प्रदेश १ मुख्यमन्त्रीमा हिक्मत पक्का, मन्त्रीमा यी हुन् सम्भावित अनुहार – Nepal Press

प्रदेश १ मुख्यमन्त्रीमा हिक्मत पक्का, मन्त्रीमा यी हुन् सम्भावित अनुहार

विराटनगर । सत्ता समीकरण बदलिएसँगै प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्य मन्त्री बन्ने निश्चित देखिएका छन् । पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका कार्की प्रदेश १ मा एमालेका ४० सांसदमध्ये सिनियर नेता हुन् । ठूलो दलको हैसियतले यहाँ एमालेले नै नेतृत्व गर्ने पक्कापक्की छ ।

तर, यहाँ माओवादीले पनि मुख्यमन्त्री दाबी गरिरहेको छ । माओवादी संसदीय दलको नेतामा इन्द्र आङ्बो छन् । नेकपाकाल र पाँचदलीय गठबन्धनमा अर्थमन्त्री बनिसकेका आङ्बो मुख्यमन्त्री नपाए मन्त्रीमा भने नजाने निकट एक नेताले बताए ।

प्रदेश १ मा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० सीट छ । ९३ सदस्यीय प्रदेशसभा बहुमत पुर्‍याउन प्रदेश १ मा ४७ सांसद चाहिन्छ ।

नयाँ मन्त्रिमण्डल ११ जनाभन्दा कमको हुनेछ । हाल यस प्रदेशको क्याबिनेट १३ सदस्यीय छ । एमाले र माओवादीले सरकार गठनबारे गठबन्धनका लागि वार्ता गर्न आ-आफ्नो दलमा कमिटी बनाएका छन् ।

अहिलेसम्म कुन दलले कति र कुन-कुन मन्त्रालय पाउने छलफलकै चरणमा रहेको एमाले स्रोतले जनाएको छ ।

एक नेताले भने, ‘अहिलेको मन्त्रिमण्डल ठूलो भयो भन्ने साझा बुझाई छ । हामी त्योभन्दा सानो बनाउँछौं ।’

यी हुन् मन्त्रीका दाबेदार

एमालेको नेतृत्वमा सरकार बन्दा स्थायी समिति सदस्य एवं संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्नेछन् । त्यस्तै ताप्लेजुङका तीलकुमार मेन्याङ्बोलाई सभामुख वा मन्त्रीको रूपमा हेरिएको छ । समानुपातिकतर्फबाट सांसद बनेका भोजपुरकी सिर्जना राई र उदयपुरकी सिर्जना दनुवारको पनि चर्चा छ ।

सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका खड्ग बस्नेत, लीलाबल्लभ अधिकारी, इलामका राम राना, खोटाङका पीके राई, सुनसरीका रेवती भण्डारी, दोस्रोपटक निर्वाचित धनकुटाका निरन राई र इन्द्रमणि पराजुलीको चर्चा छ । संखुवासभाबाट पहिलो पटक निर्वाचित विदुर लिङ्थेप पनि नयाँ अनुहारमा सम्भावित सूचिका नेता हुन् ।

माओवादीबाट मोरङका गणेश उप्रेती (शुशिल), तेह्रथुमका दुर्गा चापागाईँ, संखुवासभाका राजेन्द्र कार्की, मोरङकी गीता तिम्सिनाको नाम चर्चामा छ । मोरङकै जीवन आचार्य पनि बलिया दाबेदार छन् । आचार्य माओवादी अध्यक्ष प्रचण्डका ज्वाइँ हुन् ।

यस्तै आदिवासी जनजातिबाट समेट्दा उदयपुरका नारायण बुर्जा मगर वा सोलुखुम्बुका गम्बु शेर्पामध्ये एक हुनेछन् ।

राप्रपाले भने सरकारमा जाने-नजाने भन्ने टुंगो लगाएको छैन । सरकारमा सहभागी भएको खण्डमा राप्रपाबाट भक्तिप्रसाद सिटौला मन्त्री बन्नेछन् । भागबण्डाका आधारमा जसपाकी एक्ली संसद निर्मला लिम्बू पनि मन्त्री बन्ने छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर