वामदेवलाई भेटेर सूर्य थापाले भने- तपाईंको इच्छा पूरा भयो, अब वक्तव्य दिएर एमालेमा फर्किनुस् – Nepal Press

वामदेवलाई भेटेर सूर्य थापाले भने- तपाईंको इच्छा पूरा भयो, अब वक्तव्य दिएर एमालेमा फर्किनुस्

काठमाडौं । अघिल्लो निर्वाचनमा बर्दियाबाट आफूलाई हराउन सूर्य थापाले भूमिका खेलेको आरोप लगाएका वामदेव गौतमले आफ्नो गृह जिल्लाबाट चुनाव जितेका एमाले नेता थापालाई बधाई दिएका छन् ।

गौतमलाई थापाले नै २०७० मा प्युठान लगेर चुनाव जिताएका थिए । २०७४ मा बर्दिया झरेका गौतम पराजित भएका थिए । काठमाडौं ५ मा ईश्वर पोखरेलको चुनावी कमाण्डर बनेका थापामाथि गौतमले आफूलाई हराएको आरोप लगाएर कारबाहीको मागसमेत गरेका थिए ।

प्युठानबाट निर्वाचित पूर्वसांसदहरुलाई भेट्ने क्रममा आफूले गौतमलाई भेट गरेको थापाले बताए । एमाले पोलिटव्युरो सदस्य थापाले गौतमलाई वक्तव्य दिएर एमालेमा फर्किन सुझावसमेत दिएका छन् । उनले गौतमको इच्छा पूरा भएकाले अब एमालेमा फर्किन भनेका हुन् ।

थापाले भने, ‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने तपाईंको इच्छा पूरा भइहाल्यो । अब वक्तव्य दिएर पार्टीमा फर्किनुस् । प्रचण्डलाई प्रधानमन्त्री बनाउनकै लागि तत्कालीन नेकपामा त्यत्रो गर्नुभयो, अब तपाईंको इच्छा पूरा भयो त ?’

गौतमले भने एमालेले ७० वर्षे उमेर हद विधानमा लगाएकाले आफू एमालेमा फर्किएर पनि केही भूमिका नपाउने भन्दै विधानको सो व्यवस्था हटाइनुपर्ने बताएका छन् ।

भेटमा गौतमले आफू झण्डै गठबन्धनबाट प्यूठानमा चुनाव लड्न लागेको बताएका थिए । गौतम प्युठानबाट चुनाव लड्ने गरी गठबन्धनमा माओवादीको चुनाव चिन्ह लिएर गएका थिए ।

तर, मसालले सो क्षेत्र नछाडेपछि उनले चुनाव लड्न पाएनन् । पाँच दलीय गठबन्धन एमालेभन्दा २० हजार बढी मतले अघि रहेको क्षेत्रमा थापाले साढे ५ हजार बढी मतान्तरले गठबन्धन उम्मेदवारलाई पराजित गरेका थिए ।


प्रतिक्रिया

One thought on “वामदेवलाई भेटेर सूर्य थापाले भने- तपाईंको इच्छा पूरा भयो, अब वक्तव्य दिएर एमालेमा फर्किनुस्

  1. सूर्यजी महेशजीहरू यी कुडाकवाड बटुल्दै हिडेको किन ? यिनको धोका र बेईमानी अझै खान पुगेको छैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर