एमाले ‘ग्रासरुट’ को रुझान- माधव नेपालसँग पार्टीगत एकता प्रयासलाई ‘रेड सिग्नल’ – Nepal Press

एमाले ‘ग्रासरुट’ को रुझान- माधव नेपालसँग पार्टीगत एकता प्रयासलाई ‘रेड सिग्नल’

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्यसमेत रहेका प्रभावशाली सांसद गोकुल बास्कोटाले बुधबार सांकेतिक रुपमा नेकपा एकीकृत समाजवादीलाई एमालेमा मिसाउने कुराप्रति अरुचि देखाए ।

बास्कोटा सामाजिक सञ्जालमा प्रतीकात्मक रुपमा लेख्छन्-

एमाले समाप्त पार्न न्वारानदेखिको बल लाउने, कार्यकर्ता र जनताको कठिन र दृढ एकता, संघर्ष, रगत–पसिना र आँसुले एमालेरुपी पीपल वृक्षमा फेरि पालुवा पलाएपछि निजी लाभका लागि मात्र खुट्टा उचाल्नेहरुदेखि पार्टी नेतृत्व सजग नै होला । भूईं मान्छे र कार्यकर्ताले त अपवादबाहेक के पो बिराउँछन् र !

बास्कोटाको यो फेसबुक स्टाटस र ट्वीटमा सयौं एमाले कार्यकर्ताले समर्थन जनाउँदै माधव नेपालहरुलाई विनासर्त एमाले प्रवेशबाहेक अरु कुनै पनि बहानामा स्वीकार गर्न नहुने टिप्पणी गरेका छन् ।

यता शुक्रबार बिहानै उपमहासचिव प्रदीप ज्ञवालीले माधव नेपाललाई राष्ट्रपतिसहित नेकपा एससँग पार्टी एकताको चर्चालाई खारेज गरेका छन् । अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तारमा मात्र सीमित भएको उनको भनाइ छ ।

नेता ज्ञवालीले संकटका बेला सतिसाल झैं उभिएर पार्टीलाई साथ दिएका नेता-कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय नगर्ने भनेर आश्वस्त पारेका छन् ।

ज्ञवाली लेख्छन्-

‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ । त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान, अतिरञ्जना र हल्ला मात्र हुन् । पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो । संकटका बेला सतिसाल झैं उभिएका कमरेडहरूको भावनाविपरीत कुनै निर्णय हुनेछैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन ।’

एमालेमा नेकपा एस १० सीटसहित समाहित हुने र माधव नेपाललाई राष्ट्रपति बनाउने अपुष्ट हल्लाले एमालेको ग्रासरुट हल्लिएको छ । प्रचण्डलाई बालकोटमा स्वागत गर्दा उत्साहित भएको एमाले पंक्ति माधव नेपालप्रति अनुदार देखिन्छ ।

पार्टी फुटाएर हिँडेको १६ महिनामै माधव नेपाल नेतृत्वको नेकपा एसमा रहेका नेताहरुलाई एमालेमै फर्काउने एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुको पहलमा कार्यकर्ता सन्तुष्ट देखिँदैनन् । २४ सीटसहित एमालेबाट बाहिरिएका माधव नेपालसँग आज गठबन्धनको सहयोगमा १० सीट छ ।

ओली र प्रचण्ड एक ठाउँमा उभिएपछि अध्यक्ष नेपाललाई पनि फर्काएर नेकपा व्युताउनेसम्मको गृहकार्य भइरहेको कतिपय माओवादी नेताहरुले आन्तरिक छलफलमा बताउने गरेका छन् । तर, प्रचण्ड-माधवको बहुमतबाट झण्डै राजनीतिक कत्लेआम हुनबाट जोगिएको एमाले पंक्ति ‘अब त्यो भूल गर्न हुन्न’ भनेर नेतृत्वलाई सचेत गराइरहेको छ । सूर्य थापाले समेत अब त्यस्तो भूल नहुने बताएका छन् ।

बुधबार प्रचण्डले माधव नेपाललाई भेटेर सरकारमा आउन आग्रह गरे । उनी अहिले पार्टीभित्र नेताहरुसँग कसरी अगाडि बढ्ने भन्नेबारेमा आन्तरिक छलफलमा छन् । नेपालले सरकारमा जाने चाहना व्यक्त गरेका छन् ।

तर, एमालेले प्रचण्डसँग थालेको सहकार्यमा उत्साहित कार्यकर्ता आफ्नै पार्टीका पुराना नेतृत्वलाई पार्टीमा फर्काउन त्यति उत्साहित छैनन् । एमाले नेताहरुले अध्यक्ष नेपाललाई पार्टीमा फर्किन आग्रह गरेका समाचारमा ९० प्रतिशत नकारात्मक प्रतिक्रिया आएका छन् ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य दयालबहादुर शाहीले माधव नेपाल, झलनाथ र वामदेव गौमत गद्दार भएको आरोप लगाएका छन् । माधव नेपालको कारण एमालेले सबै सरकार गुमाएको बिर्सन नहुने तल्लो तहका नेताहरुको भनाइ छ ।

माधव नेपालको पार्टीले स्थानीय चुनावमा एमालेलाई पराजित गर्न जहाँ जसलाई समर्थन गर्दा हराउन सकिन्छ उसलाई गर्ने भनेर जारी गरेको सर्कुलरप्रति आक्रोश व्यक्त भइरहेका छन् ।

माधव नेपालको पार्टीको सर्कुलर र एमाले सिध्याउने अभियानका कारण स्थानीय तहमा ८९ पालिकामा झिनो मतले र संसदीय चुनावमा १२/१५ सीट गुमाएको विश्लेषण गरिएको छ ।

एमाले हराउन केही कसर बाँकी नराखेको समूहलाई ल्याएर केन्द्रमा तत्काललाई १० सीट थपिए पनि तल जिल्लामा त्यसको कुनै अर्थ नहुने काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जु बताउँछन् । तर, एमाले नेतृत्वले माधव नेपाललाई पार्टीमा फर्काएमा प्रतिनिधिसभाको पहिलो दल बन्न सक्छ ।

अहिले एमालेको ७८ सीट छ । नेकपा एसको १० सीट थपिँदा कांग्रेसको बराबर ८८ सीट हुनेछ । कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले उसको ८९ बाट एक सीट घटेको हो । एमालेले जसपालाई मोरङ ५ छाडेपछि स्वतन्त्र उठेर जितेका योगी मण्डल पार्टीमा फर्किन तयार छन् ।

संसदको पहिलो दलको हैसियतमा पुनः फर्किन एमालेलाई नेकपा एस आवश्यक परेको छ भने नेकपा एसको अस्तित्व रक्षाका लागि एमालेमा फर्किने बाटो खोजिरहेका छन् नेताहरू ।

वडा अध्यक्षदेखि सांसदसम्म हारेका नेता-कार्यकर्ता नेकपा एसलाई रुचाउँदैनन् । २ मतले हारेका काभ्रेका चन्द्र लामादेखि २०० मतभित्र हारेका महासचिव शंकर पोखरेलसम्मका सयौं नेता-कार्यकर्ता छन् । जसको पराजयमा माधव नेपालको सर्कुलर कारण भएको नेताहरुको ठम्याइ छ ।

माधव नेपालसँग निरन्तर जनमत ओरालो लागेको देखिन्छ । स्थानीय तह निर्वाचनमा ल्याएको ५ लाख घटेर आमनिर्वाचनमा ३ लाख पनि पुग्न सकेन । मंसिर ४ को आमनिर्वाचनमा ३ लाख मत नपाएर राष्ट्रिय पार्टी बन्न असफल भयो । चुनावको चोट निको नहुँदै नेकपा एसलाई जोड्ने कुरामा कार्यकर्ता पंक्ति उत्साहित नदेखिएको शाही बताउँछन् ।

सामाजिक सञ्जालमा कार्यकर्ताको ‘रेड सिग्नल’

एमाले-माओवादी मिलेर सरकार बनाउँदा पार्टी नेतृत्वको उच्च प्रशंसा गर्ने एमालेका अगुवा तहका कार्यकर्ता नै नेकपा एससँग मिल्ने कुरामा पटक्कै उत्साही देखिन्नन् ।

यसका लागि केही उदाहरण हेरौंः

एमालेहरु हौसिएर नेकपा एससँग तत्काल एकता गरे साख ध्वस्त हुने भन्दै चितवनका एमाले युवा ऋषिकेश रेग्मी लेख्छन्-

एमाले हरु धेरै हौसिएर माधव नेपालसँग तत्काल एकता गरे भने एमालेको बचेको साख पनि ध्वस्त हुन्छ । एमाले नेताको बलले भन्दा पनि जनता र इमानदार कार्यकर्ताको अपार मायाले जोगिएको पार्टी हो । त्यसैले जनतालाई नून चाट्ने भेडा नसम्झिँदा राम्रो हुनेछ ।

अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्षसमेत रहेका युवा प्रकाश पौडेल लेख्छन्-

पार्टी गठजोडले ठूलो हुने भए गठबन्धनको यो भागाभाग अवस्था हुने थिएन प्रारम्भ नै अफ्ट्यारो हुने भए स्वतन्त्र पार्टी सरकार निर्माणका निम्ति निर्णायक शक्ति बन्ने थिएन । त्यसैले अनावश्यक भावनामा बगेर जनतामा आशाशून्य भएका पात्रहरू पार्टीमा भित्र्याउन आवश्यक छैन । नयाँ सिर्जना भएका नेतालाई परीक्षणको भट्टीमा हाल्नुपर्दछ । त्यसले नै नेकपा एमालेलाई बलियो शक्ति बनाउनेछ ।

सामाजिक सञ्जालमा सक्रिय बाराका एमाले कार्यकर्ता मनिष प्याकुरेल लेख्छन्-

आफ्नो पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउने, आफ्नै पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट हटाउने, पार्टी फोडेर एमालेलाई चुनावमा हराउने र आफ्नै अस्तित्व धरापमा परेपछि पुनः अवसरवादीहरु लम्पसार परेर पार्टी एकता गरौं भन्दैछन् । यस्ता अवसरवादीलाई एमालेले काँध थाप्नुहुँदैन ।

रामेछापका एमाले कार्यकर्ता विनोद खड्का लेख्छन्-

एकल बहुमतबाट लगभग रोक्ने माधव नेपाल हुन् । १००० देखि २५०० तल कति सीट प्रत्यक्षमा एमालेले हारेको छ हिसाबकिताब गरून् । अनि मात्र माधव नेपालको पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल गरौं । तथापि निसर्त एकता हुन्छ भन्ने चाहिं गुमाउनु हुन्न फरक पार्टीमै रहेर चाहिँ यिनलाई सरकारमा ल्याएर शक्ति आर्जन गर्दिने अवसर एमालेले गर्दिनु ठूलो गल्ती हुनेछ ।

यस्तै नुवाकोटका एमाले कार्यकर्ता तथा युवा संघका नेता सुरेश भण्डारी लेख्छन्-

माकुनेहरुलाई पार्टीमा भित्र्याएर पार्टी ठूलो बनाउने भन्नु झोलाभरि ढुङ्गा बोकेर तौल बढाउँछु भने जस्तै हो । त्यो अनावश्यक बोझबाहेक केही हुँदैन ।

ओलीले गल्ती स्वीकारे आत्मलोचना गर्न तयार

त्यसो त पछिल्लो समय एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएसँगै नेकपा एस र एमालेबीच एकता हुनसक्ने चर्चा भइरहेको छ ।

तर, नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडा कुनै पनि पार्टीसँग एकीकरण गर्ने विषयमा निर्णय नभएको बताउँछन् ।

एमालेसँग एकता हुने चर्चा चलेपछि उनले भनेका छन्, ‘बजार हल्लाको भ्रममा नपरौं । हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी कुनै पार्टीसँग एकीकरण गर्ने गरी अगाडि बढेको छैन । यतिवेला पार्टी सुदृढीकरणको योजना बनाउँदैछौं ।’

उता नेकपा एसकै नेता गंगालाल तुलाधर एमालेबाट मिलेर अघि बढ्ने प्रस्ताव आएको स्वीकार गर्छन् । तर, एमाले नेतृत्वले गल्ती स्वीकार नगरेसम्म मिल्ने सम्भावना नभएको उनको भनाइ छ ।

‘उहाँहरुले विभिन्न माध्यमबाट प्रस्ताव ल्याइराख्नुभएको छ । त्यो सकारात्मक नै हो । तर, पहिलाको गल्ती स्वीकार गरेर आत्मालोचना नगरेसम्म सहकार्य हुने देखिँदैन । त्यही विषयमा पनि हामी तल्लो तहबाट सुझाव मागिरहेका छौं’, नेता तुलाधरले भने ।

पार्टी एकता गर्नुअघि ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेकोमा गल्ती स्वीकानुपर्ने उल्लेख गर्दै उनले आफ्नो तर्फबाट आत्मालोचना गर्न तयार रहेकोसमेत बताए । तर, यस्ता सर्तबाट एमाले पंक्ति झनै उत्तेजित र आक्रोशित बनेको छ ।


प्रतिक्रिया

3 thoughts on “एमाले ‘ग्रासरुट’ को रुझान- माधव नेपालसँग पार्टीगत एकता प्रयासलाई ‘रेड सिग्नल’

  1. “माकुने” जस्तो ‘राजनैतिक फोहोरको डङुर’ लाई राष्ट्रको प्रमुख बनाएर देशको कुन उचाइ देखाउन र नाप्न खोजेको हो !? कम्युनिस्ट आन्दोलन मात्र हैन देश र जनमतको घोर अपमान !!

  2. गद्दारहरुले आफ्नै पार्टी बिरुद्द हिजो गरेका हर्कतलाई जनताले भुलेका छैनन् ! खबरदार ! बोझलाई उचाल्न जरुरी छैन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर