दुई वर्षपछि ओली खुमलटारमा (भिडिओ) – Nepal Press

दुई वर्षपछि ओली खुमलटारमा (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि खुमलटार पुगेका छन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्न ओली खुमलटार पुगेका हुन् ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट बाहिर ल्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओलीको दौडधुप बढेको छ । एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका छन् ।

यसअघि संसद विघटन गर्नु अघिल्लो दिन २०७७ पुस ४ गते साँझ ओली खुमलटार पुगेका थिए । प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्डबीच दूरी बढेको थियो।

खुमलटारमा प्रचण्ड र ओलीबीच सत्ता सहकार्य, भागबण्डा र आगामी यात्राको बारेमा छलफल हुने बुझिएको छ । ओली र प्रचण्डबीचको खुमलटार भेटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि बोलाइने स्रोतले बताएको छ ।

ओली र माधव नेपाललाई भेट गराउन खुमलटारमा प्रचण्ड माध्यम बन्ने भएका छन् ।

एमालेबाट अलग भएको नेकपा एसले प्रत्यक्षमा १० सीट जितेको छ । प्रचण्डले माधव नेपाललाई सरकारमा र ओलीले पुनः पार्टीमै फर्काउने प्रयास गरिरहेका छन् । माधव नेपाल फर्किए प्रतिनिधिसभाको पहिलो दल एमाले बन्नेछ ।

उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले माधव नेपालसँग छलफल गरेर दुई नेताबीच वार्ताको पहल गरेका छन् । यसअघि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि नेपाललाई भेटेर एमालेमा फर्किन आग्रह गरेका थिए ।

सुवास नेम्वाङदेखि महेश बस्नेतसम्मका नेताहरू माधव नेपालसँग संवादमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर