दुई सांसदसहित ११औं ठूलो दल बन्यो आम जनता पार्टी – Nepal Press

दुई सांसदसहित ११औं ठूलो दल बन्यो आम जनता पार्टी

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी प्रतिनिधिसभाको ११औं ठूलो दल बनेको छ । बिहीबार घोषणा गरिएको साहको पार्टी दुई सांसदसहित प्रतिनिधिसभाको ११औं ठूलो दल बनेको हो ।

स्वतन्त्र जितेका किरण साहलाई साथ लिएर साहले नयाँ पार्टी घोषणा गरेसँगै प्रतिनिधिसभामा दलको संख्या १३ पुगेको छ ।

प्रतिनिधिसभामा कांग्रेसको ८९, एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, नेकपा एकीकृत समाजवादीको १० र जनमत पार्टीको ६ सीट छ । त्यस्तै लोसपाको ४, नागरिक उन्मुक्तिको ४, राष्ट्रिय जनमोर्चा र नेमकिपाको १–१ सीट छ ।

साहले घोषणा गरेको पार्टी सांसद संख्यामा राष्ट्रिय जनमोर्चा र नेमकिपाभन्दा ठूलो भएको छ । नवगठित पार्टीका अध्यक्ष साह रौतहट ३ बाट स्वतन्त्र उठेर जितेका थिए । उनलाई कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले सघाएको थियो ।

गठबन्धनको तर्फबाट माओवादीले आफ्नो उम्मेदवार फिर्ता गराएर साहलाई समर्थन गरेको थियो । उनका सहयोगी सांसद किरण रौतहट २ बाट स्वतन्त्र निर्वाचित भएका थिए ।

साहले माओवादीबाट एमाले हुँदै अहिले आफ्नै नेतृत्वमा पार्टी खडा गरेका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा उनले १५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको जानकारी दिएका छन् ।

नेकपा खारेजपछि एमालेमै बसेका साह एमाले स्थायी कमिटी सदस्य भएका थिए । मंसिर ४ गते भएको निर्वाचनको अन्तिम समयमा एमालेलाई धोका दिएर साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए । साहको कारण रौतहट क्षेत्र नं २ र ३ मा एमाले उम्मेदवारविहीन भएको थियो । प्रदेशसभामा पनि उनले आफ्नै गुटका नेतालाई स्वतन्त्र उठाएका थिए ।

माओवादीको समर्थनमा चुनाव लडेर स्वतन्त्र जितका साह फेरि माओवादीमै फर्किने चर्चा थियो । अन्ततः उनले यसलाई झूटा सावित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर