के भन्छन् जीटुजी प्रक्रियाबाट इजरायल आइपुगेका नेपाली कामदार ? – Nepal Press

के भन्छन् जीटुजी प्रक्रियाबाट इजरायल आइपुगेका नेपाली कामदार ?

इजरायल । लामो समयपछि नेपालले जीटुजी मार्फत नेपाली कामदार इजरायल पठाएको छ । पहिलो पटक सरकारी समन्वयमार्फत जीटुजी प्रक्रियाबाट नेपाली कामदारहरु इजरायल आइपुगेका हुन् ।

गएको माघमा इजरायल आइपुगेकी रामेछापकी देविन्द्र सुनुवारले थोरै लगानीमा राम्रो आम्दानी हुने भएकोले इजरायल रोजेको बताइन् । जीटुजी बाट इजरायल लैजाने समाचार सुनेपछि उनी केही वर्ष अघि मात्र दुबईबाट नेपाल फर्केकी थिइन् । जीटुजीमार्फत इजरायल आउँदा नेपाल सरकार र इजरायल सरकारबीच गरेको सम्झौताबमोजिम नै सेवा सुविधा पाएको उनी बताउछिन् ।

सिन्धुपाल्चोकका नविन लामाले अरु देशमा भन्दा इजरायलमा राम्रो आम्दानी हुने भएपछि आफट्लेठ इजरायल रोजेको बताए । जीटुजीबाट आउँदा लगानी कम हुने, कामको तनाव नहुने, पैसा फस्ने डर पनि नहुने उनी सुनाउँछन् ।

जीटुजीबाट इजरायल आएका नेपालीहरू इजरायलकोे नर्सिङ होममा कार्यरत छन् । नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता सँगै छनौटमा परेका एक हजार एक सय ७५ जना मध्य अहिलेसम्म एक हजार १९ जना नेपाली इजरायल आइपुगेको र करिब ८६ जना नेपाली कामदार इजरायल आउन बाँकी रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवम् इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए ।

छनौट भइसेको तर भिसा नआएकाहरुको लागि पनि छिटोभन्दा छिटो इजरायल पठाउनको लागि विभागले इजरायली दूतावास, पिवा, मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको पनि उनले बताए ।

छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको नाम सार्वजनिक भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।

कामदार छनोट र भर्ना प्रक्रिया बैदेशिक रोजगार विभाग र इजरायलको तर्फबाट पपुलेसन एण्ड इमिग्रेसन अथरीटी (पीआईबीए ) ले गरेको हो । इजरायल आउने नेपालीले मासिक करिब दुई लाख रूपैयाँ आम्दानी गर्छन् । छनौट प्रक्रिया लिखित, अन्तर्वार्ता र गोला प्रथाबाट गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *