बैंकहरुविरुद्ध आन्दोलन घोषणा गर्दै उद्योगी व्यवसायीले गरे हस्ताक्षर संकलन – Nepal Press

बैंकहरुविरुद्ध आन्दोलन घोषणा गर्दै उद्योगी व्यवसायीले गरे हस्ताक्षर संकलन

रुपन्देही । नेपाल राष्ट्र बैंकको चालू पूँजी मार्गदर्शन तथा बैंकहरुले आफूहरुप्रति गरेको अव्यवहारिक नीतिका विरुद्ध रुपन्देहीका उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले दाङमा गरेको प्रदेशस्तरीय भेलाले गरेको निर्णयअनुसार उनीहरु आन्दोलित भएका हुन् । भेलाले पुस २० गतेसम्मका आन्दोलनका कार्यक्रम तय गरेको छ । त्यसवेलासम्म आफूहरुको माग सम्बोधन नभए २२ गते काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरिएको छ ।

घोषित आन्दोलनका कार्यक्रमअनुसार बुटवलमा क्रियाशील विभिन्न व्यवसायिक संघसंस्थाहरुले हस्ताक्षर संक्रलन सुरु गरेका हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको संयोजनमा रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघ बुटवल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही र नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले संयुक्त रुपमा हस्ताक्षर संकलन गरेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी दिए ।

उनका अनुसार हस्ताक्षर संकलन पुस २१ गतेसम्म जारी रहनेछ । संकलित हस्ताक्षर नेपाल उद्योग वाणिज्य महासंघमार्फत नेपाल राष्ट्र बैंकलाई बुझाइनेछ । राष्ट्र बैंकले जारी गरेको चालू पूँजी मार्गदर्शन तथा बैंक तथा वित्तीय संस्थाहरुको अव्यवहारिक नीतिका कारण उद्योगी व्यवसायीलाई जटिल अवस्थामा पुर्‍याएको उनको भनाइ छ ।

राष्ट्र बैंकको नीतिकै कारण बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर बढाउँदा उद्योगी व्यवसायीहरु तिर्नै नसक्ने स्थितिमा पुगेको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले शुक्रबारदेखि एक साता हस्ताक्षर संकलन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला-नगर उद्योग वाणिज्य संघले हस्ताक्षर संकलन गरिरहेको प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

त्यस्तै आइतबार कालोपट्टि बाँधेर विरोध प्रदर्शन गर्ने, जनप्रतिनिधि र बैंकका प्रमुखहरुलाई राखेर व्यवसायिक वातावरण नभएसम्म व्यवसायीलाई आतंकित नबनाउन आग्रह गर्ने, १९ गते राष्ट्र बैंक भएका ठाउँमा राष्ट्र बैंक र नभएका ठाउँमा जिल्ला प्रशासन कार्यालयमा कालोपट्टिसहित धर्ना दिने र त्यसवेलासम्म पनि आफूहरुका माग सम्बोधन नभए प्रदेश उद्योग वाणिज्य महासंघसँग समन्वय गरेर काठमाडौं केन्द्रित कार्यक्रम गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *