खगेन्द्र संग्रौलाविरुद्ध खनियो लिम्बु समुदाय, ‘सिनो खाने जात’ भनेको आरोप – Nepal Press

खगेन्द्र संग्रौलाविरुद्ध खनियो लिम्बु समुदाय, ‘सिनो खाने जात’ भनेको आरोप

संग्रौलाले देखाए लेखकको दोष

काठमाडौं । लेखक खगेन्द्र संग्रौला आफ्नै जीवनकथामा आधारित पुस्तक ‘एक बागी : खगेन्द्र संग्रौलाको साधना र संघर्ष’ का कारण विवादमा तानिएका छन् । पुस्तकको एक सन्दर्भलाई लिएर लिम्बु समुदायको एउटा संगठन कडा विरोधमा उत्रिएको छ ।

‘लिम्बूहरुले सिनो खान्छन्’ भन्ने आशय पुस्तकमा अभिव्यक्त गरिएको भन्दै लिम्बुहरुले आपत्ति जनाएका हुन् । सुहाङ वंशावली प्रकाशन समिति पान्थर, लिम्बूवान-नेपाल नामक संस्थाले एक विज्ञप्ति जारी गर्दै संग्रौलाको जीवनीपरक पुस्तकको पेज नम्बर २५ मा उल्लेखित प्रसंग कपोकल्पित, अतिरञ्जित, निराधार र भ्रामक रहेको जनाएको छ । यसले सिंगो लिम्बू समुदायको आत्मसम्मान र भावनामा गम्भीर चोट पुर्‍याएको संगठनको दाबी छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘खगेन्द्र संग्रौलाको उक्त संस्मरणमा जातीय अहंता र ब्राम्हणत्वको झल्को आउँछ । यही घटना विशेषलाई सिंंगो बस्ती र आम याक्थुङ लिम्बू समुदायप्रति जातीय अपमान, घृणा र हिंसा हुने किसिमले विषयवस्तुलाई सामान्यीकरण गर्नु हदैसम्मको असंवेदनशीलता हो र यो दुराशयपूर्ण छ भन्ने हाम्रो ठहर छ ।’

यस पुस्तकको बिक्री/वितरण तुरुन्त बन्द गरिनुपर्ने र उक्त अतिरञ्जित आपत्तिजनक काल्पनिक सामग्री हटाएर संशोधन गरी पुनः प्रकाशन गरेपछि मात्रै बजारमा ल्याइनुपर्ने पनि माग गरिएको छ ।

के छ पुस्तकमा ?

उज्ज्वल प्रसाईंद्वारा लिखित संग्रौलाको उक्त पुस्तकको पेज नम्बर २५ मा लेखिएको छ, ‘लक्ष्मीप्रसाद (संग्रौलाका पिता) को घरभन्दा अलि मास्तिर ढाँड भन्ने एउटा सानो बस्ती थियो । जहाँ लिम्बूका आठ-दश परिवार बस्थे । त्यहाँका लिम्बू परिवार अत्यन्तै गरीब थिए । तिनका खेत हुने त कुरै भएन, बारी पनि गतिला थिएनन् ।

उनीहरु संग्रौला मुखियाका खेतबारीमा काम गर्थे । उनकोमा मरेका भेंडा–बाख्रा, गाई–गोरु र भैंसी लगेर खान्थे । सिनो खाएवापत् उनको खटनबमोजिम खेत-बारीमा काम गरिदिनुपर्ने थिति बसालिएको थियो । त्यो ढाँड मुखिया लक्ष्मीप्रसादको उपनिवेश झैं थियो । ती आठ-दश लिम्बू परिवारमा उनको लगभग ठाडो हुकुम चल्थ्यो ।’

पुस्तकको यो सन्दर्भलाई लिएर लिम्बु समूदायका केही व्यक्तिहरुले सामाजिक सञ्जालमा असन्तुष्टि र आपत्ति जनाएका थिए । त्यसपछि संग्रौला मुख खोल्न वाध्य भए । एक अनलाइनमा उनले लामो स्पष्टीकरण लेख्दै पुस्तकका लेखक उज्ववल प्रसाईमाथि दोष थोपरे । तर, यसको जिम्मेवारी आफूले लिने भन्दै क्षमायाचना पनि गरे ।

संग्रौलाले लेखेका छन्, ‘खासमा माथि उल्लेखित वर्णन मेरो होइन, जीवनीकार उज्वल प्रसाईंको हो । तर, चाखलाग्दो कुरा के हो भने सबैजसो विमति र आक्रोशहरु मैप्रति लक्ष्यित छन् । विमति र आक्रोशको तारो मलाई बनाइनु एक अर्थमा ठीकै पनि हो । किनभने जीवनीकारको वर्णनको भ्रुण मेरो संस्मरणबाट टिपिएको हो ।’

संग्रौलाले आफूले बाल्यकालको संस्मरणमा केवल बाघको झम्टाइमा परी मरेको भेंडो खाएको प्रसंगमात्रै उल्लेख गरेको बताएका छन् ।

‘मरेका बाख्रा, गाई-गोरु र भैंसी’ प्रसंग आफूले उल्लेखै नगरेको संग्रौलाको जिकिर छ । जीवनीकार उज्वल प्रसाईंले अति गरीब लिम्बूहरुका जीवनको दयनीय अवस्थाको चित्रणलाई प्रभावकारी बनाउने हेतुले मरेको भेंडो खाएको विषयलाई बढाइचढाइ गरेको हुनसक्ने उनले बताएका छन् ।

संग्रौलाले लेखेका छन्, ‘जीवनीकारबाट किञ्चित मनोगत असावधानी अवश्य भएको छ । तर, प्रसाईंको अभिप्रायप्रति भने ममा कुनै सन्देह छैन ।’

जीवनीको निकट भविष्यमा निस्कने दोस्रो संस्करणमा यो त्रुटि सच्याइने संग्रौलाको स्पष्टोक्ति छ । संग्रौलाको स्पष्टीकरणमा लिम्बू समुदायले चित्त बुझाएका छैनन् ।

विज्ञप्तिमा भनिएको छ, ‘एक विनम्र लेखमार्फत् पुस्तकमा उल्लेखित वर्णन आफ्नो नभएको तर, जीवनीकार प्रसाईंले लिम्बूहरुको दयनीय अवस्थालाई प्रभावकारी बनाउन त्यसो गरेको हुनसक्ने मात्र उल्लेख गरेका छन् । … हामीले विनम्रपूर्वक राखेको माग र अनुरोधलाई बेवास्ता गरेमा लेखक तथा प्रकाशक विरुद्ध सामाजिक र कानूनी उपचार खोज्न बाध्य हुनेछौं ।’
यसबारे जीवनीकार प्रसाईंलाई नेपालप्रेसले सम्पर्क गर्दा उनले बोल्न इन्कार गरे ।
उनले भने, ‘यसबारे अहिले होइन, दुई-चार दिनपछि बोल्छु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *