दिनानाथ भन्छन्- देउवाले समय घर्काएर आफैं प्रधानमन्त्री बन्न खोजेपछि बाध्यात्मक कदम चाल्यौँ – Nepal Press

दिनानाथ भन्छन्- देउवाले समय घर्काएर आफैं प्रधानमन्त्री बन्न खोजेपछि बाध्यात्मक कदम चाल्यौँ

'प्रचण्डलाई अबको दुई वर्षे कार्यकाल देखाउन अवसर हो'

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले चुनावअघि गरिने गठबन्धनलाई अनैतिक मान्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै विश्वका कतिपय देशहरुमा चुनावअघि पनि विभिन्न विचार र एजेण्डामा केन्द्रित भएर गठबन्धन गर्ने गरेको उल्लेख गरे ।

उनले बहुदलीय व्यवस्थामा कुनैपनि एक दलले सरकार गठनका लागि बहुमत ल्याउन नसक्ने बताए । कांग्रेस, एमाले र माओवादी लोकतान्त्रिक आन्दोलनका सहयात्री भएकाले निषेधको राजनीति गर्न नहुने बताए ।

०७४ सालमा एमाले र माओवादी मिलेर बहुमत ल्याएपछि कम्युनिष्टहरुले जोगाउन नसकेको स्मरण गरे । उनले हिजोको कुरालाई लिएर आग्रह र पूर्वाग्रहलाई विर्सेर भोलिको दिनको बारेमा सोच्न आग्रह गरे ।

उनले भने, ‘परिस्थितीले हामीलाई जहाँ उभ्याउँछ हामी त्यही उभिन तयार छौँ । अहिले हामी एमालेसँग मिलेर सरकार गठन गरेका छौँ । अब केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’

प्रचण्डलाई अबको दुई वर्ष बिग्रेको अवस्था र युग बदल्नको लागि महत्वपूर्ण अवसर पाएको बताए । उनले प्रचण्ड नेतृत्वको सरकारले जनताको अपेक्षा पुरा गर्ने जिकिर गरे ।

कांग्रेस सभापति शेरबहादुर देउवाले धोका दिएपछि एमालेसँग मिल्न बाध्य भएको बताए । उनले भने, ‘उहाँले सहमति अनुसारको पावर शेयरिङका लागि साथीहरुले दिएनन् मात्रै भन्नुभयो । हामीले दिउँसो १ बजेसम्म कुरेका हौँ । तर, उहाँहरुले समय घर्काएर प्रधानमन्त्री बन्ने र ३० दिनभित्र धेरै खेल खेलेर विश्वासको मत लिनखोज्ने अवस्था देखियो। त्यसैले हामीले बाध्यात्मक कदम चालेका हौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर