लुम्बिनीमा एमालेका सांसदहरुको भेला, शपथपछि मात्रै दलको नेता छान्ने – Nepal Press

लुम्बिनीमा एमालेका सांसदहरुको भेला, शपथपछि मात्रै दलको नेता छान्ने

रुपन्देही । लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट संघ र प्रदेशमा निर्वाचित सांसदहरुको भेला शुक्रबार बुटवलमा भएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशबाट संघ र प्रदेशमा निर्वाचित सांसदहरु तथा जिल्ला अध्यक्षहरुलाई सम्मान गर्न बोलाएको कार्यक्रममा ती सांसदहरु भेला भएका हुन् ।

बुटवलस्थित प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा संघमा निर्वाचित २१ मध्ये १४ र प्रदेशका २९ जना सांसद सहभागी भएका थिए ।

कार्यक्रममा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले एमालेविरुद्धको चौतर्फी घेराबन्दीको बीचमा पनि लुम्बिनीका धेरै क्षेत्रमा विजय बनाउने सबै नेतृत्वलाई धन्यवाद दिएका थिए । उनले केही क्षेत्रमा थोरै मतान्तरले पराजित हुनुपरेको र धेरै ठाउँमा घेराबन्दी तोड्न सकेकाले लुम्बिनीमा पार्टीको वर्चश्व कायम रहेको बताएका थिए ।

प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अनुशासन आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थी, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, सचिव लक्ष्मण आचार्यलगायतले अहिलेको निर्वाचनमा पार्टीभित्रको आन्तरिक एकता धेरै बलियो भएको बताएका थिए ।

कार्यक्रममा निर्वाचनमा खटिएका जिल्ला अध्यक्षहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमपछि पार्टीले प्रदेशसभामा खेल्नुपर्ने भूमिका र नयाँ नेतृत्वका विषयमा अनौपचारिक छलफल भएको सांसद विष्णु पन्थीले बताए ।

नयाँ समीकरणसँगै लुम्बिनी प्रदेशको नेतृत्व एमालेले पाउने वा नपाउने विषय नटुंगिएकाले सकेसम्म पार्टी केन्द्रमा दबाब दिएर नेतृत्व लिनुपर्ने सुझाव सांसदहरुले दिएका छन् । एमालेले प्रदेशसभामा शपथअगावै दलको नेतृत्व टुंग्याउने तयारी भए पनि त्यो सम्भव नभएको सांसद चेतनारायण आचार्यले जानकारी दिए ।

प्रदेशसभाले पुस १७ गते देउखुरीमा शपथ कार्यक्रम राखेको छ । उक्त शपथपछि मात्रै दलको बैठक बसेर नेतृत्व चयन गरिने उनले बताए ।

यहाँबाट दलको नेताका लागि पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लीला गिरी, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री चेतनारायण आचार्य, केन्द्रीय सदस्य भूमिश्वर ढकाल र प्रदेश उपाध्यक्ष एवं पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ आकांक्षी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर