१८ महिनामा १२ खर्ब गुमाएका लगानीकर्ताले दुई दिनमै डेढ खर्बभन्दा बढी कमाए – Nepal Press
सेयर बजार

१८ महिनामा १२ खर्ब गुमाएका लगानीकर्ताले दुई दिनमै डेढ खर्बभन्दा बढी कमाए

काठमाडौ । शेरबहादुर देउवाले प्रधानमन्त्री पद सम्हालेको दिन २०७८ असार २९ गते नेप्से इन्डेक्स २८७१.०४२ विन्दुमा अडिएको थियो । यही दिन अर्थमन्त्रीको जिम्मेवारीमा पुगे जनार्दन शर्मा । सो दिन बजार पुँजीकरण ३९ खर्ब ९३ अर्ब ७५ करोड रूपैयाँ पुगेको थियो ।

करिब १८ महिना सत्ताको बागडोर सम्हाले देउवाले । देउवा सरकार हुँदाको अन्तिम कारोबार दिन पुस ७ गते बिहीबार १८६७.२१ विन्दुमा रोकिएको थियो । यो दिन बजारको पुँजीकरण २७ खर्बभन्दा बढी थियो ।

यो आँकडा आधार मान्दा भने देउवा सरकारको पालामा बजार हजार विन्दुभन्दा बढीले तल झरेको छ । जानार्दन शर्माको कार्यकाल अवधिभर लगानीकर्ताको झण्डै १२ खर्ब गुमेको छ । बजारको गिरावटले देउवा सरकार त्यसमा पनि अर्थमन्त्री शर्मा सेयर बजारमैत्री नभएको देखाउँछ ।

पुस ७ पछि एकैपटक ११ गते सेयर कारोबार भयो । बीचमा शुक्रबार, शनिबार र आइतबार (क्रिसमस) परेकाले सेयर बजार बन्द रह्यो ।

सत्ता समीकरण फेरिएसँगै पुस १० मा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री नियुक्त भए । नयाँ बनेको सातदलीय ठबन्धनमा अर्थमन्त्रीमा एमालेका विष्णु पौडेलको कमब्याक भयो ।

सरकारको नेतृत्व फेरिँदै गर्दा सेयर बजारमा उछाल आयो । पुस ११ मा बजार पुँजीकरण २७ खर्ब ८२ अर्ब पुग्यो । बजार बढेर १९२४.०९ विन्दुमा पुग्यो । एकैदिनमा बजार ५६.८८ अंकले बढयो । लगानीकर्ताको सम्पत्ति पनि एकैदिनमा ८२ अर्बले बढ्यो । सरकार गठनसँगै आजसमेत गरी ४ कारोबार दिन चलिरहेको छ ।

नयाँ प्रधानमन्त्री र अर्थमन्त्री नियुक्तीको चर्चा सुरू भएसँगै बढ्न थालेको सेयर बजारबाट लगानीकर्ताले दुई दिनमै साढे १ खर्ब रूपैयाँभन्दा बढी कमाएका छन् ।

बजार पुँजीकरण दुई दिनमै २८ खर्ब ६८ अर्ब रुपैयाँ नाघेको छ गत साताको अन्तिम कारोबारपछि पुँजीकरण २७ खर्ब रुपैयाँमा सीमित थियो । सोमबार र मंगलबार सेयर बजारको तीव्र वृद्धिपछि बुधबार सेयर बजारमा सामान्य करेक्सन आएको छ । यद्यपि परिसूचकले १०० अंकभन्दा बढीले उकालो लागि सकेको छ ।

पौडेल अर्थमन्त्री बनेपछि लगानीकर्तामा आत्मविश्वास बढेको देखिन्छ । अर्थमन्त्रीलाई भेट्न पुगेका व्यवसायी चन्द्र ढकालले पनि अर्थमन्त्रीमा पौडेल आएपछि लगानीकर्ताको आत्मविश्वास बढेको बताए ।

२०७२ सालमा पनि सेयर बजारले उच्च विन्दु चुम्दा त्यतिबेला विष्णु पौडेलले नै अर्थमन्त्रालयको नेतृत्व सम्हालेका थिए । सेयर बजारप्रति सकारात्मक मानिएका विष्णु पौडेलकै पालामा बजारले पनि नयाँ रेकर्ड बनाइरह्यो । त्यतिबेलै बजारले १८८१ को उच्च विन्दु चुम्न सकेको हो । २०७४ पछि केपी वलीको नेतृत्वमा बनेको सरकारकै पालामा अर्थमन्त्री युवराज खतिवडा फेरिएर विष्णु पौडेल आएपछि उनकै पालामा सेयर बजार सर्वाधिक उच्च विन्दुमा पुगेको थियो । ३२०० विन्दुमा पुगेको बजार कांग्रेस माओवादीको सरकारपछि निरन्तर ओरालो लागिरहेको थियो ।

नयाँ सरकार गठनको पहिलो साताको अन्तिम कारोबार दिन बिहीबार भने सेयर बजार तलमाथि भइरहेको छ । करेक्सनतर्फ गइरहेको छ । यो समाचार तयार पार्दा सम्म (१२.४३ बजे) बजार केही बढेको छ ।

के भन्छन विज्ञ ?

विश्लेषक मुक्ति अर्याल अहिले बजारले नयाँ अर्थमन्त्रीको रूपमा पौडेललाई रुचाएको देखिएको बताउँछन् । यद्यपि अहिलेको बजार टिकाउँ हो वा होइन भन्ने चाहि बजार २ हजार विन्दु माथि उक्लिएपछि मात्र भन्न सकिने उनले बताए । अहिले मार्केटले एक्सन खोजेको अर्यालको भनाइ छ ।

अर्याल भन्छन, ‘अहिलेको बजार वृद्धि सन्तोषजनक भएपनि अझै एकिनका साथ बजार कता जान्छ भन्ने विश्लेषण हतारो हुन्छ ।’

अर्का विज्ञ डा. केशव श्रेष्ठ सरकारको पहिलो निर्णय नै अर्थतन्त्र र पुँजी बजारको प्राथमिकता भएकाले बजार केही सम्हालिएर माथि जाने बताउँछन् । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुल्नेवित्तिकै बजारलाई सर्पोट पुग्ने उनको धारणा छ ।

स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष ई. रोहन कार्की पछिल्लो ४ दिनको कारोबारले सकारात्मक संकेत देखिएको बताउँछन् ।

उनले नेपाल प्रेससँग भने, ‘बीचमा लगातारजसो बजार ओरालो लाग्दा लगानीकर्ताको गुमेको रकम केही रिकभर देखिएको छ । माघ १ देखि ब्याजदर घट्ने आशा एवं अर्थमन्त्रीले सुधारका लागि गरेको कमिटमेन्टले पनि यसमा टेवा पुगेको छ ।’

पछिल्ला कारोबारले अर्थतन्त्रका विभिन्न सूचकमा सुधारको आशावादी पनि देखिएको उनी बताउँछन् ।

 ‘यसअघि दुई बुल अर्थमन्त्री पौडेलकै पालामा भएकाले उहाँ सेयरबजारमैत्री भएको लगानीकर्तामा छाप छ । पहिलो क्याबिनेटको पहिलो निर्णय पुँजी बजारलाई सम्बोधन गरेकाले हामी उत्साही छौं ‘, कार्की भन्छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर