नेपाल टी–२० : फारवेस्टले लुम्बिनीलाई दियो १३८ रनको लक्ष्य – Nepal Press

नेपाल टी–२० : फारवेस्टले लुम्बिनीलाई दियो १३८ रनको लक्ष्य

काठमाडौं । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता अन्तर्गत जारी खेलमा फार वेस्टर्न युनाइटेडले लुम्बिनी अलस्टार्सलाई १ सय ३८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको फारवेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रनको योगफल तयार गर्‍यो ।

फारवेस्टका ओपनर देव खनालले सर्वाधिक ४८ रन योगदान गरे । उनले आउट हुनु अघि ४२ बल खेल्दै ५ चौका प्रहार गरेका थिए ।

कप्तान हसमतुल्लाह शाहिदिले २९ बलमा ३ चौकासहित ३२ रनको योगदान गरे । हसिम अनसरी ११ रन र भीम सार्की १५ रन बनाएर पभेलियन फर्कँदा करण केसी १२ रनमा अविजित रहे ।

लुम्बिनीको बलिङमा सेड्ली भान स्कल्कवेकले ४ ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए । हर्मितसिंह, किसोर महत्तो र सागर ढकालले समान एक विकेट लिए ।

पहिलो खेलमा फारवेस्टलाई ६७ रनले पराजित गर्दै सानदार सुरुआत गरेको लुम्बिनीले दोस्रो खेलमा विराटनगर सुपर किङ्सलाई तीन रनले पराजित गरेको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गरेको लुम्बिनी आज पुनः फार वेस्टलाई हराउँदै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा रहेको छ ।

पहिलो खेलमा लुम्बिनीसँग ६७ रनले हार्दै निरासजनक सुरुआत गरेको फारवेस्टले दोस्रो खेलमा काठमाडौं नाइट्सलाई ४ विकेटले पराजित गरेको थियो ।

आज हुने दोस्रो खेलमा जितविहीन पोखरा र विराटनगर भिड्दै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर