अपहरण तथा ज्यान मुद्दामा मुछिएका कांग्रेस सांसद कुर्मीको शपथ रोक्न माग – Nepal Press
लुम्बिनी प्रदेश

अपहरण तथा ज्यान मुद्दामा मुछिएका कांग्रेस सांसद कुर्मीको शपथ रोक्न माग

रुपन्देही । बाँके क्षेत्र नं. ३ को १ का सांसद बादशाह कुर्मीको शपथ रोक्न महिला अधिकारकर्मीले माग गरेका छन् । उनी नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी भएका हुन् ।

बाँकेको नेपालगञ्ज–१७ की एकल महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तब्य ज्यान मुद्दामा मुछिएकाले उनको शपथ रोक्न महिला अधिकार मञ्च बाँकेले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई ज्ञापनपत्र बुझाएको हो ।

शपथ रोक्न माग गरिएको निवेदन निर्वाचन आयोग, न्याय परिषद सचिवालय,राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई बोधार्थ पठाइएको मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालले बताइन् ।

यसअघि मञ्चले कुर्मीको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो । गम्भीरखाले महिला हिंसा र अपराधमा संलग्न व्यक्ति चुनाव लड्न नमिल्नेमा सत्ताको आडमा कुर्मी चुनाव लडेर जितेपनि पीडितलाई न्याय दिन उनको सपथ रोकिनुपर्ने माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाएको अधिकारकर्मी रुबि खानले बताइन् ।

२०७८ कात्तिक २ गते भएको वार्तामा गृहमन्त्रालयले ७ सदस्यीय छानवीन समिति गठन गरेको थियो । उक्त समितिले कुर्मीलाई मुख्य दोषी ठहर गर्दै तत्कालीन गृहमन्त्री बालकृष्ण खांणलाई कात्तिक १४ गते प्रतिवेदन बुझाएको थियो ।

तर गृह मन्त्रालयले दोषीलाई कारवाही गर्न आलटाल गरेपछि महिला अधिकारकर्मीहरु पुनः आन्दोलित भएका थिए । उक्त घटनाको सीआईबीले अनुसन्धान गरिरहेको छ ।

उक्त घटनामा सांसद कुर्मीसहित ८ जनाविरुद्ध २०७७ चैत २० गते जाहेरी परेपछि जिल्ला अदालतले पक्राउ पुर्जीसमेत जारी गरेको थियो । महिलाको संवेदनशील मुद्दामा सम्बन्धित निकायको लापरवाही र मिलेमतोले मुद्दालाई न्यायालयसम्म नपुर्‍याउने चलखेल देखिएको भन्दै महिला अधिकार मञ्चले १९ दिन जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको थियो । त्यसपछि पनि सुनुवाइ नभएपछि असोज २०७८ देखि २० दिन पैदल हिँडेर काठमाडौं पुगेर धर्ना दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर