ बिगाह जग्गा तथा यहाँ रहेका ४२ वटा भवन रहेको क्षेत्र प्रदेश सरकारले पाएपछि राजधानीलाई यहाँ व्यवस्थापन गरिएको हो । यहाँ रहेका भवन रंगरोगन तथा मर्मत गरी मन्त्रालय व्यवस्थापन भइरहेको छ ।

एमालेले छान्यो दलको नेता, कांग्रेसमा/माओवादीमा रस्साकस्सी

सत्तारुढ दल नेकपा एमालेले आइतबार नै दलको नेता सर्वसम्मत छानेपनि अर्को सत्तारुढ दल माओवादी र विपक्षी दल कांग्रेसका रस्साकस्सी चलेको छ ।

एमाले संसदीय दलको आइतबार बसेको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सह इन्चार्ज लीला गिरी सर्वसम्मत चयन भए। चार जना आकांक्षी रहे पनि नेतृत्वले सहजरुपमा उनीहरूको व्यवस्थापन गरेर मिलाएको छ ।

दलको नेता छनौट गर्न एमाले महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्माले बिहानैबाट आकांक्षीहरुलाई राखेर सहमति जुटाएका थिए । दलको उपनेतामा अर्घाखाँचीका चेतनारायण आचार्य चयन भएका छन् ।

गिरी रूपन्देही २ को १ बाट र आचार्य अर्घाखाँची १ बाट निर्वाचित हुन् । गिरी यसअघि प्रदेश सरकारमा वन, वातावरण तथा उद्योगमन्त्री र आचार्य आन्तरिक मामिला तथा कानूनमन्त्री थिए । ८७ सदस्यीय प्रदेश सभामा एमाले २९ सांसदसहित पहिलो दल रहेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा दलको नेता छनौट गर्न दुई खेमाबीच प्रतिस्पर्धा छ । कांग्रेसले दलको नेता चयनका लागि आइतबारदेखि नै चुनावी प्रक्रिया सुरु गरेको छ । संसदीय दलको नेता छनोटका लागि कांग्रेस प्रदेश समितिले खगराज पाण्डेको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो ।

समितिले सोमबारसम्म सहमति नभए निर्वाचनबाट टुंगो लगाउने गरी प्रक्रिया अघि बढाएको हो । कांग्रेसमा दाङका डिल्लीबहादुर चौधरी र रुपन्देहीका अब्दुल रज्जाकबीच संसदीय दलको नेतामा प्रतिस्पर्धा छ । यसअघि दाङका राजु खनाल र पाल्पाका वीरबहादुर राना पनि आकांक्षी थिए । तर, रानाले रज्जाकलाई समर्थन गरेका छन्, राजुले आफू आकांक्षी नभएको बताएका छन् । प्रदेश सरकारका मन्त्रीसमेत रहेका चौधरीले सहमतिको प्रयास भइरहेको र सोमबारसम्ममा नभए निर्वाचन प्रक्रियाबाटै टुंगो लाग्ने बताए । यसअघि संस्थापन समूहमा रहेका रज्जाक दलको नेता बन्न इतर समूहको साथ खोजेपछि संस्थापन समूहलाई चुनौती थपिएको हो । २७ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसमा संस्थापन समूहमा १५ र इतर समूहमा १२ सांसद रहेका छन् ।

सत्तारुढ माओवादीले पनि आइतबार दलको नेता चयन गर्न सकेन । माओवादीमा स्थायी कमिटी सदस्य रोल्पाका जोखबहादुर महरा निर्विरोधजस्तै भएपनि दाङबाट निर्वाचित सांसद इन्द्रजित चौधरीले अन्तिम समयमा आकांक्षा राखेपछि आइतबारको छनौट प्रक्रिया रोकिएको हो । माओवादीमा दलको नेता भन्दा पनि उपनेता, प्रमुख सचेतक र सचेतकमा को रहने भन्ने प्रतिस्पर्धा बढी रहेको छ । ९ सांसदसहित तेस्रो स्थानमा रहेको माओवादीबाट दलको नेतामा महरा र अन्य पदमा इन्द्रजित चौधरी, कृष्णा केसी, तुलबहादुर घर्ती आकांक्षी रहेपछि उनीहरूको व्यवस्थापन गर्नु पर्ने भएकाले सोमबार छलफल हुने माओवादीले जनाएको छ ।

प्रदेशमा १० दलको सहभागिता रहेकोमा अन्य दलले दलको नेता चयन गरिसकेका छन् । नयाँ सत्ता समीकरणमा रहेका एमाले र माओवादीले यहाँको नेतृत्वको दाबी गरेका छन् । एमालेले यहाँ पहिलो दल भएकाले मुख्यमन्त्री आफैले पाउनुपर्ने तर्क राख्दै आएको छ भने माओवादीले आफ्नो आधार इलाका भएको क्षेत्र भएकाले गठबन्धनबाट यहाँको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर