कांग्रेस सहमहामन्त्री परियार भन्छन्- प्रचण्डलाई प्रधानमन्त्री दिएर भएपनि गठबन्धन जोगाउनुपर्थ्यो – Nepal Press
नेपाल टक

कांग्रेस सहमहामन्त्री परियार भन्छन्- प्रचण्डलाई प्रधानमन्त्री दिएर भएपनि गठबन्धन जोगाउनुपर्थ्यो

‘गठबन्धन जोगाउनुपर्थ्याे, अप्रत्याशित घटनाको नैतिक जिम्मेवारी पार्टी सभापतिसहित उच्च नेतृत्वले लिनुपर्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ७ दलीय गठबन्धनको सरकार बनिसकेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै लिने अडान लिएपछि ५ दलीय वाम लोकतान्त्रिक गठबन्धन भत्किएर प्रचण्डको नेतृत्वमा ७ दलीय गठबन्धनको सरकार गठन भएको हो । प्रचण्डले एमालेसहित नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनेपछि तत्कालीन वाम लोकतान्त्रिक गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल बन्न पुगेको छ ।

माओवादी केन्द्रले कांग्रेसका कारणले तत्कालीन गठबन्धन टुटेको बताउँदै आएको छ । कांग्रेसले भने उल्टै माओवादीका कारण सत्ता गठबन्धन टुटेको बताउँदै आएको छ । गठबन्धन टुट्नुको मुख्य दोषी कांग्रेस नै हो त ? अब कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्छ ? लगायतका विषयमा नेपाल प्रेसकर्मी केशव भुलले नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारसँग गरेको कुराकानीको सम्पादित अंशः

– वाम लोकतान्त्रिक गठबन्धन टुटेपछि तत्कालीन गठबन्धनको पहिलो दल नेपाली कांग्रेस अहिले के गरिरहेको छ ?

वास्तवमा नेपाली कांग्रेसलगायत ५ दलीय गठबन्धनबाट स्थानीय तहको निर्वाचन मात्र होइन, पछिल्लो निर्वाचनमा समेत जनताको बीचमा एउटा प्रतिबद्धता व्यक्त गरेका थियौं । २०७४ सालमा भएको निर्वाचनपछि गठन भएको तत्कालीन नेकपाको सरकारले झण्डै दुईतिहाइ बहुमत ल्याएर पनि ५ वर्षसम्म सरकार सञ्चालन गर्न सकेन । जुन प्रतिबद्धता जनताको बीचमा व्यक्त गरेको थियो । त्यसैअनुसार काम पनि गर्न सकेन । दुई पटकसम्म संसद विघटन भयो । त्यसपछि नेकपाबाट विभाजित भएका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतका दलले नेपाली कांग्रेससँग सहकार्य गर्दै पछिल्ला निर्वाचनसम्म सहकार्य गर्दै आएको झण्डै डेढ वर्षभन्दा बढी भएको छ ।

नेपाली कांग्रेस र अरु गठबन्धन दलका बीचमा सरकार गठनका बारेमा जुन खालका छलफल भए र छलफलमा समझदारी बन्न सकेन भन्ने कुरा हामीले अहिले सुनेका छौं । हो, म नेपाली कांग्रेसको एक पदाधिकारी भएको हिसाबले यसको जिम्मेवारी त लिनुपर्ला ।

यस सन्दर्भमा नेपाली कांग्रेसलाई अहिले जनताले पहिलो पार्टीका रुपमा पनि स्थापित गरेका छन् । सरकार गठन गर्न कुनै पनि राजनीतिक दलको बहुमत नआइसकेपछि दुई वा दुईभन्दा बढी दल मिलेर गर्नुपर्ने एउटा संवैधानिक र कानूनी व्यवस्था छ । त्यसैबमोजिम नेपाली कांग्रेस र अरु गठबन्धन दलका बीचमा सरकार गठनका बारेमा जुन खालका छलफल भए र छलफलमा समझदारी बन्न सकेन भन्ने कुरा हामीले अहिले सुनेका छौं । हो, म नेपाली कांग्रेसको एक पदाधिकारी भएको हिसाबले यसको जिम्मेवारी त लिनुपर्ला ।

तर, यो सरकार गठनका बारेमा कहाँनिर विवाद भयो, के कारणले विवाद भयो र किन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धन छोडेर हिँड्नुभयो भन्नेबारेमा नढाटेर भन्ने हो भने हामी अनभिज्ञ नै छौं । व्यक्तिगत रुपमा भन्ने हो भने म आफैं पनि अनभिज्ञ छु । हामीले विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएका छौं कि ५ दलीय गठबन्धनमा माओवादीले नेपाली कांग्रेसको नेतृत्व अर्थात प्रधानमन्त्री स्वीकार गरेन र कांग्रेसले माओवादीलाई पहिलो चरणमा नै प्रधानमन्त्री पद दिन अस्वीकार ग¥यो । त्यसैले यो खालको परिस्थिति किन सिर्जना भयो, किन ५ दलीय गठबन्धन तोडेर माओवादी पार्टी बाहिरियो । यी सबै घटनाक्रमका बारेमा वार्तामा बसेका नेताका बीचमा के कारणले वार्ता भंग भयो वा सरकार गठनका बारेमा किन सहमति हुन सकेन भनेर हामीले यसको औपचारिक बैठकमा सबै जानकारी पाउने नै छौं ।

तर, जसरी अहिले विभिन्न सञ्चारमाध्यममा जुन कुरा आएका र सार्वजनिक भएका छन्, यसले के देखिन्छ भने हामीले ५ दलीय गठबन्धन जोगाउन सकेनौं र यो गठबन्धन फरक ढंगले अघि बढ्न थाल्यो । अहिले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ७ दलीय गठबन्धनको सरकार बनेको छ । तत्कालीन गठबन्धन टुट्नु भनेको जनतालाई हामीले गरेको प्रतिबद्धता, अझ विशेगरी माओवादीले ५ दलीय गठबन्धनसहितको सरकार बनाउने सहमतिमा बेइमानी गरेको छ, यसको विशेष समीक्षा गर्दै जानुपर्नेछ । हाम्रो पार्टीबाट भएका कमी कमजोरीका बारेमा पनि हामी औपचारिक बैठकमा सबै पक्ष र विषयवस्तुमा छलफल गर्छौं ।

– त्यसो भए अहिलेसम्म कुनै औपचारिक समीक्षा भएको छैन ?

पुस १० गते अगाडि केन्द्रीय कार्यसमिति बैठक पनि बसेन, पदाधिकारी बैठक पनि बसेन । गठबन्धन टुट्टुअघि पनि कुनै औपचारिक बैठक बसेको छैन र गठबन्धन टुटिसकेपछि पनि कुनै औपचारिक बैठक बसेको छैन । यतिमात्र नभएर के कारणले यस्तो अवस्था हुन पुग्यो भनेर औपचारिक सूचना पनि पाइएको छैन । बल्ल पुस २२ गते केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । सम्भवतः त्यसै बैठकमा हामीले सबै कुरा सुन्नेछौं र हामीले आफ्नो धारणा राख्नुपर्नेछ ।

हाम्रो पार्टीबाट भएका कमी कमजोरीका बारेमा पनि हामी औपचारिक बैठकमा सबै पक्ष र विषयवस्तुमा छलफल गर्छौं ।

– केहि दिनअघि शेखर–गगन पक्षको बैठक बसेको थियो । तपाईं पनि त्यसै पक्षमा भएकाले के छलफल भयो उक्त बैठकमा ?

केही दिनअघि डा.शेखर कोइरालाले केही नेतासँग छलफल र परामर्श गर्नुभएको थियो । डा.शेखर कोइरालाले गठबन्धन टुटिसकेपछि एउटा विज्ञप्ति पनि जारी गरिसक्नुभएको छ । औपचारिक रुपमा बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका केही नेता बसेर ५ दलीय गठबन्धनसँग छलफल गर्नुभएको थियो र त्यसबाट निष्कर्ष निकाल्न नसकेको घटनाको यथार्थ कुरा उहाँहरुबाट सुन्न बाँकी नै छ ।

तथापि यो घटनाले आम नेपाली जनता र नेपाली कांग्रेसका आम कार्यकर्ता सन्तुष्ट छैनन् । यसका बारेमा सामाजिक सञ्जालमा पनि विभिन्न क्रिया प्रतिक्रिया देखिरहेका छौं । त्यसैले यो जुन घटनाक्रम अस्वाभाविक र अप्रत्याशित किसिमले भयो र जुन ५ दलीय गठबन्धन टुटेको छ । यसमा कोही पनि खुशी छैनन् ।

आगामी केन्द्रीय कार्यसमिति बैठकमा जुन गम्भीर किसिमको त्रुटि र कमजोरी के कति कारणले नेतृत्वबाट भयो, यसको नैतिक जिम्मेवारी पनि स्वयं नेतृत्वले लिनुपर्छ भन्ने खालको छलफल हुनुपर्छ भन्ने सुझाव प्राप्त भएका छन् । यहीअनुसार केन्द्रीय कार्यसमिति बैठकमा सामूहिक रुपमै छलफल गरेर अगाडि बढ्ने कुरा भइरहेको छ ।

– शेखर–गगन पक्षको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाको राजीनामा नै माग्ने भन्ने निष्कर्ष निकालिएको भन्ने पनि सुनिएको छ नि, के साँचो हो ?

हाम्रो छलफलमा सभापतिको राजीनामा अथवा विशेष महाधिवेशनको कुरा आएको छैन । तर, जुन घटना भयो यसका बारेमा गम्भीर रुपमा समीक्षा गर्नुपर्छ र यसको जिम्मेवारी पनि नेतृत्वले नै लिनुपर्छ भन्नेसम्मको कुरा भएको छ । अहिले त्यस्तो राजीनामा नै माग्ने भन्ने कुरा औपचारिक रुपमा उठेको छैन ।

– यसअघि २ वर्ष प्रतिपक्षमा बस्दा यहाँहरुको भूमिका प्रभावकारी थिएन । अब कसरी प्रतिपक्षको भूमिका प्रभावकारी बनाउनुहुन्छ ?

नेपाली कांग्रेसले अहिले संसदमा प्रमुख प्रतिपक्ष दलको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । हामीले जनताको पक्षमा सरकारले गरेका कमि-कमजोरी औल्याउँदै लोकतान्त्रिक व्यवस्थाबमोजिम संसदीय शासन प्रणालीको परिधिभित्र रहेर आवाज बुलन्द गर्नेछौं ।

पुस १० गते अगाडि केन्द्रीय कार्यसमिति बैठक पनि बसेन, पदाधिकारी बैठक पनि बसेन । गठबन्धन टुट्टुअघि पनि कुनै औपचारिक बैठक बसेको छैन र गठबन्धन टुटिसकेपछि पनि कुनै औपचारिक बैठक बसेको छैन ।

– गठबन्धन टुटिसकेपछि तत्कालीन सहयात्री दलहरुसँग छलफल भएको छ कि छैन ?

कतिपय साथीहरुसँग अनौपचारिक रुपमा हुने भेटघाट छलफल त भइरहेकै छ । तर, गठबन्धन टुटिसकेपछि नेतृत्व तहबाट छलफल र भेटघाट भएको भन्ने अहिलेसम्म मलाई जानकारी छैन ।

– अधिकांशले गठबन्धन टुट्नुको प्रमुख दोषी नेपाली कांग्रेसलाई मानेको छ । कांग्रेस मुख्य दोषी नै हो त ?

होइन, अब यो ५ दलीय गठबन्धन छोडेर हिँडेको दल भनेको माओवादी नै हो । त्यो दल त मुख्य दोषी हुने नै भयो । त्यो दलले बीचैमा छोडेर किन गयो भन्ने बारेमा उक्त पार्टीले पनि नैतिक जिम्मेवारी लिनुपर्ला । सँगसँगै ५ दलीय गठबन्धनको पहिलो राजनीतिक घटक भनेको नेपाली कांग्रेस नै हो । नेपाली कांग्रेसको नेतृत्व पनि जसरी ५ दलीय गठबन्धनलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने थियो, त्यसरी गर्न नसक्नु अर्को कमजोरी हो । त्यसैकारणले गर्दा आ-आफ्नो ठाउँबाट सबैले जिम्मेवारी लिनुपर्छ ।

विशेषगरी हामीले अरु दललाई दोषारोपण गर्नुभन्दा पनि पार्टीभित्र नेपाली कांग्रेसकै नेतृत्व र गठबन्धनमा छलफल र अन्तिमसम्म वार्तामा बसेका नेताबाट औपचारिक कुरा नआएसम्म अहिले नै सबै कुरामा टीका–टिप्पणी गर्नु उपयुक्त नहोला । आगामी पुस २२ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा समग्र विषयमा छलफल गरेर एउटा साझा धारणा बनाउनेछौं ।

– पहिले प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउने सहमति गर्ने अनि निर्वाचनपछि बनाउन सकिँदैन भन्नु त कांग्रेसको राजनैतिक बेइमानी भएन र ?

हामीले बाहिरबाट बालुवाटारमा छलफल र बैठकमा बस्ने कतिपय नेताको कुरा सुन्दा बैठकमा फरक-फरक कुराकानी र छलफल भयो र फरक-फरक धारणा आयो भन्ने सुनेका छौं । त्यसैले प्रधानमन्त्री पद पहिलो पार्टीले पाउनुपर्छ भन्ने कुरा अस्वाभाविक थिएन । तथापि ५ दलीय गठबन्धनमा आपसी कुरा नमिलिसकेपछि प्रधानमन्त्री पनि आलोपालो गर्ने भन्ने कुरा चलेको हो । त्यसैकारण पहिलो चरणमा प्रधानमन्त्री पद कांग्रेसले लिने कि माओवादीले लिने भन्ने विषयमा कुरा नमिलेको भन्ने हामीले बुझेका छौं । यदि ५ दलीय गठबन्धनका नेताका बीचमा पहिलो चरणमा कांग्रेसलाई प्रधानमन्त्री नदिने हो भने अवश्य पनि राष्ट्रपति, सभामुखलगायतका पद त पाउने नै थियौं ।

त्यसैले गठबन्धन जुनसुकै हालतमा पनि टुट्नुहुँदैन थियो । चाहे प्रधानमन्त्री पहिलो दल कांग्रेसले पाओस् वा दोस्रो दल माओवादीले । त्यसैकारण गठबन्धन नटुटाएर विगतको अभ्यास जस्तै आलोपालो प्रधानमन्त्री पद बाँडेर जाने सहमति गर्न सक्नुपर्थ्यो । त्यसो गरेको भए गठबन्धन टुट्ने थिएन भन्ने आम कार्यकर्ता र नेताको बुझाइ छ । यसरी नै जानुपर्थ्यो भन्ने कुरा आज सबैले भनिरहेकै छन् । त्यो बाटो जान नसक्नु भनेको वास्तवमा राम्रो परिणाम होइन र अवस्था पनि होइन भन्नेबारेमा हामी सबैको आम धारणा बनिसकेको छ ।

यदि ५ दलीय गठबन्धनका नेताका बीचमा पहिलो चरणमा कांग्रेसलाई प्रधानमन्त्री नदिने हो भने अवश्य पनि राष्ट्रपति, सभामुखलगायतका पद त पाउने नै थियौं । त्यसैले गठबन्धन जुनसुकै हालतमा पनि टुट्नुहुँदैन थियो ।

– सत्ता गठबन्धन टुटाएर नयाँ गठबन्धन निर्माणमा विदेशी शक्तिको चलखेल पनि छ भनिन्छ । साँच्चिकै विदेशी शक्तिको चलखेलले गठबन्धन टुटेको हो त ?

मलाई जानकारी छैन कि देशी विदेशी शक्तिको चाहना के थियो, इच्छा के थियो अथवा गठबन्धन भत्काउनु थियो वा जुटाउनु थियो भन्नेबारेमा । अघि तपाईंले गरेको प्रश्नमा विगतमा कांग्रेस र माओवादीका बीचमा निर्वाचनपछि पहिलो चरणमा माओवादीलाई प्रधानमन्त्री दिने भन्ने सहमति भएकोबारेमा पनि हामीलाई जानकारी छैन । यसमा कांग्रेस सभापति र माओवादी अध्यक्षका बीचमा गोप्य सहमति भएको भए हामीलाई जानकारी भएन ।

तर, अहिलेको वर्तमान राजनीतिक परिस्थितिमा यदि कांग्रेसलाई पहिलो पटक प्रधानमन्त्री अस्वीकार गर्ने अवस्था सृजना भएको थियो भने पहिलो चरणमा माओवादी पार्टीलाई नै प्रधानमन्त्री स्वीकार गरेर हामीले राष्ट्रपति, सभामुखलगायतका पद लिएर आगामी २ वर्षपछि नेपाली कांग्रेसकै नेतृत्वमा सरकारमा जाने कुराले हामी ७ वटै प्रदेशमा सरकार बनाउन सम्भव थियो । संघीय सरकार पनि गठबन्धनकै नेतृत्वमा बन्न सम्भव थियो । त्यसैकारण यी सबै गुमेका कारण आज जुन खालको परिस्थिति सृजना भएको छ । यसमा विशेष जिम्मेवारी दुई नेताले नै लिनुपर्छ भन्ने कुरा हामीले गर्न खोजेका हौं ।

– अन्तमा, अहिले नयाँ गठबन्धनको सरकार र यसको भविष्य कस्तो देख्नुभएको छ ?

नेपालको संविधानबमोजिम दुई वा दुईभन्दा बढी दलले बहुमत प्राप्त नगरेर प्रधानमन्त्री बन्ने अवस्था थिएन । अहिले माओवादी अध्यक्ष प्रचण्ड ७ दलीय गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएको छ । उहाँ ५ दलीय गठबन्धन फुटाएर ७ दलीय गठबन्धनमा पुग्नुभएको छ । आगामी दिनमा यो सरकारको आयु कति छ अथवा यो सरकार कहिलेसम्म जान्छ भन्ने कुरा अहिले नै अनुमान गर्न सकिने अवस्था छैन । हाम्रो शुभकामना के छ भने, सरकार गठन हुनुपथ्र्यो, भएको छ । यो मुख्य कुरा आफ्नो दलीय भागबन्डाभन्दा मुलुक र जनताको पक्षमा काम गर्ने गरी अघि बढोस् । हामीले पनि प्रमुख प्रतिपक्षको भूमिका त्यसै ढंगले नेपाली जनता र देशका पक्षमा कुरा गर्ने र आवाज उठाउने छौं । त्यसैकारण सरकार कहिलेसम्म जान्छ वा जाँदैन भन्नेबारेमा अहिल्यै टिप्पणी गर्नुपर्छ भन्ने लाग्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर