प्रहरीको बढुवा र सरुवाको मापदण्डलाई कडाइका साथ पालना गरिन्छ : गृहमन्त्री लामिछाने – Nepal Press

प्रहरीको बढुवा र सरुवाको मापदण्डलाई कडाइका साथ पालना गरिन्छ : गृहमन्त्री लामिछाने

जुनियर प्रहरी अधिकृतको कार्य सम्पादनमा प्रभाव पार्ने तत्वको पहिचान र सुधारका पहल गरिने

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सरुवा, बढुवा र वृत्ति विकासको लागि मापदण्ड तयार गरी लागू गरिने बताएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै मापदण्ड र कार्य सम्पादनको मूल्यांकनको आधारमा बढुवा र सरुवा गर्ने गराउने व्यवस्था कडाइका साथ पालना गरिने बताएका हुन् ।

निरीक्षणपछि कार्यालयमा आयोजित कार्यक्रममा लामिछानेले उपस्थित प्रहरी अधिकृत तथा जवान एवम् भिडियो कन्फेरेन्समार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रदेश कार्यालयका प्रमुख, गण प्रमुख, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा सबै जिल्लाका प्रहरी प्रमुखलाई निर्देशनात्मक सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा उनले संगठनको बिकास र बिस्तार तथा प्रहरी कर्मचारीको वृत्ति विकास गर्ने कार्यलाई प्राथमिकता दिइने बताएका छन् । उनले भने, ‘आवश्यकतानुसारको प्रहरी कार्यलयको भौतिक संरचना छैनन, तल्लो तहका प्रहरी कर्मचारी ब्यारेकमा कष्टपूर्ण तरिकाले सुत्नु परेको अवस्था छ, प्रहरी प्रधान कार्यलयमा कार्यरत कर्मचारीको लागि आवास गृह छैन, स्केलमा पाउनुपर्ने सामान समयमा तोकिए बमोजिम पाउन नसकेको अवस्था छ र महङ्गी अनुसारको राशनको व्यवस्था नहुने अवस्थाको अव अन्त गरिनुपर्छ ।’

प्रविधिको विकाससँगै त्यसको दुरुपयोगबाट श्रृजित अपराधको अनुसन्धानको चुनौतीको सामना गर्न नेपाल प्रहरीलाई मजबुद बनाउन आवश्यक प्रविधिको विकास प्राथमिकता रहेको लामिछानेले बताएका छन् । उनले प्रहरी कर्मचारीको मनोबल उच्च पारी नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने वातावरणको सृजना गराउन तालुक मन्त्रालयबाट सहयोग र सहजिकरण गर्न सदैव तत्पर रहेकोसमेत बताए ।

नागरिकको अपेक्षा अनुरुपको चुस्त दुरुस्त सेवा प्रवाह गर्न गराउन उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिँदै लामिछानेले सर्वसाधरणको प्रहरी सेवामा सहज पहुँचको व्यवस्था र दण्डदहिनताको अन्त्यको साथै भ्रष्ट्राचारमा शून्य सहनशिलताको नीति व्यवहारमा लागू गर्नसमेत निर्देशन दिए ।

विभिन्न राजनीतिक दलका आवरणमा संरक्षित गुण्डागर्दीविरुद्ध निर्मम भएर प्रहरी कारवाही गर्न विशेष निर्देशन पनि दिएका छन् । उनले सीमा क्षेत्रमा हुने भन्सार छली, तस्करी तथा अन्य अनियमितता, लागूऔषध बिक्री वितरण र सेवनलाई पुर्णत निस्तेज पार्न विशेष कार्ययोजना बनाई कार्यसम्पादन गर्नसमेत निर्देशन दिएका छन् । महिला, बालबालिका र जेष्ठ नागरिकको सन्दर्भमा अझ बढी संबेदनशिल भएर सोही अनुसार सेवा प्रवाह गर्नसमेत उनले उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिए ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले कानून कार्यान्वयनको सिलसिलामा कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष र पारदर्शी भई कानूनले दिएको अधिकार प्रयोग गर्न सवै प्रहरी कर्मचारी दत्तचित्त भइ आ-आफ्नो ठाउँबाट इमानदार भई कार्यसम्पदान गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले गृहमन्त्रीबाट भएको निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए । संगठनले प्राप्त गरेको तालुक गृह मन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा नेपाल प्रहरी संगठन थप व्यवसायिक र उर्जावान हुने विश्वास व्यक्त गरे ।

सिंहले संगठनको नीति अनुरूप कार्य सम्पादनको मूल्याङकनको आधारमा सरूवा, बढुवा पारदर्शी रूपमा हुने एवम् प्रहरी अधिकृतको सरूवा उनीहरूको व्यावसायिकता तथा दक्षताको आधारमा गरिएको बताए ।

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछाने समक्ष प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको समग्र विषयमा जानकारी गराएका थिए । सोही अवसरमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले निर्मला पन्तको जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा सम्बन्धी अनुसन्धानको प्रगति विवरण सुनाएका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक एवम् वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानको उपस्थिति रहेको थियो । यस्तै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालय, गण प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एवम् सबै जिल्ला प्रहरी प्रमुखको भर्चुअल उपस्थिति रहेको थियो ।

उपप्रधान एवम् गृहमन्त्री लामिछानेले ‘सेवा प्रतिको सन्तुष्टि र कार्य सम्पादनमा प्रभाव पार्ने तत्वः नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतको मामला अध्ययन’ र ‘नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक’ २ वटा छुट्टाछुट्टै अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरेका छन् ।

नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतको कार्य सम्पादनमा प्रभाव पर्ने तत्वको पहिचान गर्ने र सुधारका क्षेत्र पहिल्याउने उद्देश्यले गरिएको अध्ययनले कार्य वातावरण, कार्य सन्तुष्टि, कार्य उत्प्रेरणा र कार्य सम्पादनलाई एक अर्काको परिपूरकको रूपमा अन्तर सम्बन्धीत रहेको देखिएको छ ।

उक्त प्रतिवेदनमा देशभरबाट विभिन्न जिल्लामा कार्यरत १ हजार ३८६ जना नेपाल प्रहरीका जुनियर प्रहरी अधिकृतमा सर्वेक्षण, गहन अन्तरवार्ता तथा सुपरिवेक्षक तहका प्रहरी कर्मचारीसँग लक्षित छलफलको माध्यमबाट परिमाणात्मक र गुणात्मक दुवै किसिमका तथ्याङक विश्लेषण गरी प्रतिवेदन तयार पारिएको छ ।

यसैगरी नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक अध्ययन प्रतिवेदनमा देशभरबाट कक्षा १० देखि स्नातक तह सम्म अध्ययनरत १ हजार ३६१ जनालाई सहभागी गराई प्रहरीको काम कर्तव्यप्रति युवाको धारणा र सेवाप्रति युवाको आकर्षणका सम्बन्धमा सर्वेक्षण गरी प्रतिवेदन तयार पारिएको छ ।

लामिछानेलाई प्रहरी महानिरीक्षक सिंह, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतले प्रहरी प्रधान कार्यालयमा स्वागत गरेका थिए । निरीक्षण भ्रमणका क्रममा लामिछानेले प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे पनि जानकारी लिएका जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *