लालमोहम्मदका सुटर लोलाङमा बसेको प्रहरी निष्कर्ष, बन्द फ्ल्याटमा भेटियो २ वटा पेस्तोल – Nepal Press
गोठाटार गोलीकाण्ड

लालमोहम्मदका सुटर लोलाङमा बसेको प्रहरी निष्कर्ष, बन्द फ्ल्याटमा भेटियो २ वटा पेस्तोल

काठमाडौं । काठमाडौंको लोलाङमा बन्द फ्ल्याटभित्र दुईवटा पेस्तोल बरामद भएको छ । फ्ल्याट भाडामा लिएर बसेका दुईजना लामो समय सम्पर्कमा नआएपछि घरबेटीले ढोका फोरेर हेर्दा पेस्तोल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी अनुसन्धानका क्रममा उक्त फ्ल्याटमा गोठाटारमा भएको लाल मोहम्मद गोलीकान्डका सुटर बस्ने गरेको पाइएको छ । ‘सुटरको लोकेसन लोलाङमा पनि देखिएको थियो तर कहाँ बस्थे भन्ने थाहा हुन सकेको थिएन । पेस्तोल भेटिएपछि अनुसन्धान गर्दा उनीहरु सोही फ्ल्याटमा बस्ने गरेको भेटिएको हो’, एक अनुसन्धान अधिकृतले भने ।

अनुसन्धानका क्रममा गत चैत/वैशाखमा दुईजनाले उक्त फ्ल्याट भाडामा लिएर बसेको पाइएको छ । होलसेल पसल गर्ने भन्दै उनीहरु त्यहाँ बसेका थिए । सोही घरको तल रहेको होटलमा उनीहरु खाना खान्थे । केही महिनापछि उनीहरु त्यहाँबाट निस्किएका थिए भने उनीहरुको स्थानमा दुईजना आएर बसेका थिए ।’ दुईजना फर्किएपछि ठाउँ खोज्न अप्ठेरो हुन्छ भनेर कोठा भाडापनि बैंकमै हालिदिएर अरु दुईजना त्यहाँ आएर बसेका रहेछन्’, ती अनुसन्धान अधिकृतले भने ।

गत असोजको पहिलो साता साँझ अज्ञात समूहले लाल मोहम्मदलाई गोली हानी हत्या गरेको थियो । यो घटनामा हालसम्म तीनजना पक्राउ परेका छन् भने ६ जनालाई फरार प्रतिवादि बनाइएको छ । पक्राउ पर्नेमा एकजना रेकी गर्ने र दुईजना पेस्तोल ल्याउने रहेको पाइएको छ ।

भारतमा बसेर योजना बनाउने बब्लु पासवान र काठमाडौंमा बसेर त्यसलाई कार्यान्वयन गर्ने नितिन मदनहित ६ जना फरार रहेका छन् । अनुसन्धानका क्रममा गोली हानेपछि एक जना सुटर आफू बस्दै आएको लोलाङस्थित फ्ल्याटमा पुगेका थिए । त्यहाँ बस्ने एक युवकलाई ३ सय रुपैयाँ दिन्छु मलाई मोटरसाइकलमा परसम्म छाड्यौ भन्दै निस्किएको पनि पाइएको छ ।

फ्ल्याटमा बरामद भएको पेस्तोल गोली प्रहारमा प्रयोग भएको थियो थिएन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको हुनुभन्दा केही दिनदेखि सुटरसहित केही घटनास्थल नजिकै रहेको एक होटलमा पनि बसेको प्रहरीको दाबी थियो ।

कर्तव्य ज्यान मुद्धामा जन्मकैद भएर पछि बाँकी कैद माफी मिनाहा भएर छुटेका मोहम्मदलाई किन मारियो भने प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । तर भारतीय जाली नोटको कारोबारमा यसअघि संलग्न रहेको दावी गर्दै यस घटनामा भारतीय गुप्तचर संस्थामाथी आशंका हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *