राप्रपाको स्पष्ट बटमलाइन- एकता दिवसमा सार्वजनिक बिदा नदिए सरकारमा नजाने – Nepal Press

राप्रपाको स्पष्ट बटमलाइन- एकता दिवसमा सार्वजनिक बिदा नदिए सरकारमा नजाने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन राष्ट्रिय एकता दिवसलाई पहिलो सर्त बनाएको छ । पुस २७ गते एकता दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाएर सार्वजनिक बिदा दिनुपर्ने अडान पार्टीले लिएको हो ।

राप्रपाको गत बुधबार बसेको कार्यसम्पादन समिति बैठकमा सरकारका जाने वा नजाने विषयमा गहन छलफल भएको थियो । उक्त बैठकले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो एजेन्डाहरू समावेश भएको खण्डमा सरकारमा सहभागी हुने औपचारिक निर्णय लिएको छ । पार्टीले राष्ट्रियता, स्वाधीनता, सुशासन, विकास र सेवा प्रवाह गरी ५ विषयमा रहेर आफ्ना एजेन्डा प्रस्तुत गर्ने निर्णयसमेत गरेको छ ।

पार्टी उच्च स्रोतले पुस २७ गते सार्वजनिक बिदा घोषणा गर्नुपर्ने विषयलाई न्यूनतम शर्तका रुपमा गठबन्धनसमक्ष राखिएको जानकारी दियो ।

‘यदि यसमा सहमति नभएको खण्डमा अरु कुराहरू अगाडि नै बढ्दैन र सरकारमा जाने ढोका बन्द हुन्छ,’ स्रोतले भन्यो ।

हिजो सत्तासाझेदार नेताहरूको उच्चस्तरीय बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए । उक्त बैठकमा पनि उनले आफ्नो पार्टीले लिएको निर्णयबारे जानकारी गराएका छन् । यसअघिका बैठकहरूमा पनि लिङदेनले एकता दिवसको विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन् ।

एकता दिवसमा बिदा दिनेबारे सत्ता साझेदार पार्टीहरु द्विविधामा छन् । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले अहिलेसम्म सकारात्मक जवाफ दिएका छैनन् । यसबारे थप छलफल गर्ने समझदारी भएको छ ।

राप्रपा स्रोतले भन्यो, ‘यदि एकता दिवसलाई सरकारले मान्यता दिने र सार्वजनिक बिदा दिने विषय न्यूनतम साझा कार्यक्रममा आयो भने राप्रपा सरकारमा जाने लगभग निश्चित हुन्छ ।’

सरकारमा नगएको अवस्थामा पनि राप्रपाले प्रचण्डलाई दिएको समर्थन भने तत्काल फिर्ता लिने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर