मन्त्रीको चर्चामा रहेकी सोविता भन्छिन्- पाएको जिम्मेवारी निभाउन तयार छु – Nepal Press

मन्त्रीको चर्चामा रहेकी सोविता भन्छिन्- पाएको जिम्मेवारी निभाउन तयार छु

काठमाडौंबासीको मन जितेकी सोविता कानूनमन्त्री बन्लिन् कि उपसभामुख ?

काठमाडौं । राजनीतिमा लागेको केही महिनाभित्रै उच्च तहको पदकाे दावेदार बन्नसक्ने भाग्यमानी कमै हुन्छन् । त्यो पनि ३० वर्षभन्दा कम उमेरमा ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी कान्छी सांसद सोविता गौतम प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा जान सक्ने सम्भावित नेतृ हुन् । यदि कानून मन्त्रालय रास्वपाको भागमा परेको खण्डमा सोविताले अवसर पाउने निश्चित जस्तै छ । यदि त्यो नभए उपसभामुखको जिम्मेवारी पनि उनलाई प्राप्त हुन सक्छ ।

सत्ता गठबन्धनबीच अहिलेसम्म कुन दलले कति र कुन-कुन मन्त्रालय पाउने भनेर भागबन्डा भइसकेको छैन । रास्वपाले उपसभामुखसहित ५ मन्त्रालयमा दाबी गरेको छ । पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री नियुक्त भइसकेका छन् । अब थप मन्त्रीहरु पठाउँदा विज्ञतालाई प्राथमिकतामा राख्ने पार्टीको नीति छ ।

सोविता कानूनकी विद्यार्थी र अधिवक्ता भएको नाताले पार्टीले कानून मन्त्रालय पाएमा उनको भागमा आउने निश्चित देखिएको हो । सोविता स्वयम् पनि यो मन्त्रालय हाँक्न सक्नेमा आत्मविश्वासी देखिएकी छन् ।

उनले नेपाल प्रेससँग भनिन्, ‘हामी राजनीतिमा उत्रिएपछि जुनसुकै जिम्मेवारीका निम्ति तयार रहनुपर्छ । अध्ययन र पेशागत हिसाबले पनि म कानूनी क्षेत्रमा भएको हुँदा कानून मन्त्रालयमा आफूलाई प्रुफ गर्न सक्छु जस्तो लाग्छ ।’

कानूनी ज्ञानको आवश्यकता पर्ने उपसभामुख पदमा पनि सोविताको चर्चा छ । उनी स्वयम् भने आफूले कुन जिम्मेवारी पाउने भन्ने कुरा पार्टीको निर्णयमा भर पर्ने बताउँछिन् ।

‘यो मैले रोज्ने भन्दा पार्टीले निर्णय गर्ने कुरा हो । पार्टीले मभन्दा अर्कोलाई उपयुक्त ठानेर पठाउन पनि सक्छ । म मन्त्री बन्नैपर्छ भनेर हिँडेको छैन’, उनले भनिन् ।

त्यसो त सोविताको विज्ञता कानूनमा मात्रै सीमित पनि छैन । उनी विगतमा एउटा सञ्चारकर्मी थिइन् । नेपाल टेलिभिजनमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्थिन् । त्यसैले सञ्चार र स्वास्थ्यको पनि उनलाई धेरथोर ज्ञान छ । परेको खण्डमा जुनसुकै मन्त्रालय हाँक्नसक्ने आत्मविश्वास पालेकी छिन् उनले ।

सोविता थप्छिन्, ‘हाम्रो पार्टीबाट निर्वाचित भएर आएका साथीहरु कुनै न कुनै फिल्डमा जम्नुभएकै छ । त्यसैले सबैको विज्ञतालाई हेरेर पार्टीले मन्त्रालयको विभाजन गर्नेछ ।’

राजनीतिमा लाग्नासाथ मन्त्री पदको नजिक पुग्नुमा सोविता आफूलाई कति भाग्यमानी ठान्छिन् ? उनले भनिन्, ‘राजनीतिमा आइसकेपछि अन्तिम गन्तव्य र उद्देश्य भनेको आफ्नो क्षमताबाट समाजलाई केही योगदान दिन सकिन्छ भन्ने नै हो । भोलि जिम्मेवारी आउला नआउला । तर, जे कुराको लागि पनि तत्पर त हुन पर्‍याे नि ! एक हिसाबले म पूर्ण रुपमा तयार छु ।’

उनी थप्छिन्, ‘हामी युवा पुस्ताले सधैं कम्प्लेनमात्रै गर्थ्याैं, यो भएन त्यो भएन भनेर । आफैं गइसकेपछि काम गरेर देखाउने ठाउँ होलान् । युवाले काम गरेपछि उत्कृष्टता दिन सकिन्छ कि भनेर त्यसका लागि आफूलाई तयार राखेकी छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर