माओवादीभित्र सर्वस्वीकार्य बन्दै दौरा सुरुवाल, प्रचण्डले लगाउँदा भारतीय मिडियामा समेत चर्चा – Nepal Press

माओवादीभित्र सर्वस्वीकार्य बन्दै दौरा सुरुवाल, प्रचण्डले लगाउँदा भारतीय मिडियामा समेत चर्चा

काठमाडौं । तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल लगाएर शपथ ग्रहण गरे । यो कुनै ठूलो समाचार होइन । तर, अर्थपूर्ण अवश्य हो । त्यसैले त यसले जनमानसमा राम्रै चर्चा पायो ।

नेपालमा एकथरिले दौरा सुरुवाल र टोपीलाई राष्ट्रियताको एउटा विम्ब मान्ने गर्छन् भने अर्काथरिले ‘पहाडे राष्ट्रवाद’ को प्रतीक । माओवादी पार्टी र प्रचण्ड दोस्रो कित्तामा थिए । तर, एकपछि अर्को गर्दै माओवादी नेताहरुले दौरा सुरुवाललाई स्वीकार्दै जाँदा प्रचण्डले के गर्लान् भन्ने जिज्ञासा थियो । अन्ततः उनी पनि एक्लो वृहस्पति बन्न सकेनन् ।

यसपटकको शपथग्रहणमा के पोशाक लगाउने भन्नेमा प्रचण्ड केही अन्योलमा परेका थिए । स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई दौरा सुरुवालमा शपथ खान सुझाव दिएका थिए । परिवारजन तथा पार्टी पंक्ति पनि दौरा सुरुवालकै पक्षमा देखिए । अघिल्ला दुईपटक टाई, सुट र टोपी लगाउँदा सामाजिक सञ्जालमा खेप्नुपरेको आलोचना उनीहरुले सम्झाए । अन्ततः प्रचण्डले स्वीकार गरे ।

क्रान्तिको उन्मादमा रहँदा परम्परा र संस्कृति भन्नासाथ धारेहात लगाउने माओवादी नेतृत्व पछिल्लो समयसम्म आइपुग्दा धेरै ‘एडजस्ट’ भइसकेको छ । अहिले कथित बुर्जुवा पार्टीहरुसँग माओवादीको खासै ठूलो वैचारिक अन्तर पनि छैन । दौरा सुरुवाल नलगाउनु उनीहरुको एउटा आडम्बर थियो, जसबाट बाहिर निस्किन लामो समय लाग्यो ।

शीर्ष पदमा पुगेका बहालवाला र पूर्वमाओवादी नेताहरुले क्रमशः दौरा सुरुवाल अवतार ग्रहण गर्न थालेका थिए । यो अवतारको ओपनिङ माओवादीको सत्ता यात्राबाटै भएको थियो । सबैभन्दा पहिले २०६७ सालमा टोपबहादुर रायमाझीले झलनाथ खनाल क्याबिनेटमा पुग्दा दौरा सुरुवाल लाए । माओवादी शान्ति प्रक्रियामा आएको चार वर्षभित्रै दौरा सुरुवाल लाएका रायमाझी अहिले माओवादीबाट अगल भएर एमालेमा छन् ।

रायमाझीले दौरा सुरुवाल भिरेको पाँच वर्षपछि २०७२ मा उपराष्ट्रपति हुँदा नन्दकिशोर पुनले दौरा सुरुवाल लाए । त्यसको दुई वर्षपछि २०७४ मा सभामुख हुँदा कृष्णबहादुर महरा तथा २०७६ मा सभामुख हुँदा अग्नि सापकोटाले पनि त्यही लय समाते । २०७५ मा मध्यपहाडी यात्राका क्रममा ‘पहाडे राष्ट्रवाद’ भनेर आफैंले आरोप लगाएको पोशाकमा पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराई ठाँटिएका थिए ।

माओवादी स्कुलबाट एकपछि अर्को नेता दौरा सुरुवाल अवतारमा आउँदा सबैभन्दा पछिल्लो लहरमा प्रचण्ड मिसिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीको शपथ खाँदा उनी दौरा सुरुवालमा देखिए । प्रचण्डको दौरा सुरुवाल अवतारको नेपाली मिडिया र मास मिडिया दुवैमा व्यापक चर्चा भएको छ । चर्चाको लहरो नेपालमा मात्रै छैन । भारतीय मिडियामा समेत पाइएको छ ।

प्रचण्डले शपथ खाएकै दिन भारतको प्रसिद्ध अंग्रेजी अखबार ‘द हिन्दू’मा प्रचण्डको दौरा सुरुवाल अवतारको चर्चा गरिएको छ । भारतका चिनिएका लेखकसमेत रहेका कलोल भट्टाचेर्जीले एक लामो आलेख लेख्दै प्रचण्डको दौरा सुरुवालको प्रसंग जोडेका छन् । दक्षिण एसिया मामिलामा राम्रो चासो राख्ने तथा ‘द ग्रेट गेम इन अफगानिस्तान’ पुस्तकका लेखक भट्टाचेर्जीले दौरा सुरुवालमा प्रचण्ड ठाँटिनुलाई उनको राजनीतिकसँगै वैचारिक विकासक्रमको रुपमा चर्चा गरेका छन् ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्रीबाट बिदा भएका देउवा जस्तै प्रचण्डले पनि दौरा सुरुवालमा उपस्थिति जनाएको प्रसंग ल्याउँदै भट्टाचेर्जीले नेपालको परम्परागत सत्ताधारीहरुको पोशाकको रुपमा मानिने दौरा सुरुवाल पहिले प्रचण्डले अस्वीकार गर्दै पश्चिमा कोट लगाएको तर अहिले वैचारिक यात्राको विकासको रुपमा हेरिएको दौरा सुरुवाल लगाएको उनको तर्क छ । दौरा सुरुवालमा सजिएर शपथ खाएको तथा राजावादी शक्तिसँगको गठबन्धन सरकारमा सहभागी भएर प्रचण्डले अब माओवादी विचारधारासँग नबाँधिएको वैचारिक सन्देश दिन खोजेको भट्टाचेर्जीले लेखेका छन् ।

माओवादी भूमिगत कालमा धेरै समय भारतमा बसेको भन्दै भट्टाचेर्जीले ‘प्रचण्डको भारतसँग पुरानो मित्रता’ भएको लेखेका छन् ।

घरी एमाले त घरी कांग्रेससँग मिल्न प्रचण्डलाई कुनै सकस हुन्न । उनी कुनै न कुनै तर्क सारेर सहकार्य गर्न माहिर छन् । एमालेसँग मिल्नुपर्ने दिन ‘वाम एकता’ वा ‘वाम सहकार्य’ र कांग्रेससँग मिल्नुपर्दा ‘शान्ति प्रक्रियाका दुई साझेदारको एकता’ जस्ता तर्क उनी गर्छन् । पछिल्लो चुनावी अभियानहरुमा त ‘प्रतिगमन परास्त गर्न’ र ‘संविधान जोगाउन’ उनले एमालेविरुद्धको मोर्चाबन्दीमा सक्रियता देखाए ।

गएको चुनावमा सत्ताधारी गठबन्धनमा शेरबहादुर देउवासँगको कार्यक्रममा प्रचण्डले ‘जय नेपाल’ भन्न भ्याए । ताप्लेजुङ पुगेर त शान्ति प्रक्रियामा आउँदा गिरिजाप्रसाद कोइरालाले आफूतिर हेरेर ‘लाल सलाम’ र आफूले गिरिजाप्रसाद कोइरालातिर हेरेर ‘जय नेपाल’ भनेको कथासम्म भने । तर, नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरुलाई त्यो स्तरको चुनावी भावुकता देखाएका प्रचण्डले चुनावलगत्तै एमालेसँग मिलेर आफ्नो नेतृत्वमा सरकार बनाउँदै सबै प्रदेशहरुमा कांग्रेस सत्ता निल बनाउन नेतृत्व गरे ।

समय-समयमा फेरबदल हुने वा आफैंले गलत भनेको कुरा आफैं उपयोग गर्न प्रचण्डले धेरै अगाडिदेखि गर्दै आएका छन् । आलोचकहरु यसलाई प्रचण्डको ‘अस्थिरता’ भन्छन् भने प्रचण्डका समर्थकहरुले भने ‘डाइनामिक’ वा ‘गतिशील’ भन्दै प्रतिरक्षा गर्दै आएका छन् । त्यस्ता गतिविधिलाई उनले कुनै न कुनै तर्क ल्याएर रक्षा गर्दै आएका छन् ।

२०६३ असारमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा भूमिगत सशस्त्र विद्रोही नेताको अध्यक्षको रुपमा छिरेको १६ वर्षछि प्रचण्ड बालुवाटारमा प्रवेश गर्दा दौरा सुरुवालमा सजिएर पुगे । माओवादी पार्टीलाई सशस्त्र भूमिगत दलबाट शान्ति प्रक्रियामार्फत राजनीतिको मूलधारमा ल्याउन १० वर्ष लगाएका प्रचण्डले प्रधानमन्त्रीको रुपमा दौरा सुरुवालमा ठाँटिएर सार्वजनिक रुपमा देखिन १६ वर्ष लगाए ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याएका प्रचण्डले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता आदिको लागि शान्ति प्रक्रिया हुँदै मूलधारको राजनीतिमा आएको तर्क गर्दै आएका छन् । भूमिगत कालको १० वर्षदेखि शान्ति प्रक्रिया हुँदै मूलधारको राजनीतिमा आएको १६ वर्षपछि लगाएको दौरा सुरुवाल जोडिएको प्रचण्डको नयाँ संस्करणको बारेमा नेपाल र भारतमा धेरै चर्चा भए पनि प्रचण्डबाटै भने अहिलेसम्म कुनै ‘व्याख्यात्मक टिप्पणी’ आएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर