सुदूरपश्चिममा दलको नेता छनोट गर्न आज पनि माओवादी संसदीय दलको बैठक बस्दै – Nepal Press

सुदूरपश्चिममा दलको नेता छनोट गर्न आज पनि माओवादी संसदीय दलको बैठक बस्दै

कैलाली ।सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । आज बिहान ९ बजे संसदीय दलको कार्यालयमा दलको बैठक बस्ने प्रदेश इन्चार्ज तथा प्रदेश सभा सदस्य खगराज भट्टले जानकारी दिए ।

हिजो ३ घण्टा सम्म चलेको बैठकले दलको नेता छनोट गर्न सकेको थिएन । दलको नेताका लागि प्रदेश इन्चार्ज भट्टसहित ओमविक्रम भाट, अक्कल रावल र मान बहादुर धामी आकांक्षी रहेका थिए । अन्तिम सम्ममा रावल र धामी पछि हटे पनि भाट र भट्ट बिच सहमति हुन नसक्दा हिजोको बैठक विना निष्कर्ष टुङ्गिएको थियो ।

आज बिहान ९ बजेको लागि बोलाइएको बैठकमा सर्वसम्मत रूपमा दलको नेता छनोट गर्ने माओवादीले तयारी गरेको छ। आकांक्षी भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य हुन् । भाट केन्द्रीय सदस्य हुन् । सुदूरपश्चिममा माओवादी केन्द्रका ११ सांसद छन् ।

यस अघि सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी र एमालेले दलको नेता छनोट गरिसेका छन् । यहाँ नागरिक उन्मुक्तिको तर्फबाट रामेश्वर चौधरी, नेकपा एकीकृत समाजवादीको तर्फबाट दीर्घ सोडारी र एमालेको तर्फबाट राजेन्द्र रावल दलको नेतामा सर्वसम्मत चयन भएका हुन् । माओवादीले आज दलको नेता छनोट गरिरहँदा कांग्रेसको भने अझै सुरसार छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर