दुबईमा तीनदिने नेपाली सिनेमा महोत्सव हुने, बोर्ड र सूर्य कर्पोरेसनबीच सम्झौता – Nepal Press

दुबईमा तीनदिने नेपाली सिनेमा महोत्सव हुने, बोर्ड र सूर्य कर्पोरेसनबीच सम्झौता

काठमाडौं । चलचित्र विकास बोर्डले ‘टेकिङ नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित आयोजना गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’ को लागि बोर्ड र सूर्य कर्पोरेसनबीच सम्झौता भएको छ । कार्यक्रमको व्यवस्थापन कर्पोरेशनलाई दिने गरी बोर्ड अध्यक्ष भुवन केसी र कर्पोरेशनका सीईओ वासुदेव लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

संयुक्त अरब इमिरेट्सको दुबईमा सन् २०२३ फेब्रुअरी १३ देखि १५ (फागुन १-३ गते) सम्म यो कार्यक्रम हुँदैछ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव र चलचित्र विकास बोर्डका अध्यक्षबीचको कार्ययोजनाअनुसार बोर्डको वार्षिक कार्यक्रमअन्तर्गत निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा यो कार्यक्रम हुन लागेको हो । यो चलचित्र विकास बोर्डको पहिलो अन्तराष्ट्रियस्तरको कार्यक्रम हो ।

तीनदिने कार्यक्रममा अरबी भाषामा सबटाइटाल गरी नेपाली चलचित्रको प्रदर्शनी, नेपालबाट जाने तथा युएईमै रहने कलाकारहरुको विभिन्न प्रस्तुति, यूएईमा नेपाली चलचित्रको बजार विस्तार तथा छायांकन सुविधा पहलको लागि त्यहाँको सरकारका प्रतिनिधिहरु, त्यहाँस्थित नेपाली दूतावास, व्यापारी, विशिष्ट व्यक्तिहरु तथा कलाकर्मीहरूबीच अन्तरक्रिया हुनेछ ।

कार्यक्रममा ‘फिल्मिङ डेस्टिनेसन अफ नेपाल’ परियोजनाअन्तर्गत गण्डकी प्रदेशको डकुमेन्ट्री अरबी भाषामा सबटाइटल गरी प्रदर्शन हुनेछ ।

हस्ताक्षर कार्यक्रममा बोर्ड अध्यक्ष केसीले अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको बजार विस्तार पहलस्वरुप हुने यो कार्यक्रम नेपाली राष्ट्रिय चलचित्र उद्योगको लागि अत्यन्त महत्वपूर्ण रहेको बताए ।

उनले बोर्डसँग यूएईपछि अन्य अन्तर्राष्ट्रिय बजारमा पनि विभिन्न कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर