चुनावताका मारिएका चेतनका हत्यारालाई चाँडै कारबाही गर्ने गृहमन्त्री लामिछानेको आश्वासन – Nepal Press

चुनावताका मारिएका चेतनका हत्यारालाई चाँडै कारबाही गर्ने गृहमन्त्री लामिछानेको आश्वासन

कैलाली । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चुनावका बेला हत्या गरिएका चेतन ऐडीकाे घटनामा संलग्नलाई चाँडै कारबाही गर्ने आश्वासन दिएका छन् ।

वुधबार गृह मन्त्रालयमा घटनाका दोषीलाई कारबाहीको माग गर्दै एमाले सम्वद्ध विद्यार्थी सङ्गठनका नेताहरूले गृहमन्त्री लामिछानेसँग भेट गरेका थिए । भेटका क्रममा विद्यार्थीहरुको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री लामिछानेले सरकारले उक्त घटनालाई गम्भीर रूपमा लिने बताए । घटनामा संलग्न सबैलाई पक्राउ गर्न र कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिनेसमेत गृहमन्त्री लामिछानेले विद्यार्थी नेताहरूलाई आश्वासन दिए ।

भेटमा उनीहरुले हत्यामा संलग्नहरूलाई कारबाही गर्न किन ढिलाइ भइरहेको छ भन्ने जिज्ञासा राखेका थिए । बाजुरामा हत्या गरिएका विद्यार्थी नेता ऐडिको हत्यामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आइरहेका विद्यार्थी नेताहरूले अहिले सम्म भइरहेको ढिलाइबारे गृहमन्त्रीसँग असन्तुष्टि व्यक्त गरे ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुनिता बरालको नेतृत्वमा गएको विद्यार्थी नेताहरूको टोलीले बाजुरामा बुथ कब्जा गर्न नदिएको भन्दै हत्या गरिएका ऐडिलाई न्याय दिन आग्रह गरेका थिए । यसअघि यही टोलीले सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले समेत भेटेर घटनाको जानकारी गराउँदै दोषीमाथि कारबाहीको माग गरेको थियो ।


आज गृहमन्त्री भेट्न पुगेको टोलीले निर्वाचन सम्पन्न गरेर घरमै रहेको अवस्थामा घरबाट निकालेर कुटपिट गरी बीभत्स हत्या गर्ने सबैमाथि कारबाही हुनुपर्नेमा जोड दियो । विभत्स हत्या गर्ने २४ जनाविरुद्ध अहिले मुद्दा रहेको छ । तर, प्रहरीले सबैलाई पक्राउ गर्न आलटाल गरेको आरोप छ । केही पक्राउ परेका छन् । तर, उनीहरूलाई पनि उन्मुक्ति दिने चलखेल भइरहेको बिद्यार्थीहरुले गृहमन्त्रीलाई बताएका थिए ।

केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुनिता बरालसहित वरिष्ठ उपाध्यक्ष आरपी लामिछाने, मोती विक उमेश आचार्य, महासचिव समिक बडाल, उपमहासचिव नरेश रोकाया, स्थायी कमिटी सदस्य तथा प्रदेश अध्यक्ष मनोज राई, केन्द्रीय सचिवालय सदस्य इन्द्र पौडेल, सागर भट्टलगायतले लामिछानेलाई भेटेर दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

मंसिर ४ गते बाजुरामा हत्या गरिएका ऐडी अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्व विद्यालय अध्यक्ष थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर