जसले सिंगापुरको लाखौंको जागिर छोडेर स्वदेशमै करोडौं लगानीमा रिसोर्ट खोले – Nepal Press

जसले सिंगापुरको लाखौंको जागिर छोडेर स्वदेशमै करोडौं लगानीमा रिसोर्ट खोले

कैलाली । २०६८ पछि कविन्द्रलाई विदेशिनुपर्ने बाध्यता आइलाग्यो । काठमाडौंबाट होटेल म्यानेजमेन्टको अध्ययन पूरा गरिसकेपछि कविन्द्रले रोजगारी पाउन सकेनन् ।

लाखौं खर्च गरेर अध्ययन पूरा गरेका उनलाई दश हजारको आम्दानी गर्न पनि मुस्किल भयो । त्यसैले काम नखोजी नहुने अवस्था आयो । त्यसवेला उनमा आफैं केही गर्ने सोच नआएको होइन । तर, पूँजी अभावले सोचले मूर्त रुप लिन सकेन । उनी दुबई हुँदै सिंगापुर भासिए ।

केही वर्ष दुबईमा काम गरेका उनले पछि सिंगापुर गएर आफूले पढेकै विषयमा काम गर्न थाले । त्यहाँ पाँच तारे होटेलमा राम्रो जिम्मेवारी पाए । कविन्द्रले मासिक डेढ लाखभन्दा बढी कमाउन थाले ।

केही वर्षको वैदेशिक रोजगारीबाट राम्रो आम्दानी भएपछि उनलाई आफ्नो पुरानो सोच पूरा गर्ने ख्याल आयो । त्यसपछि लाखौंको आम्दानी माया मारेर कविन्द्र आफ्नै भूमिम केही गर्ने अठोट र योजनासहित सिंगापुरबाट नेपाल फर्किए ।

कविन्द्र ऐरको घर धनगढी हो । भारतसँग जोडिएको यो क्षेत्रमा नयाँ काम गर्न सके सफल हुने उनको विश्वास थियो । तर, राम्रो काम गर्न राम्रै लगानी चाहिने भएपछि उनी केही लगानी बढाउने योजनामा लागे । उनले धनगढीकै नेपाल फारवेस्ट एकेडेमी, सुदूरपश्चिम एकेडेमी र क्रिस्टियन कलेजमा पढाउन थाले । त्यहाँबाट लगानी गर्ने पूँजी केही बढ्यो ।

धनगढी ३ बडहरमा उनको आफ्नै जग्गा थियो । कविन्द्रले त्यहाँ नयाँ शैलीबाट रिसोर्ट खोल्ने योजना बनाए । त्यो योजनालाई मूर्त बनाउन धनगढीकै विक्रम शाहीले साथ दिए । विक्रमसँग होटेल व्यवसाय गरेको अनुभव थियो । उनी केही वर्षदेखि यही व्यवसायमा थिए ।

आफै केही गर्ने हुटहुटी भएका दुई युवाले धनगढीमा ५ करोड लगानीमा तयार गरे पिसल्याण्ड रिसोर्ट । मोहना कोरिडोर नजिकै ठूलो टावर ठड्याइएको छ । अहिले यो टावरबाट सूर्योदय र सूर्यास्त नियाल्न कैयौं व्यक्ति यहाँ पुग्छन् । ७ कट्ठा जग्गामा रिसोर्ट सञ्चालनमा ल्याएका यी दुई युवाले क्षेत्रफल बढाएर थप लगानी गर्ने योजना बनाएका छन् ।

कालिज र लोकल कुखुराका परिकारको स्वाद लिन यहाँ आउनेहरूको संखया बढिरहेको कविन्द्र बताउँछन् । नेपालमा अरूको व्यापार हेरिरहेका विक्रम र विदेशमा पाँचतारे होटेलमा काम गरेको अनुभव भएका कविन्द्रको पिस रिसोर्ट पुग्नेहरुको दायरा पनि फराकिलो बन्न थालेको छ ।

यहाँ आउने ग्राहकहरूको सुझावले आफूहरु उत्साहित भएको कविन्द्र र विक्रम सुनाउँछन् । उनीहरु रिसोर्टलाई अझै विस्तार गर्ने तयारीमा छन् । ‘हामी यसलाई सुदूरपश्चिममै नयाँ र नमुना बनाउन चाहन्छौं’, कविन्द्र भन्छन्, ‘अहिलेसम्म राम्रो प्रतिक्रिया पाइरहेका छौं । ग्राहकहरूको सुझावका आधारमा अझै केही नयाँ गर्ने सोचमा छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *