नेपालमा भारतीय अपहरणकारी गिरोह : अपहरितको उद्धार, फिरौतीसहित भारतीय पक्राउ – Nepal Press

नेपालमा भारतीय अपहरणकारी गिरोह : अपहरितको उद्धार, फिरौतीसहित भारतीय पक्राउ

जनकपुरधाम । नेपालमा आएर भारतीय अपहरणकारी गिरोहले अपहरण गरेका सिरहाका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । अपहरणमा संलग्न एक भारतीय फिरौती रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने बेतहा पर्साका मो. मुकतार शेख छन् । मंगलवार राति उनलाई भारतसँग सीमा जोडिएको महोत्तरीको मटिहानी क्षेत्रबाट प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साह नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

शेखको साथबाट फिरौती ९ लाख रुपैयाँ समेत प्रहरीले बरामद भएको जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरू फरार छन् ।

पक्राउ परेका शेखलाई महोत्तरी प्रहरीको जिम्मा लगाइएको छ । घटनामा संलग्न अन्यको पनि पहिचान भइरहेको र खोजी जारी राखेको प्रहरीको भनाई छ ।

शेखसहितका समूहले पुस ९ गते सिरहाको लहान घर भएका इसर सिद्धिकीको अपहरण गरेको थियो ।

प्रहरीका अनुसार पुस ९ मै काठमाडौंबाट विमानमा जनकपुर आएका इसर सिद्धकी महोत्तरीको सोहर्वा चोकबाट अपहरणमा परेका थिए ।

‘अपहरणकारीले सुरुमा ५० लाख रुपैयाँ फिरौती मागेको थियो’, अनुसन्धानमा खटेका एक प्रहरी अधिकारीले भने, ‘अपहरितका आफन्त र अपहरणकारीबीच बार्गेनिङ चल्यो । पछि अपहरणकारीले ९ लाखमा झरे । अपहरित इसरका परिवारले अपहरणकारीलाई बुझाएको फिरौती रकम पनि बरामद भएको छ ।’

अपहरणमा परेका इसर सिद्धिकी जनकपुर आएर घर नगई महोत्तरी कसरी र किन पुगेको विषयमा केहि खुल्न सकेका छैन ।

उनीहरु दुवै जना एउटै समुदायका व्यक्ति भएकाले रिसइबी वा पारिवारिक कारणले अपहरण भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *