नेपाल टी-२० : जोरा र वालटनको शतकीय साझेदारीमा जनकपुरले फारवेस्टलाई ८ विकेटले हरायो – Nepal Press

नेपाल टी-२० : जोरा र वालटनको शतकीय साझेदारीमा जनकपुरले फारवेस्टलाई ८ विकेटले हरायो

काठमाडौं । चाडविक वालटन र सन्दीप जोरको शतकीय साझेदारिमा फारवेस्टर्न युनाइटेडलाई ८ विकेटले पराजित गर्दै जनकपुर रोयल्सले जारी नेपाल टी-२० लिगमा तेस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फारवेस्टले दिएको १७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा दुई विकेट गुमाउँदै पुरा गर्यो ।

जनकपुरलाई जित दिलाउन जोरा र वालटन्ले शतकीय साझेदारी गरे । ओपनर पवन सर्राफ १२ रन र कप्तान ट्रेभोन ग्रिफ्त ६ रनमा आउट भएपछि क्रिजमा आएका जोराले जनकपुरका लागि सर्वाधिक ७७ रनको इनिङ खेले । उनले ५४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । उन्ले वालटनसँग १५१ रनको साझेदारी गरे ।

वालटनले ४० बलमा २ चौका र ५ छक्कासहित अविजित ६९ रन जोडे । फारवेस्टका करण केसीले २ विकेट लिए ।

यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको फारवेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रनको योगफल तयार गरेको थियो ।

फारवेस्टका करण केसीले आक्रामक इनिङ खेले । उनी १६ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४४ रनमा अविजित रहे ।

भिम सार्की ३० बलमा १ चौका र २ छक्कासहित ३६ रनमा अविजित रहे । ओपनर देव खनाल २२ रन र हसिम अन्सरि ११ रनमा आउट हुँदा कप्तान हर्समतुल्लाह शाहिदी १० रन र विनोद भण्डारीले १२ रन बनाएर पभेलियन फर्किएका थिए । हरिशंकर शहले १३ रन योगदान गरे ।

जनकपुरको बलिङमा ललित राजवंशीले सर्वाधिक २ विकेछ लिए । उनले ४ ओभरमा २५ रन खर्चिए । सोमपाल कामी र जितेन्द्र मुखियाले समान एक विकेट लिए ।

पहिलो खेलमा लुम्बिनी अलस्टार्ससँग ६७ रनले पराजित भएको फारवेस्टले दोस्रो खेलमा काठमाडौं नाइट्सलाई ४ विकेटले हराएको थियो । तेस्रो खेलमा लुम्बिनीसँगै सुपर ओभरमा पराजित भएको थियो ।

यस्तै, पहिलो खेलमा पोखरालाई ५ विकेटले पराजित गरेको जनकपुरले दोस्रो खेलमा विराटनगरलाई ५ विकेटले हराएको थियो । तेस्रो खेलमा जनकपुर काठमाडौंसँग ५३ रनले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *