सिड्नीको नयाँ वर्ष र भीगन खानाप्रतिको बढ्दो रुचि – Nepal Press
ब्लग

सिड्नीको नयाँ वर्ष र भीगन खानाप्रतिको बढ्दो रुचि

अंग्रेजी नयाँ वर्ष मेरो लागि त्यति धेरै रुचिको विषय त थिएन । तर, यो पटक अष्ट्रेलियाको सिड्नीमा रहेकाले यससँग भव्य परिचित हुने मौका मिल्यो । छोरी रीजन र ज्वाइँ सुशील शर्मासँग एक हप्तादेखि हामी श्रीमान्श्रीमती सँगै थियौं । भोलिपल्ट बिहानै तास्वानियास्थित छोरा राजेश र बुहारी शुष्मासँग जाने भएकाले राति बसेर निद्रा नबिगारौं कि भन्ने विचारमा थिएँ । दिउँसो नेपालमा अनलाइनमा कुरा हुँदै गर्दा भाइ नारायण घिमिरेले त्यो अवसर गुमाउनै नहुने आशय प्रकट गरे । यता ज्वाइँ पनि यही कुरा गर्दै हुनुहुन्थ्यो ।

नेपालबाट आएका नरेन्द्र पाण्डे पनि यही अवसरको प्रयोग गर्न केही दिन सिड्नीमै बसेको कुरा गर्दै थिए । यी सबै कारणले हामीहरु पनि जाने अवस्थामा पुग्यौं । सिड्नीको नयाँ वर्ष अलि प्रख्यात नै रहेछ । यसको एउटा कारण अन्यत्रभन्दा अलि पहिला समय हुनु पनि रहेछ । अमेरिकाभन्दा १२-१४ घण्टा छिटो हुनुको कारण संसारभरमै पहिलो उत्सव सिड्नीमा हुने रहेछ । अर्थात् सन् २०२३ लाई स्वागत गर्न विश्वभरका मानिसहरू आतुर हुने रहेछन् ।

उत्सवको पूर्वसन्ध्यामा हुने मुख्य आकर्षण आतिसबाजी हो । यसलाई विश्वको सर्वश्रेष्ठ आतिशबाजी भनिँदोरहेछ । यसका लागि भव्य तयारी गरिने रहेछ । यससम्बन्धी समाचारहरु पहिलेबाटै प्रकाशित भएका थिए । जसमा भनिएको थियो- विश्वका अन्य विकसित मुलुक जस्तै भव्य आतिसबाजीका साथ अष्ट्रेलियाले नयाँ वर्षलाई स्वागत गर्ने तयारी थालिएको छ ।

सिटी अफ सिड्नीका मुख्य कार्यक्रमहरूमा निर्माताको भूमिका निर्वाह गर्ने स्टेफेन गिल्बीले नयाँ वर्षको कार्यक्रमलाई आकर्षक बनाउन दिनरात खटिरहेको कुरा पनि समाचारका विषय बनिरहेका थिए । गिल्बी २५ वर्षदेखि यो काममा लागेका रहेछन् ।

सिड्नीको नयाँ वर्ष अलि प्रख्यात नै रहेछ । यसको एउटा कारण अन्यत्रभन्दा अलि पहिला समय हुनु पनि रहेछ । अमेरिकाभन्दा १२-१४ घण्टा छिटो हुनुको कारण संसारभरमै पहिलो उत्सव सिड्नीमा हुने रहेछ ।

बिहान ४ बजे उठेर तास्वानियाको तयारी गर्नुपर्ने भएकाले खाना खाएर ९ बजेतिर हामीहरु हार्बर ब्रिजतिर लाग्यौं । सिड्नीको विशेषता भनेको ८ बजेसम्म घाम लागेको हुन्छ । विगत २ वर्षदेखि कोभिडले यस्ता पर्वहरु मनाउन सकिएको थिएन । त्यसैले पनि यो पटक विशेष ध्यान गएको थियो । आतिसबाजी हेर्न शुल्क र निःशुल्क दुवै व्यवस्था हुनेरहेछ ।

ओपेरा हाउस र हार्बर ब्रिज क्षेत्र पूरै रंगीन हुने यो पर्वमा प्रायः सबैजना उन्मत्त भएर हिँडडुल गर्दा रहेछन् । धेरैतिर दुई किलोमिटर क्षेत्रमा गाडी लैजान दिइएको थिएन । हामीहरु पनि कार अलि टाढै पार्किङ गरेर मज्जाले हिँडेर देख्न मिल्ने ठाउँतिर गयौं । सडकमा जाँदै गर्दा युवायुवतीहरु मस्त देखिन्थे, बीचबीचमा बियर खाँदै नाचगान गरेका थिए । हल्ला गरेका थिए । मानिसको खचाखच थियो । एउटै क्षेत्रमा त लाखौंको हाराहारीमा मान्छे देखिन्थे भने सबै क्षेत्रमा कति हुँदा हुन् ? पछि थाहा भयो, आयोजकहरुले १० लाखभन्दा बढी मानिस आउने अनुमान गरेका रहेछन् ।

जब राति १२ बज्यो । लाखौं पटाकाले नयाँ वर्षको पूर्वसन्ध्यामा सिड्नीलाई उज्यालो बनायो । दुवै स्थान बन्दरगाहको किनारमा रहेकाले क्रुजमा बसेर आनन्द लिनेहरु पनि थिए । टिकट लिनेहरुले लिएर नलिनेले नलिइकनै पनि आतिसबाजी हेर्न र देख्न पाउँथे । नयाँ वर्षको पूर्वसन्ध्यामा बेलुकी ९ बजे र मध्यरात १२ बजे आतिसबाजी गरिँदोरहेछ ।

गत वर्ष भिक्टोरियामा आतिसबाजीका दौरान १७ जना मानिस घाइते भएकाले यो पटक सुरक्षाको विशेष प्रवन्ध मिलाइएको थियो । आतिसबाजी पड्काउँदा पशुपंक्षीहरुलाई सुरक्षित राख्नुपर्ने विषयमा ख्याल गरिँदोरहेछ । किनकि जोडसँग निस्केको आवाजले पालेका जनावर बाहिर निस्कन सक्ने र त्यस्तो समयमा सबै कुरा बन्द रहने भएकोले आकस्मिक उपचारका लागि बाहिर लैजानुपर्ने अवस्था आउन सक्थ्यो ।

यी नै सम्भावनालाई मध्यनजर गर्दै यस अवसरमा अग्नि नियन्त्रक सेवाहरू सञ्चालन गरिनेरहेछ । कन्ट्री फायर सर्भिस (सीएफएस) का अनुसार अग्नि नियन्त्रकहरूले क्रिसमसदेखि नै थुप्रै ठूला घाँसमा लागेको डढेलोको सामना गरिरहेका थिए । आतिसबाजीले फेरि डढेलो सुरु हुने सम्भावना बढाउँथ्यो र यसले समुदायहरूलाई नै जोखिममा लैजान्थ्यो ।

स्थानीय व्यक्तिहरुका अनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा सिड्नी हार्बर वरपरका ठाउँहरूमा बिहान सबेरैदेखि मानिसहरु आउन थालेका थिए । ओपेरा हाउसको वरपर बिहान १० बजे नै पूर्ण क्षमतामा मानिस आइपुगेका थिए । यो ठाउँमा चीन, अमेरिका, संयुक्त अधिराज्य, जापान, मलेसियालगायतका धेरै ठाउँबाट नयाँ वर्ष मनाउन आउँदा रहेछन् ।

सिटी अफ सिड्नीका मुख्य कार्यक्रमहरूमा निर्माताको भूमिका निर्वाह गर्ने स्टेफेन गिल्बीले नयाँ वर्षको कार्यक्रमलाई आकर्षक बनाउन दिनरात खटिरहेको कुरा पनि समाचारका विषय बनिरहेका थिए । गिल्बी २५ वर्षदेखि यो काममा लागेका रहेछन् ।

नयाँ वर्षमा भीगन हुने इच्छा

नयाँ वर्षको सुरुसँगै धेरैले आफूमा केही सुधार ल्याउन, केही परिवर्तन गर्न खोज्ने रहेछन् । यसअन्तर्गत धेरैले शारीरिक व्यायाम, योगा, आफ्नो शरीरको तौल घटाउने जस्ता कुराहरूमा ध्यान दिने गर्दा रहेछन् ।

यो पटक यस अवसरमा जनावरविरुद्ध हिंसा कम गर्न र वातावरणको संरक्षणको लागि कम्तीमा जनवरी महिनाभर शुद्ध शाकाहारी बस्न यस सम्बन्धका अभियानकर्ताहरुले अपिल गरेका छन् । उनीहरुले भीगन खानाको स्वाद लिन र यसलाई अपनाउन आग्रह गरेका छन् । भीगन खानामा माछा, मासु र अण्डामात्र नभएर दूधका परिकार पनि वर्जित छन् ।

भीगन खाना अहिले धेरै ठाउँहरूमा सजिलै उपलब्ध हुने अवस्था रहेछ । यस खानाले आफ्नो शरीरलाई नबिगार्ने त छँदैछ, जनावरहरूमाथिको हिंसामा पनि कमी ल्याउँछ भनी भीगन खानाका प्रचारकहरूले भन्छन् । भीगन खानाले कसैप्रति पनि भेदभाव राख्दैन र जनावर र वातावरणको हित र संरक्षण गर्छ ।

नेपालमा शाकाहारी हुनेको संख्या दिनहुँ बढेको देखिँदा यता भने भीगनको संख्या बढ्न थालेको छ । यसको मुख्य कारण जनावरहरूमाथि हुने हिंसालाई लिएर नै अहिले धेरै मानिसहरू भीगन हुँदै गएको पछिल्ला सर्वेक्षणहरूले देखाएका छन् । अष्ट्रेलियाकै कुरा गर्ने हो भने अहिले यहाँ भीगनहरुको संख्या निकै बढ्दै गएको छ । यसरी भीगन हुने संख्याको दर तेस्रो स्थानमा रहेको छ ।

सिड्नी शहरको मुख्य बजारको छेउमै भीगन रेस्टुरेन्टहरू छन् भन्ने कुरा मैले समाचारहरुबाट थाहा पाएँ । जनवरी महिनामा भीगन खानामात्र खाने बानी बसाल्ने प्रयास संयुक्त अधिराज्यबाट सुरु भएको रहेछ । यसअन्तर्गत जनवरी महिनामा यी नै शुद्ध शाकाहारी खाना बनाउने विधि र यसका फाइदाहरूको बारेमा व्यापक प्रचार गरिन्छ ।

तर, यसरी खाइने शाकाहारी खानामा शरीरलाई चाहिने सबै पोषक तत्वहरू नहुन सक्ने शङ्का भने धेरैले गर्दै आएका छन् । डाइटिशियनका अनुसार भीगन खाना सुरु गर्नुअघि यसले पौष्टिक आवश्यकतालाई कत्तिको पूरा गर्छ, त्यसमा ध्यान दिन आवश्यक हुन्छ । ओमेगा थ्री र भिटामिन बी १२ जस्ता पोषक तत्वहरू शाकाहारी खानामा नहुने बताइन्छ ।

अर्कोतिर भीगनमात्र खानाले शरीरमा सोडियमको मात्रा बढ्ने र यसले शरीरलाई दीर्घकालीन रूपमा हानी गर्न सक्ने खतरा रहेको पनि बताइन्छ । भीगन खानाको मात्रा बढाउने हो भने यस्ता विषयतर्फ ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । जनवरी महिनाभर भीगन खानामात्र खाने ३ लाख अष्ट्रेलियालीहरूले प्रतिबद्धता व्यक्त गरेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर